• १३ साउन २०८१, आइतबार

घोडेपानीको पर्यटन प्रवर्द्धन गर्न घोडादौड प्रतियोगिता

blog

घोडा दौड प्रतियोगिताका बिजेताहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत १२ गते ।
म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीको पर्यटन प्रवर्द्धनमा  टेवा पुर्‍याउन घोडादौड प्रतियोगिता गरिएको छ । अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा फागुपूर्णिमाको अवसरमा घोडा व्यवसायी समितिले चौथो घोडा दौड प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा कास्की समरुङका दीपेन्द्र गुरुङले उपाधि हात पार्नुभयो । अन्नपूर्ण गाउँपालिका–६ खिवाङ देखि घोडेपानीसम्मको छ दशमलव पाँच किलोमिटर दूरी २८ मिनेट ४१ सेकेण्डमा पार गरेर गुरुङको घोडा प्रथम भयो ।

बिजेता र उपविजेताको समयान्तर ५ सेकेण्ड छ । २८ मिनेट ४६ सेकेण्डमा दूरी पार गरेका घान्द्रुकका कृष्ण मगर द्वितीय र कास्कीको घान्द्रुककै दीपेन्द्र श्रीपालीले २९ मिनेट ५० सेकेण्डमा निर्धारित दूरी पार गरेर तृतीय भएको प्रतियोगिताको संयोजन गर्नुभएका घोडेपानीका घोडा व्यवसायी बिरेन गर्बुजाले जानकारी दिनुभयो । चन्दा सहयोग जुटाएर प्रतियोगिता सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५५ हजार, ३५ हजार र २५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । घोडेपानीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत चार वर्षदेखि यहाँ घोडा दौड प्रतियोगिताको आयोजना गरिँदै आएको छ ।

प्रतियोगितामा शिख, घोडेपानी, घान्द्रुक, समरुङ, उल्लेरी, फलातेलगायत ठाउँका २५ जना घोडालाई दौडाइएको थियो । घोडादौडका लागि खिवाङदेखि कुटुका–ठुलाखर्क–पेरिभारानी ताल–भलखरा–लरेनी, कालिसार हुँदै घोडेपानी जोड्ने मार्गको प्रयोग गरिएको थियो । घोडेपानी युवा क्लब, आमा समुह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिले प्रतियोगितालाई सहयोग गरेका थिए ।  

घोडा दौड प्रतियोगिताले घोडेपानीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आशा गरिएको होटल व्यवसायी क्या. डमबहादुर गर्बुजाले बताउनुभयो । स्वदेश तथा विदेशी पर्यटकहरुले घोडादौड प्रतियोगिताको रुचिसाथ अवलोकन गरेका थिए ।