• १२ असोज २०८१, शनिबार

इलाम–२ उपनिर्वाचनको उम्मेदवार आजै टुङ्गिन्छ : प्रवक्ता महत

blog

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत

काठमाडौं, चैत २१ गते। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसको तर्फबाट उम्मेदवार बुधबार टुङ्गिने बताउनुभएको छ। 

बुधबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता महतले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले आजै उम्मेदवार तय गर्ने बताउनुभएको हो। 

उहाँले अब उम्मेदवार चयन गर्न ढिला गर्नु आवश्यक नभएको बताउनुभयो। त्यस्तै उहाँले नेपाली कांग्रेसजस्तो संसदीय मर्यादामा चल्ने अरू कुनै पार्टी नभएको बताउनुभयो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले ठुलाठुला कुरा गरेपनि उहाँहरूलाई कुनै मर्यादाको बारेमा थाहा नभएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘धेरै ढिलो गर्ने काम छैन। आज टुङ्गिन्छ। नेपाली कांग्रेसजस्तो संसदीय मर्यादामा चल्ने पार्टी कुनै पनि छैन। अहिलेसम्मको संसदीय इतिहासको रेकर्डलाई हेरे हुन्छ। उहाँहरूलाई न संसदीय व्यवस्थाको अनुभव छ। उहाँहरू ठुलाठुला कुरा गर्नुहुन्छ। उहाँलाई कुनै मर्यादाको बारेमा थाहा छैन। हामीले कुनैपनि विषयमा प्रश्न उठ्नेबित्तिकै राजीनामा दिएको इतिहास छ।’

प्रवक्ता महतले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता भएका कारण संसदीय छानबिन समिति बनाउन तयार नभएको बताउनुभयो।