• १२ साउन २०८१, शनिबार

दुई जिल्ला जोड्ने कालीगण्डकी बेलिब्रिज जीर्ण

blog

कालीगण्डकी नदीमा रहेको जिर्ण बनेको बेलिब्रिज । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, चैत २० गते । कालीगण्डकी ए जलविद्युत परियोजना निर्माणसँगै निर्माण भएको कालीगण्डकी बेलिब्रिज जीर्ण बनेको छ । २७ वर्ष पहिले निर्माण भएको मोटरेबल पुल निर्माण पश्चात् एक पटक पनि मर्मत सम्भार नहुँदा दुई जिल्ला जोडिने पुल जीर्ण बनेको हो । 

यहाँको बेलिब्रिज मोटरेबल पुल कालिगण्डकी–७ स्याङ्जा र गुल्मीको कालीगण्डकी–१ मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशलाई समेत जोड्ने पुल हो । पुलमा सुरक्षाका निर्माण गरेका बार ठाउँठाउँमा भत्किएका छन् भने पुल खिया लागेर जीर्ण अवस्थामा पुगेको छ । 

बेलिब्रिज पुल जोगाउन दुई पिलर निर्माण गरिएको छ भने दुवै पिलर नदिले खोलेर भत्किने अवस्थामा पुगेको छ । स्याङ्जाको काली गण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले १५० मिटर लम्बाइ रहेको यो पुलको परियोजना निर्माणको क्रममा पाँच करोडभन्दा बढी रुपियाँ निर्माण लागत भएको बताउनुभयो । 

स्याङ्जाको मिर्मी हुँदै गुल्मीको हर्मिचौर पुर्तिघाट जाने बेलिब्रिज पुल जीर्ण हुँदा सवारीसाधन चल्नै छाडेका छन् भने चल्ने सवारीसाधन पनि जोखिम मोलेर चल्ने गरेका छन् । 

पुल मर्मतको लागि सङ्घ प्रदेश र सडक डिभिजन कार्यालयका पटकपटक प्रयास गरेको बताउँदै थापाले पुरानो डिजाइन नहुँदा मर्मत हुन नसकेको बताउनुभयो । दुई जिल्ला जोड्ने र ओहोरदोहोरको माध्यम बेलिब्रिज मर्मत गर्न अब पालिका नै लाग्ने थापाको भनाइ थियो । गुल्मीको पालिकासँग पनि छलफल भएको बताउँदै थापाले मर्मतको समस्या अब चाँडै पुरा गर्ने बताउनुभयो । 

कालीगण्डकी कोरिडोर अन्तर्गत गुल्मी र बाग्लुङ सडक खण्डलाई जोडिने उक्त पुल मर्मत भए स्याङ्जा जिल्लालाई पनि कोरला नाकासँग जोड्न सहज हुनेछ । पुलको मर्मतले मुक्तिनाथ दर्शनको लागि आउने भारतीय पर्यटकलाई समेत बाटो बाटो हुनेछ ।