सुकृत नेपाल
काठमाडौँ, वैशाख २ गते । वर्ष २०७८ मा नेपाली रङ्गमञ्चमा खासै चहलपहल हुन सकेन । कारण, कोरोनाको तेस्रो लहर । यसले नेपाली रङ्गमञ्चलाई अधिक नै असर ग¥यो । यसका कारण धेरै रङ्गकर्मी आर्थिक चपेटामा पनि परे । धमाधम नेपाली थिएटरहरूमा नाटक बन्द भए । यसबीच रङ्गकर्मीले भर्चुअल माध्यमबाट केही नाटक देखाउने काम नगरेका होइनन् तर प्रत्यक्ष नाटक देखाउँदा भेटिने ऊर्जा दर्शकहरूले सम्भवतः भर्चुअल प्रदर्शनमा पाउन सकेनन् ।
वर्षको सुरुमै बन्दजस्तै हुन पुगेको रङ्गमञ्च गत वर्षको मध्यतिर भने केही तङ्ग्रिन थाल्यो । मण्डला, कुञ्ज, कौसी, पुरानो घर, थिएटर मल, शैली, शिल्पीलगायतका मोफसल र राजधानीमा अवस्थित थिएटरहरूमा पूरै जोश र जाँगरका साथ नाटकहरू मञ्चन हुन थाले । अहिले त्यसैको निरन्तरता जारी छ ।
मण्डलामा यस वर्ष १६ जना विद्यार्थीले डेढवर्षे तालिमपछि अभिनय गरेको नाटक ‘जिजीविषा’, राजन खतिवडा निर्देशित ‘रोगन’, दयाहाङ राई निर्देशित ‘मीतज्यू’ र सोमनाथ खनाल निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मञ्चन भयो ।
यस्तै २०७८ सालको उत्तराद्र्धमा कौसी थिएटरमा आकाङ्क्षा कार्की निर्देशित ‘एनिमल फर्म’ र ‘हरेक बबाल कुरा’, चन्द्रमान भैरव निर्देशित ‘पचली भैरव’ र आशान्त शर्मा निर्देशित ‘ढल्केको सालैजो’ मञ्चन भएको थियो । सबै नाटकले अपेक्षित दर्शक पाए । वर्ष २०७८ मा एक दशकअघि बन्द भएको गुरुकुल थिएटर फेरि सञ्चालनमा आयो । रङ्गकर्मी सुनील पोखरेलले नै यो थिएटर सञ्चालनमा ल्याएका हुन् ।
काठमाडौँ महानगरपालिकाको सहयोगमा एक वर्षका लागि थापागाउँस्थित कुञ्ज थिएटरमा ‘फेरि गुरुकुल’ सञ्चालनमा आएको हो । थिएटर सुरु भएसँगै सुनील पोखरेलको अनुवाद र निर्देशन रहेको नाटक ‘पुतलीको घर’को पहिलो मञ्चन गरिएको थियो । पुतलीको घरपछि गुरुकुलमा ‘ताराबाजी लै लै’ मञ्चन भयो । यसै वर्ष कुञ्ज थिएटरमै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भारतीय रङ्गकर्मी तथा प्रशिक्षक अमित बेनर्जीले सात दिन भ्वाइस एन्ड स्पिचको कार्यशाला दिएका थिए । कार्यशालामा देशका ३४ नाट्य संस्थासँग आबद्ध ३४ कलाकारको सहभागिता थियो ।
यस्तै सिनामङ्गलस्थित पुरानो घर थिएटरले यो वर्ष तीनवटा नाटक मञ्चन ग-यो । ‘म’, ‘लाटीको छोरो’ र ‘खत’ पुरानो घरमा यो वर्ष मञ्चन भएका नाटक हुन् । तीनवटै नाटकलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । सबै नाटकले औसत दर्शक बटुलेका थिए ।
वर्ष २०७८ मा थिएटर मल कीर्तिपुर रङ्गमञ्चले एउटा मात्र नाटक मञ्चन ग-यो । नाटक ‘शिरीषको फूल’ । नाटक अञ्जान प्रदीपले निर्देशन गरेका हुन् भने नाटकको परिकल्पना केदार श्रेष्ठले गरेका हुन् । नाटकले राम्रो दर्शक बटुलेको थियो । यही नाटक पोखराको पोखरा थिएटरमा पनि मञ्चन गरियो ।
कोरोना कहरले अर्को त्राहिमाम ल्याएन भने यस वर्ष दुई वर्ष लामो महामारीको साङ्लोबाट उम्किएर नेपाली थिएटरले आफ्नो लय समात्ने विश्वास लिन सकिन्छ । थिएटरमा मञ्चनको लामो अन्तरालपछि नयाँ नाटकको तिर्खामा दर्शकहरू पनि सम्भवतः प्रेक्षालयसम्म पुग्न आतुर छन् ।