• १२ साउन २०८१, शनिबार

प्रसारण लाइन निर्माण प्रक्रिया प्रभावित

blog

काठमाडौँ, चैत २१ गते । तनहुँको मार्की चोकबाट चितवनको आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानलगायतका कारण निर्माण प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार वन क्षेत्रको प्रयोग तथा रुख कटानका लागि रहेको कानुनी प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण प्रसारण लाइन आयोजना समयमा निर्माण सम्पन्न हुने कुरामा आशङ्का गरिएको छ । 

आगामी वर्षायाम सुरु हुनु पहिले उपयोगमा ल्याइसकिनु अत्यावश्यक रहेको यो खण्ड निर्माणस्थलको अनुगमन कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले गरेको थियो । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी निर्माणको अवस्था, बेहोरिरहेका समस्या, निर्माण सम्पन्न हुन समय तालिकालगायतका विषयमा जानकारी लिएको थियो । 

कार्यकारी निर्देशक घिसिङले चितवनका प्रमुख जिल्ला अधिकारी र डिभिजन वन कार्यालयका प्रमुखलाई फोन सम्पर्क गरी वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरी दिन आग्रह गर्नुभएको छ । 

मार्कीचोक–नयाँ भरतपुर खण्ड आगामी असारभित्रमा निर्माण सम्पन्न गर्न नसकिएमा दुई/तीन सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो । 

“अहिले चालु रहेको मस्र्याङ्दी भरतपुर र दमौली–भरतपुर १३२ केभी प्रसारण लाइन सिङ्गल सर्किट मात्र छन्,” उहाँले भन्नुभयो, “काठमाडौँबाट हेटौँडातर्फ थप विद्युत् पठाउन पनि सकिँदैन, यसबाट भारतर्फको विद्युत् निर्यात पनि प्रभावित हुने छ ।”  त्रिशूली कोरिडोरबाट माथिल्लो त्रिशूली–३ ए, रसुवागढी, साञ्जेनलगायतका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ आउँछ । 

मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन निर्माण सम्पन्न भएमा मात्र उक्त विद्युत्लाई भरतपुरबाट हेटौँडातर्फ र बुटवलतर्फ प्रवाह गर्न सकिन्छ अन्यथा विद्युत् कतै प्रवाह गर्न नसकी ह्यागिङ हुने अवस्था आउने घिसिङले जानकारी दिनुभयो ।