• १६ वैशाख २०८१, आइतबार

फौजी किरा नियन्त्रण गर्ने प्रविधि नार्कमा अलपत्र

blog

काठमाडौँ, चैत ११ गते । मकैदेखि विभिन्न बालीमा क्षति पुर्‍याउँदै आएको अमेरिकी फौजी किरा नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले नयाँ प्रविधि पत्ता लगाएका छन्, तर त्यो प्रविधि अलपत्र अवस्थामा छ ।

गाडीका इन्जिनमा प्रयोग हुने ग्रिज मकै बालीमा प्रयोगमा ल्याएपछि फौजी किरालाई नियन्त्रण गर्न सकिने प्रविधिको विकास गरेका नार्कका वैज्ञानिक डा. उज्ज्वल कुशवाहाले बताउनुभयो । फौजी किरा नियन्त्रणका लागि वैज्ञानिक कुशवाहाले विगत चार वर्षदेखि अनुसन्धान गरी त्यसमा सफल हुनुभयो तर नार्कले हालसम्म त्यसलाई मान्यता दिएको छैन । 

नार्कका अर्का वैज्ञानिक भानुभक्त पोखरेलले ग्रिसबाट फौजी किरा नियन्त्रण गर्ने भनी अनुसन्धान भएको हो तर नार्कले अझै त्यसलाई अनुसन्धानकै क्रममा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसको बारेमा राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम चितवनले अनुसन्धान गरिरहेको छ, यसको सबै अनुसन्धान पूरा भएपछि मात्र नार्कले स्वामित्व लिन्छ ।”

यो प्रविधिको बारेमा अझै दुई वर्ष अनुसन्धान हुने बताउँदै उहाँले यसको बारेमा चितवन, नेपालगञ्ज, तरहरा, पाख्रीबास र डोटीमा अनुसन्धान भइरहेको बताउनुभयो । नार्कका वैज्ञानिकले मकै बालीमा यो प्रविधिलाई प्रयोग गरिरहेको बताउँदै उहाँले पहिलो वर्षमा सकारात्मक नतिजा आएको छ तर अझै अनुसन्धानकै क्रममा रहेको बताउनुभयो । 

कुशवाहा धानका वैज्ञानिक हुनुहुन्छ तर उहाँले फौजी किराको बारेमा अनुसन्धान गर्दा नार्कका त्यससँग सम्बन्धित अन्य वैज्ञानिकलाई राम्रो लागेन । उहाँले गरेको अनुसन्धानलाई धेरैले विरोध गरेका थिए । सोही विरोधका कारण नार्कमा उहाँको अनुसन्धान अलपत्र परेको छ । वैज्ञानिक कुशवाहाले भन्नुभयो, “मैले आफ्नो अनुसन्धानका बारेमा नार्कका तत्कालीन इडीका बारेमा जानकारी गराएको थिएँ तर उहाँले त्यति वास्ता नगरेका कारण हालसम्म त्यो अलपत्रको अवस्थामा रहेको छ ।”  

यसको अनुसन्धान गर्ने निकाय किट विज्ञान महाशाखा अनुसन्धान केन्द्रका प्रमुख अजय श्रीरत्न वज्राचार्यले वैज्ञानिक कुशवाहाले गरेको अनुसन्धानको बारेमा आधिकारिक जानकारी नआएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “कुशवाहाजीले गर्नुभएको अनुसन्धानका बारेमा मैले पत्रपत्रिकामा पढेको हुँ तर हामीकहाँ आधिकारिक जानकारी आएको छैन, उहाँले नार्कमा कसलाई जानकारी गराउनुभएको छ थाहा छैन ।” वैज्ञानिक कुशवाहाले आफूले गरेको अनुसन्धान प्रविधिको बारेमा बेलायतको चर्चित म्यागजिन ‘नेचर जर्नल साइन्टिफिक रिपोर्ट्सको अनलाइन संस्करणमा पनि प्रकाशित भएको र अन्य ठाउँमा पनि यसको बारेमा अनुसन्धान तथा छलफल भइरहेको बताउनुभयो । 

नेपालमा पनि थुप्रै ठाउँमा किसानले पनि प्रयोगमा ल्याइरहेका छन्, धेरै ठाउँबाट सकारात्मक प्रतिक्रिया आएको बताउँदै उहाँले एक दिन यसले अवश्य मान्यता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । अहिले फौजी किरा नियन्त्रणका लागि थुप्रै केमिकल प्रयोग भइरहेका छन् । त्यो प्रभावकारी देखिएको छैन । यो ग्रिजबाला प्रविधि आएपछि किसानलाई केही राहत हुने विश्वास आफूले लिएको उहाँले बताउनुभयो । मकैको पातमा १०–१५ एमजी ग्रिज लगाएर छाड्नु पर्छ । फौजी किरा त्यो पातमा आएपछि टाँसिएर लड्छन् र त्यसलाई निगेटिभ सङ्केतका रूपमा लिन्छ र त्यहाँबाट भाग्छन् ।

मकैमा लगाएको खेतको सम्पूर्ण बोटमा ग्रिज लगाउनु पर्छ भन्ने हुँदैन । खेतमा लगाएको मकैको कुल सङ्ख्याको बोटको पाँचदेखि १० प्रतिशतजति बोटमा ग्रिज लगाए पुग्ने उहाँले बताउनुभयो । 

सन् २०१९ तिर सर्लाहीको गोडौला नगरपालिका–५ मा १५ यसको प्रयोग उहाँले गर्नुभएको थियो । उहाँले केही क्षेत्रफलमा अहिले प्रयोग हुँदै आएको ‘इमामेबेट्रिन केमिकलको प्रयोग गर्नुभयो भने केहीलाई त्यतिकै छाड्नुभयो भने केहीमा ग्रिजको प्रयोग गर्नुभएको थियो । उहाँले भन्नुभयो, “यस्तो प्रयोग मैले तीन वर्षसम्म गरँे, ग्रिज लगाएको क्षेत्रमा फौजी किरा शून्य भएको पाएँ तर अरू केमिकल प्रयोग गरेको ठाउँमा पुनः फर्केर आएको थियो ।” यसरी आफ्नो प्रविधिमा सफल भएपछि नार्कमा धेरैजनालाई जानकारी गराएँ तर सकारात्मक प्रतिक्रिया कतैबाट नपाएको उहाँले बताउनुभयो ।