• १९ वैशाख २०८१, बुधबार

थप आठ सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु

blog

बुराउसेका रैथाने बालीका लागि ब्लगको सिमाङ्कन गरिँदै ।

राजन रावत

हुम्ला, चैत १८ गते । एउटै गाउँपालिकाले थप आठ सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु गरेको छ । रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि यति धेरै जग्गामा रैथाने बाली लगाउन थालिएको हो । 

सिमकोट गाउँपालिका–४ का वडा अध्यक्ष प्रताप लामाले आफ्नो वडाका दुई वटा बस्तीहरू बुराउसे र हिल्दुममा एक सय रोपनी जग्गामा रैथाने बाली चिनो, कागुनो र सिमी लगाउन सुरु गरिएको बताउनुभयो । उहाँले बुराउसे गाउँमा चालीस चाली रोपनीका दुई ब्लग र हिल्दुम गाउँमा बिस रोपनी जग्गामा एउटा ब्लगमा रैथाने बाली लगाउन सुरु गरिएको बताउनुभयो । 

बाली छर्ने समय सुरु भएको कारण किसानहरू बाली लगाउने कार्यमा जुटी सक्नु भएको छ । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले यस वर्ष थप आठ सय रोपनी जग्गामा रैथाने बाली लगाउने गाउँपालिकाको लक्ष अनुसार आठ वटै वडामा खेती सुरु भएको बताउनुभयो । उहाँले प्रत्येक वडामा थप एक एक सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु गरिएको बताउँदै अघिल्लो वर्ष एक हजार दुई सय रोपनी जग्गामा रैथाने बाली लगाउन सुरु भई सकेको बताउनुभयो । 

वडाको भूगोल र सम्भावना हेरी रैथाने बालीहरू चिनो, कागुनो, फापर, सिमी र उवा लगाउन किसानलाई प्रेरित गरिने उहाँको भनाइ छ । एक रोपनी जग्गामा रैथाने बाली लगाए बापत गाउँपालिकाले दुई हजार ७५० रुपियाँ अनुदान किसानहरूलाई दिनेछ । यसबाट किसानहरू मल, औजार र प्रविधिको व्यवस्था गर्नु पर्नेछ । 

रैथाने बालीको बीउ भने किसान आफैँले व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको छ । यसका लागि गाउँपालिका र ग्रेप परियोजनाले चौबीस लाख बजेट खर्च गर्दैछन् । किसानले उत्पादन गरेको रैथाने बालीको अन्नलाई आगामी वर्ष गाउँपालिकाले नै खरिद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्नेछ । अघिल्लो वर्ष किसानका १३० क्विन्टल रैथाने बाली खरिद गरेको थियो भने यसवर्ष तीस क्विन्टल खरिद गरी सकेको छ भने खरिद कार्य जारी रहेको छ । गाउँपालिकाले प्याकेजिङ र खरिदमा समेत लगानी गर्दै आएको छ ।