• १९ वैशाख २०८१, बुधबार

घाँटी दुख्यो भनेर एन्टिबायोटिक खानु हुँदैन

blog

काठमाडौं, चैत २३ गते। घाँटी दुख्नासाथ धेरैले टन्सिल भएको अनुमान गर्छन्।  वीर अस्पतालका वरिष्ठ नाक, कान र घाँटीरोग विशेषज्ञ प्रा.डा. दीप्रेन्द्र श्रेष्ठले सबै घाँटी दुःखाइ टन्सिल नभएको बताउनुहुन्छ। 

उहाँ भन्नुहुन्छ, “धेरैले घाँटी दुख्नासाथ टन्सिल भएको हो भनेर नजिकको औषधि पसलमा गएर एन्टिबायोटिक खाने गर्दछन्। तर, सबै घाँटी दुःखाइ टन्सिल नहुने हुँदा जथाभावी औषधी किनेर खानुहुँदैन।” 

उहाँका अनुसार धेरै जस्तो घाँटी दुःखाइ भाइरल इन्फेक्सनको कारणले हुने गर्छ। डा.श्रेष्ठका अनुसार घाँटी दुखाई रोगको लक्षण हो जुन विभिन्न कारणले हुनेगर्छ। 

भाइरस सङ्क्रमण, एलर्जी, ग्याष्ट्रिक, तनाव, नाक, कान घाँटीको अरु समस्याले, रुघा लाग्दा पनि घाँटी दुख्ने डा. श्रेष्ठको भनाइ छ।  

टन्सिल भएमा अन्य समस्याले दुखेको भन्दा बढी दुःखाइ हुने डा.श्रेष्ठ बताउनुहुन्छ। उहाँका अनुसार टन्सिल सबै उमेर समूहका मानिसलाई भए पनि ५ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई टन्सिल हुने सम्भावना बढी हुन्छ। 

बच्चामा टन्सिल भएमा काम ज्वरो आउने, कान दुख्ने, खानेकुरा निल्न गाह्रो हुने जस्ता लक्षण देखिने डा.श्रेष्ठ बताउनुहुन्छ। डा.श्रेष्ठका अनुसार ब्याक्टेरिया र भाइरस इन्फेक्सनको कारणले टन्सि हुने डा.श्रेष्ठले जानकारी दिनुभयो। 

टन्सिललाई हेलचेक्राइँ गर्दा अन्य स्वास्थ्य समस्या निम्तन्छ। उहाँका अनुसार टन्सिलको समयमानै उपचार नभए वरिपरि पिप जम्ने, बाथरोग हुने, मुटुरोग हुने जस्ता स्वास्थ्य समस्या निम्तन्छन्। टन्सिल भएमा हेलचेक्राइँ नगरी उपचार गर्न उहाँको सुझाव छ।

यदि टन्सिल पटकपटक भएमा शल्यक्रिया गरेर निकाल्न सकिने उहाँको भनाइ छ। टन्सिलको विषयमा केन्द्रित भएर वीर अस्पतालका वरिष्ठ नाक, कान र घाँटी रोग विशेषज्ञ प्रा.डा. दीप्रेन्द्र श्रेष्ठसँग गोरखापत्र अनलाइनका लागि  मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्रीः  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।