• ८ जेठ २०८१, मङ्गलबार

‘डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक पर्छ ’

blog

काठमाडौं, चैत १२ गते । पछिल्लो समय डेङ्गु सङ्क्रमण जनस्वास्थ्यका रुपमा देखा पर्न थालेको छ । नेपालको केही वर्षको तथ्याङ्कले पनि डेङ्गु महामारीका रुपमा देखापर्दै आएको देखाउँछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार नेपालमा सन् २०१९ मा १७ हजार ९९२ जनामा डेङ्गु पुष्टि भएको थियो । त्यसैगरी, सन् २०२० मा ५३०, सन् २०२१ मा ५४०, सन् २०२२ मा ५४ हजार ७८४, र सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगु पुष्टि भएको थियो ।  डेङ्गु गर्मी मौसममा वृद्धि हुने भए पनि जलवायु परिवर्तका कारण पछिल्लो केही वर्ष यता जाडोमा पनि डेङ्गु सङ्क्रमण शून्यमा नझरेको इडिसिडिका प्रमुख डा.गोकर्ण दाहाल बताउनुहुन्छ । 

इडिसिडीका अनुसार जनवरी सुरु भएदेखि लगभग छ सय जनामा डेङ्गु पुष्टि भैसकेको छ ।  यो वर्ष पनि डेङ्गुले महामारीको रुपमा लिन सक्ने धेरैको आकलन छ । 

डेङ्गु नियन्त्रणमा सबैको सहकार्य आवश्यक 

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले यो वर्ष डेंगु फैलिन नदिन सबैसँग सहकार्यका लागि पहल अगाडि बढाएको जानकारी दिनुभयो । डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य अवश्यक पर्ने भएकाले सोही अनुरुप मन्त्रालयले सबै स्थानीय तह र मन्त्रालयसँग सहकार्य अगाडि बढाएको उहाँले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ,“एक जनाको प्रयासले मात्र डेङ्गु नियन्त्रण हुँदैन । डेङ्गु नियन्त्रण गर्न कृषि, खानेपानी, वातावरण मन्त्रालयको पनि सहकार्यको आवश्यक पर्छ । त्यसका लागि मन्त्रालयले प्रयास अगाडि बढाएकोा छ ।” 

 डेङ्गु नियन्त्रण गर्न व्यक्ति स्वयमले पनि पानी जम्ने खाल्डखुल्डी पुर्ने, पानी लामो समयसम्म जम्न नदिने परिपाटी बनाउने, टायर जथाभावी फाल्न नदिने जस्ता कार्य गरेर सहयोग गर्न आवश्यक छ ।” 

त्यसका साथै सबै तहमा डेङ्गु रोगसम्बन्धी सचेतना फैलाउने काम गरेको उहाँको भनाइ छ । रोग नियन्त्रण गर्ने स्थानीय तहको भूमिका सन्तोषजनक नभएको डा.बुढाथोकीको तर्क छ । 

   डेङ्गु सङ्क्रमण उन्मूलन गर्ने हो भने सबैको सहकार्य आवश्यक पर्ने उहाँले  जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“डेङ्गु सङ्क्रमणलाई शून्यमा झार्न सबैको सहकार्य आवश्यक पर्छ स्वास्थ्य मन्त्रालयले मात्र काम गरेर यसलाई उन्मूलन पार्न मुस्किल छ ।”

 पानी जम्ने ठाउँमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने, कवाडीलाई व्यवस्थित गर्ने, टायर जथाभावी नफाल्ने, पानी जम्मा गर्ने भाडा बेलाबेलामा सफा गर्नुपर्ने भएकाले सबैको सहकार्य आवश्यक पर्छ । 

सङ्क्रमण फैलिन नदिन के गर्दै छ सरकारले  ?

यो वर्ष डेङ्गु सङ्क्रमणले महामारीको रुप नलियोस् भनेर स्वास्थ्य मन्त्रालय काम अगाडि बढाएको डा.बुढाथोकी बताउनुहुन्छ । उहाँका अनुसार मन्त्रालयले डेङ्गु रोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ। 

डा.बुढाथोकीले मन्त्रालयले स्वास्थ्य संस्थामा फोकल प्वाइन्ट तोक्ने र डेंगुको उपचारमा चाहिने सामग्री तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “समान्य सङ्क्रमण भएमा हामीले काम गर्दै आएका छौँ । सङ्क्रमणले महामारीको रुप लिएमा तयारी अवस्थामा छौँ ।” 

व्यक्ति स्वयं जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँ भन्नुहुन्छ, “डेङ्गु नियन्त्रण गर्न घरबाट नै काम सुरु गर्नुपर्छ । जबसम्म डेङ्गु सङ्क्रमण्ले मलाई पनि समस्या पार्न सक्छ भनेर आत्मबोध गर्न सकिंदैन तबसम्म यो सङ्क्रमणलाई निर्मूल पार्न गाह्रो हुन्छ ।” 

चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्दछ । उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरु दुख्नु, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, आँखाको गेडी दुख्नु, वाकवाकी लाग्नु वा वान्ता हुनु डेङ्गुका लक्षण हुन् । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन र व्यक्तिगत सुरक्षाका उपाय अपनाउन चिकित्सकको सुझाव छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।