• १५ असार २०८१, शनिबार

बढ्यो आन्तरिक कर्जा

blog

काठमाडौँ, चैत २४ गते । चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल आन्तरिक कर्जा चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ४.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा यस्तो कर्जा ८.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ६.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा यस्तो दाबी २१.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.७ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन चार खर्ब ३५ अर्बमाथि

चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप चार खर्ब ३५ अर्ब ८७ करोड (७.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई खर्ब ८० अर्ब ५७ करोड (५.५ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.६ प्रतिशतले बढेको छ । फागुनमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.५ प्रतिशत, २८ प्रतिशत र ५८.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, २५.७ प्रतिशत र ५९.८ प्रतिशत रहेको थियो । फागुनमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.५ प्रतिशत रहेको छ । गत वर्षको फागुनमा यस्तो निक्षेपको अंश ३६.८ प्रतिशत रहेको थियो ।