• १२ साउन २०८१, शनिबार

एघार खर्ब ५९ अर्ब ८५ करोड रुपियाँ तरलता प्रशोचन

blog

काठमाडौँ, चैत २५ गते । चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा बैङ्क तथा वित्तीय संस्थाले ११ खर्ब ५९ अर्ब ८५ करोड रुपियाँ कारोबारमा आधारित तरलता प्रशोचन गरेका छन् ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत पाँच खर्ब ६१ अर्ब ४१ करोड गरी कुल पाँच खर्ब ६२ अर्ब ६१ करोड कारोबारमा आधारित तरलता उपयोग गरेका छन् ।

यस्तै निक्षेप सङ्कलन बोलकबोलमार्फत पाँच खर्ब ९३ अर्ब पाँच करोड र स्थायी निक्षेप सुविधामार्फत पाँच खर्ब ६६ अर्ब ८० करोड गरी कुल ११ खर्ब ५९ अर्ब ८५ करोड कारोबारमा आधारित तरलता प्रशोचन गरिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत खुद ३६ खर्ब ९२ अर्ब २८ करोड रुपियाँ तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्क) बाट अमेरिकी डलर तीन अर्ब ७४ करोड खुद खरिद गरी चार खर्ब ९६ अर्ब ६६ करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर तीन अर्ब ७० करोड खुद खरिद गरी चार खर्ब ८२ अर्ब ५३ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर दुई अर्ब ४६ करोड बिक्री गरी तीन खर्ब २७ अर्ब चार करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब आठ करोड बिक्री गरी चार खर्ब एक अर्ब ६२ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।