• १५ वैशाख २०८१, शनिबार

'प्रदेश समृद्धिको आधारमध्ये खेलकुद पनि एक हो'

blog

धर्बेन्द्र झा 

धनुषा, चैत १६ गते । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले देश तथा प्रदेशको समृद्धिको आधारहरुमध्ये खेलकुद पनि एक रहेको बताउनुभएको छ । उहाँले खेलकुदले बालबालिका तथा युवाहरुको शारीरिक, मानसिक तथा तिनीहरुको व्यक्तित्वको विकासमा ठूलो योगदान दिने गरेको बताउनुभएको हो । 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबारदेखि सुरु भएको दोस्रो मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८० को उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले मधेश प्रदेश क्रिकेट खेलमा निक्कै अगाडी भएको चर्चा गर्दै क्रिकेट खेलको विकासका लागि यस क्षेत्रमा अन्तराष्ट्रिय स्तरको रङ्गशाला आवश्यक भएको बताउनुभयो । उहाँले निर्माणाधीन अवस्थामा रहेको रामजानकी रङ्गशालाको निर्माण छिटो हुन जरुरी रहेको भन्दै यसमा सबैको सहयोग आवश्यक भएको बताउनुभयो । 

कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले रामजानकी बहुउद्देश्यीय रङ्गशालाको डिपिआर तयार पार्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउँदै अर्को आर्थिक वर्षदेखि रङ्गशालाको निर्माणका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रको खेलकुदको विकासका लागि स्थानीय तहले गरिरहेको भूमिकाको सराहना गर्दै मेयर कप क्रिकेट प्रतियोगिताले खेलाडीहरूको क्षमता विकासमा ठूलो योगदान पुग्ने आशा व्यक्त गर्नुभयो । 

कार्यक्रमको अध्यक्षता गर्नुभएका जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि डिपिआर तयार गर्न दुई करोड रकम विनियोजन गरिसकेको जानकारीमा आएको भन्दै रङ्गशालाको डिपिआर बनाउनमा ढिलाइ गर्न नहुने बताउनुभयो । उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नंं १४ का वडाध्यक्ष पूण्यप्रसाद यादव, रङ्गशाला निर्माण अभियानका संयोजक दिनेश पूर्वे सहितका वक्ताहरूले खेल क्षेत्रको विकासका साथसाथै रङ्गशालाको निर्माणको विषयमा आफ्नो मन्तव्यमा जोड दिनुभएको थियो । 

जनकपुरधामको वडा नंं १४ रजौलमा निर्माणाधीन अवस्थामा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाको क्रिकेट खेल मैदानमा सुरु भएको प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाका जिल्ला स्तरको क्रिकेट टिमको सहभागिता छ । दुई वटा समूहमा विभाजन गरेर भइरहेको सो प्रतियोगिताको फाईन खेल चैत्र २४ गते हुने जिल्ला क्रिकेट संघका वरिष्ठ सदस्य सरोज कुमार मिश्रले जानकारी दिनुभयो।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगितामा विजयी हुने टिमलाई दुई लाख ५१ हजार नगद, शील्ड, कप तथा प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेता टिमलाई १ लाख ५१ हजार नगद, शिल्ड, कप तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।