• १२ साउन २०८१, शनिबार

जीविकोपार्जनसँग पर्यटन जोड्छौँ

blog

मनाङ जिल्लाको चामे गाउँपालिका पर्यटकीय गन्तव्य हो । जिल्ला सदरमुकाममा रहेको चामे गाउँपालिका अन्नपूर्ण पदयात्राका साथै तिलिचो ताल जाने मार्गका रूपमा रहेको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राकृतिक सम्पदा रहेको यस पालिकामा लमजुङ हिमाल, कजिनसरा ताल, तातोपानी कुण्ड, पदमार्ग, लालीगुराँस बगैँचा आदि छन् । जिल्लाका चार वटा स्थानीय तहमध्ये चामे कार्यसम्पादन मूल्याङ्कनमा पहिलो रहँदै आएको छ । पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा आदि विषयमा केन्द्रित रही हिमालपारिको जिल्ला मनाङको मध्य भागमा अवस्थित चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेसँग गोरखापत्रका मनाङ समाचारदाता यदुप्रसाद भट्टले गर्नुभएको कुराकानी :  

चामे गाउँपालिकालाई समृद्ध बनाउन के के काम गर्दै हुनुहुन्छ ? 

म गाउँपालिका प्रमुखका रूपमा निर्वाचित भएको दुई वर्ष भयो । अहिले पनि योजना निर्माणमै छु । यसको मतलब केही भएको छैन भन्नेचाहिँ होइन । सबै क्षेत्रमा काम गर्दै छौँ तर दिगो र भरपर्दा योजना अझै बनिसकेका छैनन् । पर्यटन पूर्वाधार निर्माणमा विशेष जोड दिएका छौँ । कृषि तथा पशुपालनमा अनुदानका कुरा छन् । सडक सञ्जाललाई स्तरीय बनाउने योजना छ । शीतभण्डार कक्ष सञ्चालनको तयारीमा छौँ । 

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा ध्यान दिनुभएको छ ? 

हामीले शिक्षालाई बढी प्राथमिकतामा राखेका छौँ । मुलुक सञ्चालन गर्ने योग्य जनशक्ति शिक्षाले उत्पादन गर्छ भन्ने हामीले बुझेका छौँ । पालिकाभरि दुई वटा आवासीय विद्यालय सञ्चालन गर्ने तयारीमा छौँ । सामुदायिक विद्यालयमा पक्कै पनि शैक्षिक गुणस्तर खस्किएकै हो । यसलाई सुधार्ने हाम्रो प्रमुख ध्येय छ । शैक्षिक गुणस्तरको विकाससँगै कमजोर भौतिक संरचना सुधार गर्नमा पनि हामीले ध्यान दिएका छौँ । पालिकाभरिका दुई वटा विद्यालयको विद्यार्थी सङ्ख्या लगभग ३५० रहेको छ । आवासीय विद्यालयमा विद्यार्थी खाने, बस्ने व्यवस्था पालिकाले गर्दै आएको छ । हिमाली क्षेत्र भएकाले आवासीय विद्यालय सञ्चालन गर्दा विद्यार्थीको समय पनि बचत हुने तथा शैक्षिक गुणस्तर पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।

स्वास्थ्य क्षेत्रमा पालिकामा आधारभूत प्राथमिक स्वास्थ्य सेवा मात्रै उपलब्ध छ भन्नु प¥यो । स्वास्थ्य चौकी भवन बनिसके पनि जटिल स्वास्थ्य समस्या आएमा काठमाडौँ तथा पोखरा नै जानुपर्ने बाध्यता छ । सामान्य रुघाखोकी, ज्वरोका बिरामीको प्राथमिक उपचार हुन्छ । विशेषज्ञ डाक्टरको अभावमा दुर्गममा स्वास्थ्य, औषधी उपचार छैन नै भन्दा पनि हुन्छ । गर्भवती, सुरक्षित सुत्केरी सेवा तथा शल्यक्रिया गर्नु परेमा महँगो मूल्यमा हेलिकप्टरको सहयोग लिनुपर्ने अवस्था छ । त्यसैले अब स्वास्थ्यका लागि पूर्वाधार बन्दै छ । भविष्यमा शल्यक्रिया तथा सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने किसिमले काम गर्दै छौँ ।

पर्यटन विकासमा पनि काम भएको छ ? 

धुलाम्मे सडकका कारण पर्यटकले सास्ती बेहोर्नु परेको छ । पर्यटक प्रवर्धनका लागि वैकल्पिक पदमार्ग निर्माण गरिरहेका छौँ । वडा नं १ र २ मा लगभग सम्पन्न गरिसकेको अवस्था छ । वडा नं. ३ र ४ मा योजना बनाउँदै छौँ । कजिनसरा ताललाई व्यापक रूपमा प्रचारप्रसार गरी पर्यटन प्रवर्धन गर्न पदमार्ग निर्माण तथा धर्मशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भर्खरै पत्ता लागेको नयाँ ताल भएकाले यसको प्रवर्धनमा लागि परेका छौँ । बाह्य पर्यटकलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर पूर्वाधारका काम भइरहेका छन् । यहाँ पर्यटकीय दृष्टिकोणबाट एउटा महत्वपूर्ण गन्तव्यका रूपमा रहेको अन्नपूर्ण पदयात्रा साथै तिलिचो ताल रहेको छ । यसको स्तरोन्नतिमा हामी लागेका छौँ । हिम शृङ्खला, ताल एवं सांस्कृतिक र प्राचीन बौद्ध गुम्बा, वनजङ्गल, वनस्पति यहाँका आकर्षण हुन् । पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राकृतिक सम्पदा लमजुङ हिमाल, कजिनसरा ताल, तातोपानी कुण्ड, पदमार्ग, लालीगुराँस बगैँचा आदिबारे पर्यटकलाई जानकारी दिने योजना अनुसार काम भइरहेको छ । 

यहाँको कृषि र पर्यटनलाई जोड्ने सम्भावना कस्तो छ ? 

मनाङ उच्च हिमाली क्षेत्रमा पर्दछ । यहाँको स्थानीय उत्पादन भनेको आलु, फापर, जौ, गहुँ, करुवा हो । यहाँको उत्पादनले बढीमा तीन महिना मात्रै खान पुग्छ । पर्यटकलाई यहीँको उत्पादन खुवाउन सकिएको छैन । अहिले चामेमा चिस्यान केन्द्र खोलेका छौँ । सामूहिक खेती गर्ने व्यवस्था गरेका छौँ । निकट भविष्यमै चामेमा कृषि उपज सङ्कलन केन्द्र बनाउने योजना छ । कृषि र पर्यटनलाई मुख्य जीविकोपार्जन र आर्थिक विकासको स्रोतका रूपमा विकास गर्ने सोच राखिएको छ । यस दीर्घकालीन सोचले गाउँपालिकालाई स्वच्छ, सहज, सफा, पर्यटकीय तथा गरिबीमुक्त र समृद्ध गाउँपालिकाको रूपमा देख्न सकिन्छ । 

पूर्वाधारको अवस्था सुधारमा पनि जोड दिनुभएको छ ? 

अहिले चार वटा वडा कार्यालय भवन बनिसकेको अवस्था छ । बन्न बाँकी रहेको वडा कार्यालय भवन पनि छिटै सम्पन्न हुँदै छ । विद्युत्को ग्रिडलाइन सञ्चालनमा आएको छ । सबै वडामा विद्युत् पुगेको छ । लगभग हाम्रो पालिकामा साढे तीन किलोमिटर सडक कालोपत्रे भइसकेको अवस्था छ । धुलाम्मे सडकलाई मर्मत गर्ने काम भइरहेको छ । धुलोका कारण पर्यटकलाई असहज भएको छ । त्यसैले हामी सङ्घीय तथा प्रदेश सरकारलाई घचघच्याउँदै सडक ढलान गर्न पहल गर्दै छौँ । 

सङ्घ र प्रदेश सरकारको सहयोग प्राप्त भएको छ ? 

हामीले प्रदेश र सङ्घ सरकारको सहयोग मिलेको अनुभूति गर्न सकेका छैनौँ । वित्तीय र प्रशासनिक दृष्टिले सङ्घीयता आएकै छैन, राजनीतिक सङ्घीयता मात्र आएको छ । देशका सबै स्थानीय तहलाई एउटै अवस्थामा हेरियो । सबैको आयस्रोत एउटै हुँदैन । यही कारणले हामी धेरै मारमा परेका छौँ ।