• ८ मंसिर २०८१, शनिबार

अमेरिकामा कहिलेदेखि दुई दलको वर्चस्व

blog

संयुक्त राज्य अमेरिकामा लामो समयदेखि दुई मुख्य राजनीतिक दलको वर्चस्व रहिआएको छ । इस्वी संवत्को १९ औँ शताब्दीको मध्यदेखि राजनीतिक दल डेमोक्रेट्स र रिपब्लिकन अमेरिकाको राजनीतिमा अग्रपङ्तिमा देखिन्छन् । मतदानका लागि अमेरिकीहरूका अगाडि किन यति थोरै विकल्प छन् ? यथार्थमा यो राष्ट्रमा स्थापनाको लगत्तै दुई दलीय प्रणाली दीर्घस्थायी हुन पुग्यो ।

आरम्भिक राजनीतिक दलहरू

सन् १७८९ मा नयाँ संयुक्त राज्य अमेरिकाको सरकारको रूपरेखा तयार गर्ने बेला संविधानमा राजनीतिक दलका बारेमा कुनै कुरा उल्लेख गरिएको थिएन । अमेरिकाका धेरैजसो संस्थापकहरूमा यस्ता दलीय समूहप्रति ठूलो अविश्वास रहेको थियो । अलेक्जेन्डर ह्यामिल्टनले त लोकप्रिय सरकारका लागि दलहरूलाई ‘धेरै नै घातक रोग’ को संज्ञा दिए । जर्ज वासिङ्टनले सन् १७९६ मा आफ्नो बिदाइका लागि राखिएको कार्यक्रममा सम्बोधन गर्दै राजनीतिक दलले ‘डरलाग्दो निरङ्कुशता’ लाई जन्म दिने चेतावनी दिएर अमेरिकी जनतालाई सचेत पारेका थिए ।

तैपनि त्यतिबेलासम्म भरखरै जन्मेको देशमा विभिन्न राजनीतिक गुट सङ्गठित हुन थालिसकेका थिए । वासिङ्टनको राष्ट्रपति कार्यकालमा राजनीतिक कुलीन वर्गले आफूलाई दुई परस्पर विरोधी समूहमा विभाजित गरेको इतिहासमा स्पष्ट लेखिएको छ । ह्यामिल्टनको नेतृत्वमा ‘फेडरलिस्ट्स’ अर्थात् सङ्घवादी तथा थोमस जेफरसनको नेतृत्वमा ‘एन्टिफेडरलिस्ट्स’ अर्थात् सङ्घवाद विरोधी । ‘एन्टिफेडरलिस्ट्स’ एक अर्थमा ‘डेमोक्रेटिक–रिपब्लिकन्स’ थियो । नयाँ सङ्घीय सरकार राज्य सरकारको सापेक्ष कत्तिको शक्तिशाली हुनु पर्छ तथा ग्रेट ब्रिटेन र फ्रान्ससँग संयुक्त राज्य अमेरिका पङ्क्तिबद्ध हुनु पर्छ कि पर्दैन भनी यी दुवै समूहबीच चर्को बहस भयो ।

कोलगेट विश्वविद्यालयमा राजनीति विज्ञानका सहप्राध्यापक साम रोजेनफेल्ड भन्छन्, “मेरो विचारमा अपेक्षा र आशा कस्तो थियो भने आमहितका लागि नीति बनाउन प्रतिभा सम्पन्न विधिबाट शक्ति पृथकीकरणको सिद्धान्तमा रहेर सरकार निर्माण गरिनु पर्छ । यसको अर्थ सबै जना सहमत हुने नीति निर्माण गरिनु नै सर्वोत्तम हो तर यथार्थमा मानिसहरू असहमत छन् ।”

राष्ट्रपति जर्ज वासिङ्टनले आफ्नो बिदाइ कार्यक्रममा सम्बोधन गर्दा राजनीतिक समूहबीच आपसी मतभेदका बारेमा बोलेका थिए । राष्ट्रपतिबाट बिदाइ लिइरहँदा वासिङ्टनले सबै अमेरिकीलाई आफ्नो राजनीति र क्षेत्रीय आबद्धताभन्दा माथि उठेर राष्ट्रका लागि गोलबद्ध हुन आग्रह गर्नुले राजनीतिक समूहप्रति उनको अविश्वास झल्किन्छ ।

डेमोक्रेटिक र रिपब्लिकन पार्टीहरूको उद्भव

सन् १८०० को निर्वाचनमा जेफरसनले जोन एडम्सलाई पराजित गरेका थिए । यहीँबाट ‘फेडरालिज्म’ अर्थात् सङ्घवादको विसर्जन सुरु भयो । जो सन् १८१२ को युद्धको समाप्तिसँगै एक राजनीतिक धारका रूपमा सदाका लागि शून्यमा परिणत भयो । जेम्स मुनरो राष्ट्रपति रहेको त्यस काललाई ‘असल भावनाको युग’ भनियो किनभने राष्ट्रिय दलबीच मतभेद सापेक्षिक कम थियो ।

रोजेनफेल्ड भन्छन्, “एकछिनलाई तपाईंले सबै डेमोक्रेटिक निर्णय यस एकल डेमोक्रेटिक–रिपब्लिकन दलको प्रभावशाली निर्देशमा भएको देख्नुहुन्छ तर असहमति कतै गएन । वास्तवमा सङ्घीय सरकारको भूमिका तथा राज्य सरकारको सापेक्ष सङ्घीय सरकारको शक्तिका बारेमा त्यस्तै खालको असहमति देखिरहेको छ ।”

सन् १८२४ को निर्वाचनमा एन्ड्रु ज्याक्सनको दाँजोमा लोकप्रिय मत कम पाएर पनि जोन क्विन्से एडम्स राष्ट्रपति निर्वाचित हुनु एक महत्वपूर्ण क्षण थियो । मार्टिन भान बुरेनको नेतृत्वमा रहेको ज्याक्सनका समर्थकको समूहले जेफरसनवादको आदर्शमा आधारित रहेर एक नयाँ गठबन्धन निर्माण गरे, जो डेमोक्रेटिक पार्टी बन्यो । सन् १८२८ र १८३२ मा यस पार्टीले ज्याक्सनका साथमा निर्वाचनमा जसरी सफलतापूर्वक शक्ति सञ्चय ग¥यो, त्यसले कैयौँ पक्ष देखायो– राजनीतिक जुलुस र मनोनयन परिपाटी पनि पर्छन् । यो आधुनिक समयको दलीय राजनीतिको विशेषता भएको हामी देख्न सक्छौँ ।

यसैबीच ज्याक्सनका नीतिको विरोधीले गोलबद्ध भएर ह्विग पार्टी गठन गरे । जो अधिक शक्तिशाली केन्द्रीय सरकारको पक्षधर ‘फेडरलिस्ट’ परम्पराको निकट थियो । सन् १८५० को दशकसम्म ह्विग पार्टी पतन भयो तथा डेमोक्रेट्सलाई जवाफ दिन दासत्वविरोधी नयाँ रिपब्लिकन पार्टीको उदय हुन पुग्यो । यद्यपि त्यसपछिका वर्षमा तिनीहरूको मार्गचित्र र अवस्थामा धेरै नै परिवर्तन आए पनि दुवै दल संयुक्त राज्य अमेरिकामा प्रभावशाली रहिआएका छन् ।

संयुक्त राज्य अमेरिकामा यसरी दुई दलको वर्चस्व रहनुका पछाडिको कारण बुझ्न हामीले अमेरिकाको निर्वाचन कसरी सम्पन्न हुन्छ भनी जान्नु महत्वपूर्ण छ । अमेरिकाको निर्वाचनमा देशभरि खसेको मत (यसलाई पपुलर मत भन्ने गरिन्छ) का आधारमा जित हारको निर्णय हुँदैन । देशभरि सबैभन्दा बढी ‘पपुलर’ मत ल्याएर पनि राष्ट्रपतिको उम्मेदवार हारेको अमेरिकाको इतिहासमा दृष्टान्त छन् । हरेक राज्यको जनसङ्ख्याका आधारमा निर्वाचनका लागि प्रतिनिधि सङ्ख्या (इलेक्टोरल कलेज) तोकिएको हुन्छ र यसैका आधारमा निर्वाचनमा विजेताको निर्णय गरिन्छ । उदाहरणका लागि क्यालिफोर्निया राज्यमा जसले बढी मत ल्यायो त्यही उम्मेदवारले सो राज्यका सबै इलेक्टोरल कलेज मत पाउँछ । त्यसरी हरेक राज्यको इलेक्टोरल मतका आधारमा राष्ट्रपति निर्वाचनको निर्णय हुने गर्छ । यसमा अमेरिकाभरिको कुल मतको हिसाबकिताबले कुनै अर्थ राख्दैन ।

अमेरिकाको दुई दलीय राजनीतिक प्रणालीले गर्दा रिपब्लिकन र डेमोक्रेटिक पार्टीभन्दा बाहिरका उम्मेदवारले राष्ट्रपति निर्वाचनमा जित हासिल गर्नु कठिन छ ।

यसको नतिजा मानिसमा निर्वाचनयोग्य आफ्नो मन पर्ने उम्मेदवारलाई मतदान गर्ने प्रवृत्ति विकास भएको देखिन्छ, जो उम्मेदवार सधैँ (अमेरिकामा) या त रिपब्लिकन या डेमोक्रेट हुन्छ । रोजेनफेल्ड भन्छन्, “अमेरिकी निर्वाचनको आरम्भिक प्रक्रियाले दलभित्र नै नीतिगत सङ्घर्ष गराउँछ । जसबाट आमनिर्वाचनका त्यस्ता आदर्श उम्मेदवार तयार हुन्छन्, जसले मतदाताको सम्भावित समूहलाई आकर्षित गर्न सकून् ।”

कतिपय युरोपेली देशहरूमा सरह समानुपातिक प्रतिनिधित्व हुने बहुदलीय प्रणालीका बारेमा उल्लेख गर्दै रोजेनफेल्डले भनेका छन्, “यस्तै खाले सङ्घर्षले अन्यत्र नयाँ दल सिर्जना गर्दछ । यहाँचाहिँ यो आन्तरिक रूपमा मात्र प्रसारित हुन्छ ।”

अन्य कारक तत्वका अतिरिक्त यी संरचनात्मक विशेषताका कारण अमेरिकाको इतिहासमा दुई शताब्दीयता दुई दलीय प्रणाली टिकेकै छ, तथापि जनधारणा सर्वेक्षणहरू (जस्तै सन् २०२२ को प्यु रिसर्च पोल) ले दुई दलीय प्रणालीको लोकप्रियताका बारेमा जस्तोसुकै तथ्य सार्वजनिक गरेको होस् । –युवामञ्च