• १५ वैशाख २०८१, शनिबार

लोप हुँदै मान्छेका मित्र किराफट्याङ्ग्रा

blog

काठमाडौँ, चैत ६ गते । अन्न उत्पादन बढाउने र फूलको परागसेचन गराउन मुख्य भूमिका निर्वाह गर्ने किराफट्याङ्ग्राको सङ्ख्यामा कमी आएको छ । मानव जीवनसँग निकट सम्बन्ध राख्ने किराफट्याङ्ग्रा घट्दा त्यसले विश्वव्यापी रूपमा असर पार्ने भएकाले समयमै सचेत हुन खोजकर्ताले अनुरोध गरेका छन् । 

लामो समयदेखि युरोप र अमेरिकामा किरा कसरी लोप भइरहेको छ भन्नेबारे अध्ययन भए पनि अफ्रिका, दक्षिण अमेरिका र एसियाका धेरै क्षेत्रमा भने किरा लोप भएका बारे कमै अध्ययन भएको छ । नेपालमा पनि किरा लोप भएको बारेमा सरकारी स्तरबाट धेरै खोज हुन सकेको छैन तर त्यसको असर भने किसानलाई पर्न थालेको छ । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ किट विशेषज्ञ आरपी मैनालीले मानवीय गतिविधि विनाशकारी हुनु र जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा साना प्रजाति अर्थात् किराफट्याङ्ग्राको सङ्ख्यालाई कमी गरिरहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार जमिनमा बस्ने जीवमध्ये सबैभन्दा ठुलो सङ्ख्या किराले ओगटेको छ । किराले मानिससहित अन्य विभिन्न प्रजातिलाई सहयोग गरिरहेका छन् । किराले चरा र ससाना स्तनधारी प्राणीका लागि आहार प्रदान गर्छन् । त्यस्तै विश्वको करिब ७५ प्रतिशत बाली परागसेचन किराकै माध्यमबाट हुने गर्दछ । उहाँले भन्नुभयो, “विश्वमा ४० प्रतिशत प्रजातिका किरा नाटकीय दरमा घटिरहेका छन् । त्यसको प्रत्यक्ष असर नेपाललाई समेत परेको छ । किसानका लागि उपयोगी भएका मौरी, कमिला र गोब्रे किराका प्रजाति घट्ने क्रममा रहेको तर साङ्लो र झिँगाको सङ्ख्यामा वृद्धि भएको छ ।” लामो समयदेखि माटो तथा कृषिको क्षेत्रमा अध्ययनरत कृषि प्रसार अधिकृत कृष्ण धितालले खेतीमा भएको कीटनाशक रसायनको प्रयोग र जलवायु परिवर्तनका कारण सामान्य किराहरूमा निरन्तर कमी आइरहेको जानकारी दिनुभयो । 

किराले माटो भर्ने र कीट व्यवस्थापन गर्ने भएकाले तिनीहरूको सङ्ख्यामा कमी आउनु भनेको उत्पादनमै कमी आउनु रहेको उल्लेख गर्नुभयो । किराफट्याङ्ग्राले नै विश्वको ७५ प्रतिशत उब्जनीमा सघाउने उहाँले दाबी गर्नुभयो ।  

विश्वका सबै क्षेत्रमा किराको सङ्ख्या घट्दै जाने हो भने आगामी केही दशकमा थप ४० प्रतिशत किरा हराउने उल्लेख गर्नुभयो । विश्वमा भएका अध्ययनलाई आधार मान्ने हो भने विश्वका एक तिहाइ किराका प्रजातिलाई लोपोन्मुख भनेर वर्गीकरण गरिएको छ । 

कृषि वैज्ञानिक रेशमबहादुर थापाले कृषि क्षेत्रमा भएका अभ्यास, सहरीकरण र वन जङ्गलको विनाशका कारण किराको बसोबास गर्ने ठाउँ गुम्दै जानु नै हाल सिर्जना भएको अवस्थाको मुख्य कारण रहेको बताउनुभयो । विश्वमा नै उड्ने जातको किराको सङ्ख्यामा अरू किराको तुलनामा धेरै कमी आएको उहाँले उल्लेख गर्नुभयो ।  कृषिविज्ञ दीपक पौडेलले चरा, स्तनधारी प्राणी र माछा जस्ता जीवका लागि किरा मुख्य आहार भएकाले त्यस्ता जनावरको समेत अस्तित्व सकिने खतरा रहेको बताउनुभयो ।