• ७ जेठ २०८१, सोमबार

लगानी बोर्डद्वारा पाँच वटा परियोजनाका लागि एक खर्बको लगानी स्वीकृत

blog

लगानी बोर्डको ५७औँ बोर्ड बैठकमा बिहीबार बानेश्वरमा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, चैत २२ गते । लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत गरेको छ । बिहीबार बसेको लगानी बोर्डको ५७ औँ बैठकले विभिन्न पाँचवटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत रहेको हो ।

लगानी बोर्डका सह–सचिव प्रद्युम्नप्रसाद उपाध्यायले सुपरतमोर जलविद्युत आयोजना, अपर मोरङ ए जलविद्युत आयोजना, कोहलपुर बाडगंगामा रहेको सौर्य ऊर्जा परियोजना, हवासिङ नारायणी सिमेन्ट र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना गरी पाँच वटा परियोजनाका लागि करिब एक खर्ब बराबरको लगानी स्वीकृत भएको बताउनुभयो ।

उहाँले परियोजना कार्यान्वयनको चरणमा केही कामहरू गर्नुपर्ने देखिएकाले सौर्य ऊर्जा परियोजना आगामी लगानी सम्मेलनमा पिडिए सम्झौता गर्ने परामर्शका लागि वार्ता समिति गठन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले अपर मर्स्याङ्दी जलविद्युत परियोजनाको विस्तृत परियोजना जानकारीमा लिई त्यसलाई वार्ता समिति गठन गर्ने निर्णय पनि भएको जानकारी दिनुभयो ।

सह–सचिव उपाध्यायले परियोजना सहजीकरण गर्ने विषयमा अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा र क्षतिपूर्तिका विषयमा अध्ययन गर्ने बनेको समितिलाई एक महिनाको समयअवधि थप गरेको बताउनुभयो । उहाँले दाङ सिमेन्ट इण्डष्ट्रिज प्रालिको शेयर खरिद बिक्री गरी रकम फिर्ता लैजानका स्वीकृत दिएको जानकारी दिनुभयो ।

सह–सचिव उपाध्यायले सौर्य ऊर्जा परियोजना बडगंगा र कोहलपुरमा सर्वेक्षण अनुमतिपत्र दिने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार फर्टिलाइजर कम्पनी स्थापना गर्ने अध्ययन गरेको रि–निकोला कम्पनीले बैङ्क जमानत म्याद थप गर्ने निर्णय भएको छ । उहाँले अरुण तेस्रो जलविद्युत परियोजना डाइरेक एग्रिमेण्ट विषयमा तत्काल मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि भएको जानकारी दिनुभयो । उहाँले संस्थागत सुदृढीकरणका सन्दर्भमा सार्वजनिक निजी साझेदारी लगानी ऐन,२०७५ संशोधन मस्यौदा तयार गर्नका लागि गठित समितिले लिएको प्रतिवेदनलाई बुझेको बताउनुभयो ।

उहाँले काठमाडौँ उपत्यका एकीकृत फोहोरमैला व्यवस्थापनको लागि निजी साझेदारी मोडलमा तयार भएको प्रोजेक्टको प्याकेज १ लाई कसरी कार्यान्वयनमा लैजान लगानी बोर्डले नेतृत्व गरेर स्थानीय निकायहरू, सङ्घीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहरी विकास मन्त्रालयबिचमा समन्वय गरेर गोलमाल सम्मेलन गरी सहमति गरेर अगाडि बढ्ने निर्णय भएको बताउनु भयो ।

उहाँले तमोर जलाशययुक्त परियोजना विषयमा विवादित विषयलाई समाधान गर्न गठन गरिएको समितिको म्याद थप गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको खाका र परियोजना विकास तथा लगानीको ढाँचा अध्ययन गर्नका लागि समितिको म्याद थप गर्ने निर्णय गरेको उल्लेख गर्नुभयो ।