• १० मंसिर २०८१, सोमबार

बहुमुखी साहित्यकार ताना शर्मा

blog

तारानाथ शर्मा बहुमुखी प्रतिभासम्पन्न साहित्यकार हुनुहुन्थ्यो । उहाँको जन्म इलामको बरबोटेमा १९११ असार ९ गते भएको थियो । उहाँ साहित्यको विभिन्न विधामा आफ्नो लेखन प्रतिभाको प्रदर्शन गर्न पारङ्गत हुनुहुन्थ्यो । कथा, उपन्यास, निबन्ध, नियात्रा र समालोचनाको त सिद्धहस्त सारथि नै उहाँ हुनुहुन्थ्यो । ओझेल पर्दा, मेरो कथा, सुली, झिल्को, नेपालदेखि अमेरिकासम्म, उपन्यास दुई पोका कुरा, कथा सङ्ग्रह नमस्ते, बेलायततिर बरालिँदा, पाताल प्रवास, आँसु छचल्किँदै जान्छ, नसुनिएका ध्वनि, चरी भरर, निबन्ध सङ्ग्रहलगायत सयभन्दा बढी पुस्तकका पोख्त लेखक उहाँ हुनुहुन्थ्यो । अङ्ग्रेजी भाषामा स्नातकोत्तर र भाषा विज्ञानमा विद्यावारिधिको उपाधि हासिल विद्वान् साहित्यकार हुनुहुन्थ्यो । ‘घोत्लयाइँहरू’ र ‘भानुभक्तदेखि आयामसम्म’ यी दुई चर्चित समालोचनात्मक पुस्तक लेखेर एउटा मानक नै स्थापना गर्नुभएको थियो । यसबाहेक ‘पश्चिमका केही महान् साहित्यकारहरू’ पनि चर्चित पुस्तक मानिन्छ । 

छिमेकी मुलुक भारतको बनारसमै विद्यार्थी जीवनकालमा उहाँले बालकृष्ण पोखरेल, चूडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दाहालहरूसँग मिलेर झर्रोवादी अभियान २०१३ सालमा सुरु गरेर एउटा नयाँ कीर्तिमान स्थापित गर्नुभएको थियो । यस अभियानले गर्दा नेपालीमा संस्कृत र अन्य भाषाको शब्द समावेश नगरी शुद्ध लेखनको सुरुवात गरेर एउटा कोसेढुङ्गाको कीर्तिमान गढेर धेरै चर्चित हुनुभएको थियो । 

यस अभियानले गर्दा नेपालीमा संस्कृत र अन्य भाषाहरू समावेश नगरी शुद्ध नेपाली लेखनको पक्षधर हुनुहुन्थ्यो । यसै झर्रोवादी आन्दोलनको प्रतिफलस्वरूप उहाँले आफ्नो नाम तारानाथ शर्माबाट ‘ताना शर्मा’ राख्नुभयो, यस आन्दोलनको प्रभाव उहाँको कतिपय सङ्ग्रह जस्तै नमस्ते (विसं २०१८), जमर्काहरू विसं २०२५ र जीवनका छाल विसं २०३० मा सजिलैसित हेर्न सकिन्छ तर यस आन्दोलनको अन्त्य पनि छिटै हुन पुग्यो ।

साहित्यिक जगत्को जुनसुकै आन्दोलन अन्त्यको परिणति यसलाई पनि भयो । उहाँ अन्त्यमा यो निष्कर्षमा पुग्नुभयो, “नेपाली भाषा जिउँदो भाषा हो, यस जिउँदो भाषामा लेखिएको साहित्य जति प्यारो छ, अन्य लेखिने सहित्य पनि उत्तिकै आकर्षक हुने छ । म साहित्य मानकको भित्री मर्म चाहन्छु ।”

नेपाली वाङ्मयका सबै विधामा जस्तो कथा, उपन्यास, यात्रा संस्मरण, निबन्ध, लेखरचना, समालोचनामा उहाँको योगदान अविस्मरणीय हुन गएको छ । शर्मा प्रथमतः समालोचक नै हुनुहुन्थ्यो । तसर्थ उहाँलाई वरिष्ठ समालोचकको उपाधिबाट अलङ्कृत गरिएको छ नेपाली साहित्यमा । त्यस्तै उहाँलाई वरिष्ठ निबन्धकार र नियात्राका निपुण लेखकका रूपमा, सम्मानित साहित्यकारका रूपमा नेपाली साहित्यको सर्वश्रेष्ठ पुरस्कार मदन पुरस्कारबाट पनि सम्मानित गरिएको छ । उहाँको नियात्रा कृति बेलायततिर बरालिँदा नामक नियात्रा संस्मरणात्मक कृतिलाई २०२६ को मदन पुरस्कार प्रदान गरिएको थियो । 

यसबाहेक उहाँको पाताल प्रवास नियात्रा कृति पनि स्मरणीय हुन गएको छ । उहाँ आफ्नो लामो साहित्यिक जीवन अर्थात् सात दशकसम्म निरन्तर लेखनमा व्यतीत गरेर सधँै अविस्मरणीय साहित्यकारका रूपमा नेपाली साहित्यमा जीवित नै हुनुहुन्छ किनभने साहित्यकारको निधन हुँदैन । उहाँको योगदान अविस्मरणीय नै रहने छ । उहाँले नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट पृथ्वी प्रज्ञा पुरस्कार, साझा पुरस्कार, सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार र रन्तश्री स्वर्ण पदकबाट पनि विभूषित हुने सौभाग्य प्राप्त गर्नुभयो । 

शर्मा एउटा सफल साहित्यकार मात्र होइन, एउटा सर्वप्रिय सम्पादकका रूपमा पनि सुपरिचित हुनुहुन्थ्यो । गुरुप्रसाद मैनालीको नासो कथा सङ्ग्रह, गोपालप्रसाद रिमालको आमाको सपना, पच्चिस वर्षका नेपाली निबन्ध, समसामयिक साझा कविता जस्ता ग्रन्थको सफल सम्पादन पनि गर्नुभएको छ । 

उहाँ एउटा अनुभवी अनुवादकका रूपमा पनि परिचित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले प्रसिद्ध उपन्यासकार विशेश्वरप्रसाद कोइरालाको उपन्यास सुम्निमाको अङ्ग्रेजी अनुवाद गर्नुभएको थियो भने कवयित्री चाँदनी शाहको कविताको अङ्ग्रेजी अनुवाद पनि गरेर एउटा सफल अनुवादकका रूपमा आफूलाई अग्रसर गर्नुभएको थियो । यसबाहेक उहाँले साहित्येतिहास लेखनमा पनि आफूलाई समर्पित गर्नुभएको थियो । 

उहाँको नेपाली साहित्यको काल विभाजन शीर्षक लेख गोरखापत्र (२०२६ साल) मा प्रकाशित भएको पाइन्छ । यस विधामा उहाँको नेपाली साहित्यको इतिहास २०२७ र नेपाली साहित्यको ऐतिहासिक परिचय २०२९ गरी दुई वटा महìवपूर्ण र सधँै स्मरणीय कृतिहरू प्रकाशित छन् । यस सम्बन्धमा उहाँको भनाइ यहाँ उल्लेखनीय मान्न सकिन्छ, “यसमा पाइएसम्म पुराना साहित्यिक कृतिहरूदेखि २०२६ सालसम्म प्रकाशित भएका कृतिहरूसम्मका व्याख्या र विश्लेषण समावेश गरिएको छ । यो कृति प्रमुख रूपले विश्वविद्यालयका परीक्षार्थीका लागि आवश्यकताको परिपूर्ति गर्ने ध्येयले तयार पारिएको भए तापनि नेपाली साहित्यको ऐतिहासिकतामा रुचि राख्ने जुनसुकै प्रकारका पाठकलाई पनि सहयोगी होला भन्ने आशा छ ।” 

उहाँद्वारा लिखित नेपाली साहित्यको इतिहासमा आलोचनात्मक साहित्येतिहास लेखनकलाको प्रयोग भएको पाइन्छ । यस प्रकार उहाँ इतिहास लेखनको परम्परामा पनि पारङ्गत देखिनु हुन्छ । शर्माको ‘चरी भरर’ बाट केही पङ्क्ति उद्धृत गर्नु सान्दर्भिक नै होला जस्तो मलाई लाग्दछ; जुन चिरन्तन, चिरशाश्वत र चिरस्मरणीय हुन पुगेको छ– ‘आमा’ यस संसारमा सबैभन्दा पहिली र ठुली हुन् । सप्तशती चण्डीको प्राधनिकम र हस्यमा अङ्कितै छ, ‘सर्वस्याध्या महालक्ष्मी त्रियुणा परमेश्वरी’ अर्थात् सबैभन्दा पहिली र तीनै गुण १. जीवनदान, २. पालनपोषण तथा रक्षा र ३. शिक्षा वा भविष्य निर्देशले युक्त भएकी परम ईश्वरी महालक्ष्मी नै हुन् र मेरालागि मेरी जन्मदात्री, पालनकर्ती र शिक्षादात्री तीन–तीन मानवरूपी आमाको प्रतिनिधित्व गर्ने अर्थात् महाकाली, महालक्ष्मी र महासरस्वतीकी स्नेहमयी साक्षात् प्रतीक नेपाल माता हुन् ।  सङ्क्षेपमा उहाँको व्यक्तित्व र कृतित्वको मूल्याङ्कन यसरी गर्न सकिन्छ, “नेपाली नियात्रा साहित्यका प्रथम हस्ताक्षर तारानाथ गुरुका नमस्ते, बेलायततिर बरालिँदा, जमर्काहरू, जीवनका छाल, श्रद्धाका सुमन, पाताल प्रवास, आँसु छचल्किँदै जान्छ, नसुनिएका ध्वनि, चरी भररलगायतका पुस्तक नेपाली निबन्ध तथा नियात्रा साहित्यका अमूल्य निधि हुन् ।

त्यसै गरी उनका घोत्ल्याइँहरू पश्चिमका केही महान् साहित्यकार, सम र समका कृति, भानुभक्तदेखि तेस्रो आयामसम्म सुम्पन्न ल्याएँ । नेपाली साहित्यको इतिहास, नेपाली साहित्यको ऐतिहासिक परिचयलगायतका पुस्तकहरू नेपाली समालोचना क्षेत्रका मानक ग्रन्थ हुन्” (डा. ज्ञानु पाण्डे : मधुपर्क पूर्णाङ्क ६३३/२०२९ असार अङ्क) । यसरी नेपाली साहित्यका महान् साहित्यकार शर्माको भौतिक शरीरको अन्त्य २०७८ को फागुन ३ गते भएको छ र नेपाली सहित्य टुहुरो भएको छ ।