• ९ साउन २०८१, बुधबार

राजनीति सङ्ल्याउने अवसर

blog

वैचारिक तथा सैद्धान्तिक कार्यनीति र कार्यदिशा अनुसार चल्न नसक्ने दलहरू राजनीतिक निष्ठामा हैन स्वार्थमा केन्द्रित हुन्छन् । स्वार्थमा केन्द्रित राजनीति मुलुकका निम्ति घातक बन्छ, त्यसले इमानदार नेता, कार्यकर्ता तथा आमजनतामा राजनीतिप्रति नैराश्यता र वितृष्णा पैदा गर्छ । कुनै पनि पार्टीको प्रभाव सिद्धान्त तथा विचारधाराको क्षेत्रमा पार्टीले हासिल गरेका उपलब्धि र नेता तथा कार्यकर्ताले संस्थागत रूपमा निकालेको परिणाममा भर पर्छ । पार्टी संस्थागत रूपमा चल्न सकेन र संस्थागत रूपमा बोल्न सकेन भने पार्टीमा व्यक्तिवाद र अराजकता हाबी हुँदै विकृति र विसङ्गतिको चाङ थपिन्छ ।

राजनीतिमा बढेको विकृति र विसङ्गतिले राजनीतिक रूपमा मात्र नभएर समग्र राज्यको प्रणालीलाई दूषित बनाउँदै मुलुकको पहिचानमा नै नकारात्मक प्रभाव पार्ने गर्छ । राजनीति प्रदूषित हुँदा परिवर्तनले अनुकूल वातावरण नपाउने सम्भावना पनि त्यत्तिकै बढेर जान्छ । राजनीतिमा देखा परेको विकृति र विसङ्गतिले गुणस्तरीय समाजलाई हानि नोक्सानी पुर्‍याउँदै प्रदूषक शक्तिलाई संरक्षण गरिरहेको हुन्छ । राजनीतिक प्रदूषण एक विश्वव्यापी समस्याका रूपमा खडा भइरहेको छ । प्रदूषक र प्रदूषणका घटकहरू आफ्नो स्वार्थपूर्ति गर्न राजनीतिक वातावरण दूषित बनाउने काममा सक्रिय भूमिका निभाइरहेका हुन्छन् । 

शक्ति र सत्ताको असीमित चाहना र अपेक्षाले गर्दा राजनीतिक प्रदूषकहरूले स्वच्छ राजनीतिक वातावरणलाई धमिल्याउने काम गरिरहेका हुन्छन् । प्रदूषक तथा प्रदूषणका घटकहरू दृश्य र अदृश्य रूपमा निरन्तर राजनीतिमा  क्रियाशील हुन्छन् । राजनीतिमा अदृश्य रूपमा काम गर्ने प्रदूषक खतरनाक हुने गर्छन्, जसले राजनीतिक प्रणालीलाई नै ध्वस्त पार्ने, अराजकता सिर्जना गर्नेलगायातका परिकल्पना नै नगरिएका जोखिम बढाउने काम गर्छ । राजनीतिक प्रदूषणले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई मात्र प्रदूषित नबनाई सञ्चार जगत्लगायत आमजनसरोकारका क्षेत्रलाई पनि प्रभावित बनाउने काम गरिरहेको हुन्छ । हरेक व्यवस्था र शासकमा मात्रात्मक रूपमा घटीबढी भए पनि विकृति र विसङ्गति  क्रमिक रूपमा मौलाइरहेको हुन्छ । जसका विरुद्ध सरकार सचेत र सजग हुनु पर्छ ।

परिवर्तित व्यवस्था र कतिपय शासकमा पनि विकृति र विसङ्गति बिस्तारै झाँगिएर जाने भएकाले राजनीतिक प्रदूषणका रूपमा एक पछि अर्को स्वरूप फेरिँदै जान्छ । राजनीतिमा विकृति र विसङ्गतिका स्रोत धेरै छन्, त्यसको पहिचान गरी निराकरणका लागि सरकार  क्रियाशील हुन आवश्यक छ । राजनीतिक नेतृत्वमा हुर्केको अवसरवादले पनि लोकतान्त्रिक विधि र पद्धतिमाथि धावा बोल्दै विकृति र विसङ्गतिलाई मलजल गरी देश र जनताको दोहन गरिरहन्छ । प्रदूषक राजनीतिक प्रणालीभित्र अनुकूल छिद्र खोज्दै शक्ति आर्जन गरेर अराजक रूपमा प्रस्तुत हुने गर्छन् । त्यसविरुद्ध लोकतन्त्र पक्षधर शक्ति एकजुट हुन सक्नु पर्छ ।

विशेषतः दलाल र बिचौलियालाई राजनीतिक संरक्षण मिल्दा भ्रष्टाचार मौलाउँछ । जसले स्वच्छ राजनीतिक वातावरण प्रभावित पार्दै प्रदूषित बनाउँछ । दूषित राजनीतिक वातावरणले अशान्ति फैलाएर समाजलाई असुरक्षित बनाउने हुँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मानव समुदायमा हानि पु¥याइरहेको हुन्छ । त्यसले समाजमा द्वन्द्व निम्त्याउँदै ठुलो जनधनको क्षति पु¥याउने हुँदा शुद्धीकरण अपरिहार्य छ । 

प्रदूषण शुद्धीकरण अभियानले गति लिन सकेन भने राजनीतिक परिवर्तनसँगै नयाँ शक्तिहरूको उदय हुने गर्छ । व्यवस्था र शासक परिवर्तन हुँदै जानु भनेको राजनीतिक प्रदूषणको शृङ्खला फेरिँदै जानु पनि हो, त्यो शृङ्खला निरन्तर चलिरहन्छ । नयाँ शक्तिले तत्कालीन शासन व्यवस्था र शासकका विकृति र विसङ्गतिलाई केलाउँदै त्यसको विरुद्ध आन्दोलन गर्दै देश र जनताको हितमा परिवर्तन गरेर अगाडि बढ्ने नारा दिए पनि विजयपछिका कदम  क्रमिक रूपमा प्रदूषित हुँदै जान्छन् । त्यसैले नयाँ शक्तिमा पनि पूर्ण भरोसा गर्नु हुँदैन । 

राजनीतिक प्रदूषणको फाइदा आन्तरिक रूपमा शक्ति र सत्ताको पछि लाग्ने खराब तìवले लिने गर्छन् भने बाह्य शक्तिले राष्ट्रियता माथि खतरा हुने गरी घेरा हाल्न सक्छन् । राजनीतिक प्रदूषण अन्त्य गर्न सकिँदैन, त्यो एक पछि अर्को गर्दै चलिरहने प्र क्रिया हो । राजनीतिक प्रदूषक र प्रदूषणका घटकविरुद्ध सङ्घर्ष गर्दै न्यूनीकरणका लागि शुद्धीकरणको अभियान निरन्तर चलाइरहनु पर्छ । राजनीतिक प्रदूषकहरूले शक्ति र सत्ताको दुरुपयोग गरी आफ्ना विरोधी शक्तिलाई दबाउने नीति अवलम्बन गर्छन् । मात्रात्मक रूपमा तलमाथि भए पनि राजनीतिक प्रदूषण विश्वव्यापी र सर्वव्यापी रूपमा ऐतिहासिक चरण पार गर्दै अगाडि बढिरहेको हुन्छ । राजनीति प्रदूषित भएकै कारण आन्तरिक द्वन्द्व र सङ्घर्ष हुने, दुई देशीय र बहुदेशीय युद्ध हुने, विश्व युद्ध हुने जस्ता खतरनाक स्थिति सिर्जना गर्छ ।

आर्थिक र सामाजिक रूपमा परिष्कृत समाज र राष्ट्र राजनीतिक प्रदूषणविरुद्ध अर्थात् न्यूनीकरणका लागि असल थिति बसालेर जनचेतना जगाउन सफल भएका हुन्छन् । प्रजातान्त्रिक मुलुकमा निर्वाचनको विधिबाट राजनीतिक शुद्धीकरण गर्न जनताको भूमिका महत्वपूर्ण हुन्छ । लोकतान्त्रिक व्यवस्थामा आवधिक निर्वाचनमार्फत राजनीतिक प्रदूषकहरूलाई पराजित गर्दै शक्ति र सत्ताबाट अलग गराउन सकिन्छ तर गरिबी र जनचेतना अभावको कारण विकासोन्मुख राष्ट्रमा खराब पात्र निर्वाचित हुने गर्छन् । 

राजनीतिमा अस्थिरता ल्याउने परिपाटी बस्यो भने त्यसले राजनीतिक प्रदूषण बढाउने आधार बलियो बनाउँछ । राजनीतिक अस्थिरताले राजनीतिक प्रदूषणलाई जटिल बनाउने हुँदा व्यवस्था र नेतृत्वप्रति जनता बढी असन्तुष्ट हुन्छन् । विगतमा सत्तासीनमा बढ्दै गएको अधिनायकवादी चरित्र र कार्यशैलीले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सार्वभौम जनताको सर्वोच्चता कमजोर मात्र भएन त्यसले गर्दा निरङ्कुश शासनको पक्षमा आवाज मुखरित हुन थाले । नागरिक सचेत भएकाले त्यसका विरुद्ध मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो । 

राजनीतिक शक्ति कुनै विचार र सिद्धान्तबाट निर्देशित भएका हुन्छन् तर व्यवहारमा फरकपना आउँदा विचार र सिद्धान्तलाई पनि राजनीतिक प्रदूषकहरूले प्रदूषित बनाउँछन् । राजनीतिक शक्ति मूल्य र मान्यतामा अडिएर अनुशासित बन्दै विधि पद्धतिमा अडिन सके भने मात्र प्रदूषणलाई न्यूनीकरण गर्न सकिन्छ । कतिपय अवस्थामा प्रदूषणको दुर्गन्ध फैलिने गरी भित्री साँठगाँठ गर्दै आपसमा मिलेर जस्तोसुकै अप्राकृतिक र अस्वाभाविक गठबन्धन पनि गर्न सक्छन् । नेतृत्वमा महìवाकाङ्क्षा बढ्दा सत्तालिप्सा, नातावाद, कृपावाद, परिवारवाद हाबी मात्रै हुँदैन गुटगत राजनीतिको पक्षमा वातावरण बनाउन सहयोग पुग्छ । जसले गर्दा राजनीतिक क्षेत्र प्रदूषित हुन्छ । 

राजनीतिक प्रदूषणले गर्दा राजनीतिक तापमान वृद्धि हुनुका साथै दल तथा नेतृत्वको वैचारिक र सैद्धान्तिक पक्ष कमजोर हुँदै जान्छ । स्वच्छ छविका राजनीतिक दल र नेतृत्वमा पनि स्खलन आउने हुँदा चारित्रिक रूपमा प्रदूषित हुने सम्भावना बढ्छ । प्रदूषित राजनीतिक वातावरणले प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव र असर पर्ने हुँदा  क्रमिक रूपमा कमीकमजोरी बढ्दै जाने खतरा पनि हुन्छ । शक्ति र सत्ताको लुच्छाचुडीपूर्ण विकृत तस्बिर उदाङ्गो हुँदै जाने भएकाले असंवैधानिक गतिविधि गर्न दल तथा नेतृत्व हिच्किचाउँदैनन् । त्यसतर्फ गणतान्त्रिक सत्ता विशेष सचेत हुनु पर्छ ।

सत्तासीन र प्रतिपक्षबिच एकले अर्कालाई कमजोर र असन्तुलित बनाउन दल विभाजनको षड्यन्त्र रच्ने, गठबन्धनका घटकलाई लोभ्याएर फुटाउनेलगायतका विविध गतिविधि गरिरहेका हुन्छन् । शक्ति र सत्ताका लागि जस्तोसुकै गठबन्धन गर्न पछि नपर्ने हर्कत दलहरूमा विकास हुँदै जान्छ । प्रदूषित राजनीतिका कारण दलहरूले आफू रूपान्तरण हुन, आत्मसमीक्षा गर्न, पुनर्जीवन पाउन र सङ्गठन सुदृढीकरण गर्न लगाउनु पर्ने शक्ति कमजोर भएर जाने हुँदा दलको आकार र शक्ति पनि खुम्चिँदै जान्छ । विचार, सिद्धान्त, आदर्श, मूल्य र मान्यता, इमानदारी, नैतिकतालाई गलाउँदै अन्तरघात, बदनाम, छलकपट, धोकालगायत अवैध, अस्वाभाविक र अप्राकृतिक जस्तासुकै गतिविधि गर्न पनि पछि पर्दैनन् । 

भ्रष्टाचारमा चुर्लुम्ब डुबेर सुशासनको धज्जी उढाउँदै कानुनी छिद्रको सहारा लिएर तत्कालीन परिस्थिति अनुकूल बनाई देश र जनताको दोहन गरिरहन्छन् । प्रदूषित राजनीतिक प्रणाली वा शासकलाई सच्याउने आधार भनेको विधिको शासन नै हो । खराब संस्कारका विरुद्ध असल थिति बसाल्दै कानुनी राज्यको अवधारणालाई आत्मसात् गरेर निरन्तर सङ्घर्ष गरिरहनु पर्छ । प्रदूषकलाई कडा कानुनी नीति र विधिमार्पmत क्षतिपूर्ति र सजायको व्यवस्था गर्दै स्वच्छ राजनीतिक पर्यावरण संरक्षण गर्ने साझा लक्ष्यमा सबैले मिलेर काम गर्न सक्नु पर्छ । सरकारले पनि त्यही बाटो हिँड्ने प्रयत्न गरिरहेको छ ।

राजनीतिमा प्रदूषणको खतरा कायम रहे पनि राजनीतिक स्थिरता हुँदै गएको छ । भ्रष्टाचारविरुद्ध सरकारका कदमले पनि सकारात्मक सन्देश दिएको छ । सरकार देश र जनताप्रति इमानदार हुन खोजेको आभास हुन्छ । प्रधानमन्त्रीमा पनि केही गरौं भन्ने हुटहुटी देखिन्छ । प्रधानमन्त्रीको हुटहुटी व्यवहारमा रूपान्तरण भयो भने त्यसले सकारात्मक परिवर्तन ल्याउने छ । सरकार कुन दलको नेतृत्वमा छ भन्नुभन्दा पनि त्यसले के गरिरहेको छ भन्ने विषयले ठुलो अर्थ राख्छ । व्यवस्थाविरुद्ध देखिएका झिनामसिना आवाजलाई सरकारले कामबाटै जवाफ दिनु पर्छ । तब मात्रै प्रणाली सुदृढ भएर जान्छ राजनीतिमा प्रदूषण बढाउन खोज्नेहरू स्वतः निस्तेज हुने छन् ।

  

Author

डा. ज्ञानेन्द्रबहादुर कार्की