• १५ वैशाख २०८१, शनिबार

हिउँ खेल्दै सशस्त्र प्रहरीद्वारा सिमानाकामा गस्ती

blog

नारा लेकको हिउँमा गस्ती गर्दै सशस्त्र प्रहरी । तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, चैत १५ गते । नेपाल र चीनको सिमाना रहेको हिल्सामा स्थापना भएको सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकीका (बिओपी) सुरक्षाकर्मीले हिउँमा खेल्दै सिमानाका गस्ती गर्दैआएका छन् । 

हिउँ जमेको कारण बाटो असजिलो र चिसो हुने भए पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्न गस्ती गरेको हो । सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टले हिउँ जमेको भए पनि आफ्नो कर्तव्य पूरा गर्न सिमानाका र सिमास्तम्भ अनुगमनको काम भइरहेको  बताउनुभयो । 

उहाँले सशस्त्र प्रहरी कहिले सिमास्तम्भको अनुगमन गर्न दुई देशको सिमाना किट क्षेत्र त कहिले सीमा सुरक्षाका लागि नारा लेकतर्फ गस्तीमा जाने गरिएको बताउनुभयो । किट क्षेत्रमा हिउँ कम भए पनि नारा लेक क्षेत्रको एक किलोमिटर सडकमा दुईदेखि तीन फिट हिउँ जमेका कारण गस्ती गर्न समस्या हुने गरे पनि जानुपर्ने बाध्यता रहेको बताउनुभयो । 

पुसमा हिमपात कम भएका कारण सुरक्षाकर्मीलाई गस्ती गर्न सहज भएको तर फागुनमा बढी हिमपात हुँदा केही समस्या भएको बताउनुभयो । हिल्साबाट नारा लेकको बाटो नखुलेका कारण गस्तीमा जान सशस्त्र प्रहरीले आठ–दश जनालाई परिचालन गर्नेगरेको छ । चौकीमा हाल २२ जना सशस्त्र प्रहरी छन् ।