• १२ साउन २०८१, शनिबार

सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य : मन्त्री गिरी

blog

बेनीमा कार्यकर्तासँग भेटघाट गर्नुहुँदै मन्त्री पदम गिरी । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, चैत २१ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको प्रमुख लक्ष्य सुशासन र समृद्धि रहेको बताउनुभएको छ । 

सरकारले मुलुकलाई समृद्धि र सुशासनको बाटोमा लैजान गम्भीर भएर अगाडि बढेको उहाँले बताउनुभयो । म्याग्दीको बेनीमा बुधबार पार्टी कार्यकर्तासँग भेटघाट  गर्नुहुँदै मन्त्री गिरीले भन्नुभयो, ‘‘एक डेढ वर्षको अवधिमा जनतामा चरम निराशा छाएको थियो । जनताको चुलो निभ्ने अवस्था सिर्जना भयो । नयाँ सरकारले जनतामा रहेको निराशालाई चिरेर आशा जगाउनुपर्ने जिम्मेवारी आएको छ ।’’ 

अहिलेको सरकारले जनता र मुलुकको हितलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँको भनाइ छ । ‘‘सुशासनका मामिलामा सरकार खरो तवरले उत्रिएको छ । सरकारको प्रमुख उद्देश्य सुशासन कायम गर्ने र मुलुकलाई समृद्धिको बाटोमा लैजाने हो’’ मन्त्री गिरीले भन्नुभयो, ‘‘सुशासन बोलीमा होइन व्यवहारमा देखाउनुपर्ने छ । सुशासनका मामिलामा कहिँ पनि चुक्नु हुँदैन ।’’ 

सरकारले असल नीति र कानुनहरु समयमै दिन प्रयासरत रहेको उहाँको भनाइ छ । संघीय सरकारको दायित्व भनेको समयमै कानुन र नीतिहरु दिने भएकाले त्यहीअनुसार सरकार लागेको उहाँको भनाइ छ । 

अहिले पनि कतिपय महत्वपूर्ण ऐन, कानुन र नीतिको अभावमा संघीय, प्रदेश र स्थानीय सरकारले काम गर्न नपाइरहेको गुनासो आएको बताउँदै उहाँले सो समस्या समाधानका लागि छिटोभन्दा छिटो आवश्यक ऐन निर्माणका लागि सरकारले आवश्यक कामहरु अघि बढाएको मन्त्री गिरीले बताउनुभयो । 

भेटघाट कार्यक्रममा नेकपा (एमाले) म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले म्याग्दीको विकासका लागि मन्त्री गिरीसँग जिल्लावासीले अपेक्षा राखेको बताउनुभयो । बेनी नगरपालिका प्रमुख सुरत केसीले कानुनको अभावमा स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभयो ।