• १२ पुस २०८१, शुक्रबार

अर्थतन्त्र सुधारमा निरन्तरता

blog

मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः हटेर अर्थतन्त्रका महत्वपूर्ण सूचक चलायमान हुन थालेको परिणाम नेपाल राष्ट्र बैङ्कको पछिल्लो सात महिनाको समीक्षामा देखाइएको छ । केन्द्रीय बैङ्कले आइतबार सार्वजनिक गरेको सात महिनाको तथ्याङ्कले मुलुकको अर्थतन्त्रमा निरन्तर सुधार हुँदै आएको देखाउनुले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य अनुरूप अगाडि बढ्न सहज हुने आकलन गरिएको छ । त्यसो त विश्वका अधिकांश मुलुकको आर्थिक परिदृश्य आशातीत सन्तोषजनक नदेखिएको अवस्थामा नेपाली अर्थतन्त्र धराशायी हुने मनोगत आर्थिक विश्लेषण नभएका भने होइनन् । यसबिचमा खस्कँदो अर्थतन्त्रलाई उकास्न सरकारले गरेको आर्थिक क्षेत्रको सुधार, नीति नियममा संशोधन एवं केन्द्रीय बैङ्कले अवलम्बन गरेको लचिलो मौद्रिक नीतिका कारण लयमै रहेको आर्थिक सूचकाङ्कले देखाउँदा पनि अर्थतन्त्रमा तीव्र दबाब भने कायमै थियो । यद्यपि सुधारिएको अर्थतन्त्रको मुख्य जग भने विप्रेषण आप्रवाह नै भएको केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ । 

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा सात खर्ब ३३ अर्ब रुपियाँ विप्रेषण आप्रवाह मुलुकमा भित्रिएकोमा पछिल्लो महिनाको समीक्षामा थप सुधारिएर आठ खर्ब ३९ अर्ब पुगेको छ । एक महिनामा एक खर्ब छ अर्ब विप्रेषण आप्रवाह वृद्धि हुनुलाई विश्लेषकहरूले मुलुकको अर्थतन्त्रमा हुँदै आएको सुधारको निरन्तरता भएको टिप्पणी गरेका छन् । केही वर्षयता मुलुकका कतिपय उद्योगधन्दा बन्द हुँदै गएको अवस्थामा बढ्दो बेरोजगारी समस्याले चौतर्फी दबाब परिरहेकै छ । रोजगारी सिर्जना गर्नेतर्फ अनेक प्रयत्न भइरहे पनि छ महिना वा वर्ष दिनमै लाखौँको जनशक्तिलाई रोजगार बनाउन सक्ने सामथ्र्य कुनै पनि सरकारसँग हुँदैन । यसै भएर नै सरकारले वैदेशिक रोजगारीतर्फ पनि जोड दिँदै आएको विदितै हुन्छ । 

वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि नयाँ नयाँ गन्तव्य मुलुकको खोजी र सुरक्षित श्रमका लागि सरकारले युरोपेली मुलुकसँग पनि श्रम सम्झौता गरेर सुरक्षित गन्तव्य विस्तारको ढोका खोलेको छ । सरकारले युरोपका विभिन्न मुलुक जापान, दक्षिण कोरियालगायतसँग श्रम सम्झौता गरेर नेपाली श्रमिकका लागि सुरक्षित रोजगारी वृद्धि गर्न सफल भएको छ । दैनिकै दुई हजार पाँच सयको हाराहारीमा वैदेशिक रोजगारीमा गइरहेको नेपाली जनशक्ति नै मुलुकको अर्थतन्त्रलाई धराशायी हुनबाट जोगाउने मेरुदण्ड भएको साबित भइसकेको छ ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ५८ हजार ५४० रहेको छ । खाडी मुलुकतर्फ मात्र नभई अन्य मुलुकतर्फ पनि नेपाली जनशक्ति गइरहेका कारण सङ्ख्या वृद्धिसँगै विप्रेषण आप्रवाह निरन्तर बढेको तथ्याङ्कले देखाउनु स्वाभाविक हुन आउँछ । यसै गरी चालु आवको सात महिनामा विस्तृत मुद्रा प्रदाय ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने मुद्रा प्रदाय ४.६ प्रतिशतमा सीमित थियो । केन्द्रीय बैङ्कको समीक्षामा खुद वैदेशिक सम्पत्तितर्फ अघिल्लो सोही अवधिको भन्दा २०.४ प्रतिशतले वृद्धि भई दुई खर्ब ९७ अर्ब ७२ करोड पुगेको उल्लेख छ । यसै गरी विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेकाले वस्तु आयाततर्फ सरकारलाई पर्न सक्ने दबाब झेल्न असहज नहुने सकारात्मक टिप्पणी आर्थिक विश्लेषकहरूको आउनुले सरकारलाई आशातीत सफलता मिलेको छ । 

मुलुकको अर्थतन्त्रमा निरन्तर सुधार हुनुको अर्को सकारात्मक पक्ष भनेको विदेशी लगानीमा वृद्धि पनि हो । लगानीका लागि अनुकूल वातावरण बन्नुका साथै नीतिगत सुधार र सरकारले विश्वमञ्चमा गर्दै आएको आह्वानका कारण वैदेशिक लगानी बढ्दै गएकोे छ । चालु आवको सुरुवातदेखि नै लगानी प्रतिबद्धता वृद्धिसँगै भित्रिने रकम पनि वृद्धि भएको छ । नेपालमा लगानीका लागि अनुकूल वातावरणका साथै नीतिगत सुधार पनि भएकाले वैदेशिक लगानी बढ्दै गएको 

तथ्याङ्कबाट पुष्टि हुन्छ  । चालु आवको सात महिनामा पाँच अर्ब १८ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । जब कि गत वर्षको सोही अवधिमा एक अर्ब चार करोड मात्र लगानी भित्रिएको थियो । यसरी वृद्धि हुनुमा लगानीको सुनिश्चितता भएको, उदीयमान अर्थतन्त्र, छिमेकी बजार सम्भाव्यता र विश्व परिवेश अनुरूपका क्षेत्र पहिचान गरेर लगानीकर्ता आकर्षित हुन थालेको विज्ञहरूको भनाइ मननीय हुन आउँछ । विषम परिस्थितिमा पनि अर्थतन्त्रलाई लयमा कायम राख्न सरकारलाई सफलता मिलेकाले मुलुकको अबको समृद्धि यात्राले गति लिने विश्वास गर्न सकिन्छ ।