• १६ वैशाख २०८१, आइतबार

धनगढीमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’

blog

रानाथारु कला संस्कृति ।

अत्तरिया (कैलाली), फागुन १९ गते । कैलालीको धनगढीमा सुदूरपश्चिम ‘प्रादेशिक ललितकला प्रदर्शनी’ हुने भएको छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन २० गतेदेखि २४ गतेसम्म ‘प्रादेशिक ललितकला प्रदर्शनी’ हुन लागेको हो ।

ललितकला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको तथा प्रदर्शनीमा दुई सयबढी कलाकारका कलाकृति प्रदर्शनीमा रहने सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइतबारदेखि सुरु हुने प्रदर्शनीको तयारी पूरा भएको छ । प्रदेशका नौ वटै जिल्लाका करिब दुई सयबढी कलाकारका कलाकृति हामी कहाँ आइसकेका छन् । रानाथारु कला संस्कृतिका पनि कलाकृति प्रदर्शनीका लागि आएका छन् ।” 

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक हुन लागेको ललितकला प्रदर्शनीमा पाँच वटा विधा रहेका जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच विधाहरूमा हस्तकला, चित्रकला, मूर्तिकला, वास्तुकला र लोककला रहेका छन् । प्रदर्शनीबाट एउटा विधाबाट तीन कलाकारका कलाकृति छनोट गरेर राष्ट्रिय ललितकला प्रदर्शनीमा लगिने उपकुलपति डा.जोशीको भनाइ छ । प्रदेशका विभिन्न ठाउँमा लुकेर रहेका कलाकृतिलाई उजागर गर्ने उद्देश्यले ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गर्न लागिएको उहाँले बताउनुभयो । 

“यहाँ धेरै कलाकृति लुकेर बसेका छन् । प्राथमिकता पाएका छैनन् । यहाँका कलालाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा चिनाउने हाम्रो मुख्य उद्देश्य हो”, उपकुलपति डा.जोशीले भन्नुभयो, “पहिलो पटक भएकाले प्रदेशभरि नै सबै ठाउँमा भ्याउने प्रयास गरेका छौँ । सबै क्षेत्रमा पुग्ने हाम्रो प्रयास सफल नभए पनि समग्रमा सफल नै भएका छौँ । धेरै कलाकारका कलाकृति समेटिएका छन् । अर्को वर्षदेखि दायरा बढाउँदै लैजान्छौँ ।”

सङ्घीयताको मर्मअनुसार प्रदेशस्तरमा गएर ललितकला प्रदर्शनी गर्न लागिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो । “पहिले केन्द्रमा प्रदर्शनी आयोजना गर्दा प्रदेशबाट तीन÷चार वटा मात्रै कलाकृति प्रदर्शनीमा जान्थे । भौगोलिक विकटता, आर्थिक अभावका कारण सबै जान सक्दैनथे”, उहाँले भन्नुभयो, “प्रदेशमै गएर कलाकार छनोट गर्दा राज्यको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवधारणाअनुसार संस्कृति पनि समावेशी र समानुपातिक हुने भएकाले प्रदेशमै प्रदर्शनी गर्न लागेका हौँ ।” विभिन्न जातजाति, समुदाय, क्षेत्रका कलासंस्कृति समावेश भएमात्रै राष्ट्रिय संस्कृति हुन्छ भन्ने अर्थबाट प्रदेशस्तरीय कला प्रदर्शनी गरेर जनसमुदायस्तरबाटै कलाकार छनोट गर्न लागिएको कुलपति हार्तम्छालीको भनाइ छ । रासस