• ११ मंसिर २०८१, मङ्गलबार

एसइईमा वञ्चित भएकालाई तत्काल परीक्षा दिने व्यवस्था मिलाइन्छ : शिक्षामन्त्री श्रेष्ठ

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसइई) बाट वञ्चित भएका कुनै पनि विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने व्यवस्था गर्ने बताउनुभएको छ। 

फि तिर्न नसकेर पनि कतिपय विद्यार्थीले सो परीक्षा दिन छुटेको चर्चा भइरहेका बेला उहाँले परीक्षा दिन नपाएका कुनै पनि विद्यार्थीलाई परीक्षामा तत्काल सहभागी गराउने भन्दै सूचना दिनसमेत आह्वान गर्नुभयो। 

बुधवार प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले कुनै पनि विद्यार्थीले कक्षा कोठामा ७५ प्रतिशत सहभागी नभए परीक्षा दिन नपाउने कानुनी व्यवस्था भए पनि सरकारले उनीहरूलाई पनि सो परीक्षामा तत्काल सहभागी गराउन सक्ने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘‘एसइई परीक्षामा कतिपय विद्यार्थी फि तिर्न नसकेर परीक्षा दिनबाट वञ्चित हुने समाचारको कुरा आएको थियो। यो गम्भीर छ। यसमा एक्च्युअल कानुन कस्तो छ भन्दा कुनै पनि विद्यार्थी ७५ प्रतिशत पनि कक्षामा उपस्थित भएन भने चाहिँ उहाँहरूले जाँच दिन पाउनुहुन्न। त्यो कानुन छ। तर  को विद्यार्थीले यो नपाएको हो ? त्यसको हामीलाई सूचना आयो भने यसमा तुरुन्तै हामी काम गरिहाल्छौँ। म यो निवेदन गर्न चाहन्छु। त्रिविको जति पनि सिस्टम छ। त्यसलाई डिजिटाइज गर्नका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको छ। त्यसमा काम भइसकेको छ।’’

मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको सबै कामलाई सरकारले अनलाइन प्रणालीमा लैजानका लागि टेण्डर आह्वान गरिएको र सो काम छिट्टै सम्पन्न हुने दाबीसमेत गर्नुभयो।