• २१ वैशाख २०८१, शुक्रबार

किसान सूचीकरण अद्यावधिक गरिँदै

blog

सिलगढीमा आयोजना गरिएको किसान सूचीकरणसम्बन्धी अभिुमखिकरण कार्यक्रम । तस्विरः डिलबहादुर सिंह

डिलबहादुर सिंह

सिलगढी, चैत ५ गते । राज्यको तीनै तहबाट सञ्चालन हुने कृषि विकासका कामलाई वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले डोटी जिल्लामा किसान सूचीकरण तथा तथ्याङ्क अद्यावधिक गर्ने कार्यको सुरुवात भएको हो ।  

कृषि ज्ञान केन्द्र डोटीको समन्वयमा जिल्लाका नौ वटै स्थानीय तहका कृषि शाखा प्रमुख, कृषि प्राविधिक र पालिकामा कार्यरत सूचना प्रविधि अधिकृतलाई सूचीकरण तथा तथ्याङ्क अद्यावधिक प्रशिक्षणपश्चात् किसान सूचीकरण कामको सुरुवात गरिएको छ । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको सूचना तथा प्रशिक्षण केन्द्रबाट प्रशिक्षकका रुपमा डोटी आउनुभएका सञ्जीव पण्डितका अनुसार राष्ट्रिय तथ्याङ्क प्रणालीलाई मजबुत बनाउन, कृषकको मनोबल उच्च बनाउँदै कृषि विकासमा उत्प्रेरित गर्न सूचीकरण गर्न लागेको बताइएको छ । 

त्यस्तै, समग्र कृषि विकासलाई डिजिटल कृषि पद्धतिको रुपमा विकास गर्न,  कृषि सुशासन प्रवर्धन गर्न र खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को व्यवस्थाअनुरुप काम गर्न किसान सूचीकरण गर्न लागिएको उहाँले बताउनुभयो । प्रशिक्षक पण्डितले भन्नुभयो, “किसान सूचिकरण भएसँगै कुन किसान हो र कसले अनुदान पाउनुपर्ने हो भन्ने कुरा छुट्याउन सहज हुन्छ ।” 

जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको काम भइरहेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले किसान सूचीकरण गर्ने क्रममा राष्ट्रिय परिचयपत्र नम्बर राख्न मिल्ने ब्यवस्था हुनुपर्ने धारणा राख्नुभयो । 

सूचीकरणपश्चात् जिल्लामा कृषि क्षेत्रमा विकासका क्रियाकलाप गर्न सहज हुने बताइएको छ । कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीका अनुसार जिल्लामा  सिँचाइ अभाव भएको बाँझो जमिनमा फलफूलखेती विस्तार गर्न पहल भइरहेको छ । 

नेपालमा किसान सूचीकरण कार्य विक्रम संवत् २०७७ सालबाट सुरू भएको भए पनि डोटीमा सुरु हुन सकेको थिएन । राष्ट्रिय कृषि गणना २०७८ अनुसार डोटी जिल्लामा ३९ हजार ५७२ जना कृषक छन् ।