• १६ वैशाख २०८१, आइतबार

बाँकेमा ८४० महिलाकाे स्वास्थ्य परीक्षण गर्दा २७ जनामा क्यान्सरको लक्षण

blog

निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउन आएका महिला सेवाग्राही । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, चैत २ गते ।
बाँकेको खजुरा गाउँपालिकामा ८४० जना महिलालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य उपचार प्रदान गरिएको छ । जसमध्ये २७ जना महिलामा पाठेघरको क्यान्सरको लक्षण पाइएको छ ।

खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकाका सबै वडाका ८४० जना महिलालाई स्त्रीरोग विशेषज्ञ महिला चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको स्वास्थ्य शाखाका नर्सिङ अधिकृत लक्ष्मी केसी वलीले जानकारी दिनुभयो । वलीका अनुसार भेरी अस्पतालसँग समन्वय गरेर सञ्चालन गरिएको उक्त शिविरमा स्त्रीरोग विशेषज्ञ डा.कल्पना थापा र डा.उर्मिला पराजुलीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

उक्त निःशुल्क स्वास्थ्य शिविरमा वडा नं. १ मा १००, वडा नं. २ मा १०६, वडा नं. ३ मा ८४, वडा नं. ४ मा १०४, वडा नं. ५ मा ५९, वडा नं. ६ मा १०८, वडा नं. ७ मा १९४ जना र वडा नं. ८ मा ८५ गरी कुल ८४० जना महिलाहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको अधिकृत वलीले जानकारी दिनुभयो ।

स्वास्थ्य जाँच गरिएका ८४० जना महिलामध्ये ३५ वर्षमाथिका २५० जनाको भिआइए जाँच गर्दा २७ जनामा भिआइए पोजेटिभ (क्यान्सर शङ्कास्पद) पाइएको अधिकृत वलीले बताउनुभयो । क्यान्सर शङ्कास्पद पाइएका २७ जनालाई शिविरमै एक कोर्ष एन्टिबायोटिक प्रदान गरिएको र थप चेकजाँचका लागि सम्बन्धित अस्पताल र चिकित्सकसँग जानका लागि सल्लाह सुझाव दिइएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, नौ जना महिलामा पाठेघरको आङ खसेको समस्या पाइएको र उहाँहरुलाई शिविरमै रिङ पेसरी राखेर उपचार गरिएको उहाँले जानकारी दिनुभयो । शिविरमा १० जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने समस्या पहिचान भएपछि उहाँहरुलाई शल्यक्रियाका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा रिफर गरिएको वलीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकाका नागरिकलाई उहाँहरुका घरघरमा पुगेर निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले जनताको जनजीवन र स्वास्थ्यप्रति निकै संवेदनशील रहेको भन्दै देश र राष्ट्र समृद्ध हुनका लागि जनता स्वस्थ हुनुपर्ने बताउनुभयो । स्वस्थ भएपछि मात्र व्यक्तिले गति प्राप्त गर्दै काम गर्ने र आफूलाई आत्मनिर्भर बनाएर देसलाई समृद्धतिर लैजाने भन्दै उहाँले पालिकाका सम्पूर्ण जनताको स्वास्थ्यप्रति आफूहरु सचेत रहेको बताउँदै स्वास्थ्य सेवामा पालिकाले निकै महत्त्वपूर्ण तरिकाले काम अगाडि बढाइरहेको बताउनुभयो ।