बैतडी समाचारदाता
बैतडी, चैत १८ गते । जिल्लामा पछिल्लो समय दलित महिला नेतृत्व तहमा पुग्न थालेका छन् । राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र कर्मचारी क्षेत्रमा दलित पुरुषको सहभागिता बढ्न थालेका बेला दलित महिला पनि नेतृत्वमा पुग्न थालेका छन् ।
पछिल्लो पटक मेलौली नगरपाकिला–६ की स्थानीय इन्द्रा विश्वकर्मा (पोखरेल) सोही वडाको हतरङ्गास्थित जगदम्बा माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा पुग्नुभएको छ ।
उहाँलाई नगरपालिकाको शिक्षा शाखाले प्राधानाध्यापकको जिम्मेवारी दिएको हो । शिक्षामा स्नातकोत्तर इन्द्राले प्रधानाध्यापकको जिम्मेवारी इमानदारीपूर्वक समाल्ने बताउनुभयो ।
गएको सात वर्षदेखि सोही विद्यालयमा कार्यरत रहनुभएकी उहाँलाई नगरपालिकाले थप प्रअको जिम्मेवारी दिएपछि अभिभावक खुसी भएका छन् । विद्यालयलाई जग्गा दान गर्ने स्थानीय चिन्तामणि भट्टले दलित महिला प्रधानाध्यापकको जिम्मेवारीमा पुग्दा खुसी लागेको बताउनुभयो । अभिभावकसमेत रहनुभएका भट्टले विद्यालयमा दलित महिला पहिलो पटक नेतृत्वमा पुगेको बताउनुभयो । पछिल्लो समय शिक्षा क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । तथ्याङ्क अनुसार जिल्लामा ५३४ वटा सामुदायिक विद्यालय रहेकोमा ८४ जना महिला प्रधानाध्यापक छन् । जसमा नौ जना दलित महिला प्रधानाध्यापक छन् ।
दलित पुरुष दस जना
जिल्लाका सामुदायिक विद्यालयमध्ये १० वटा विद्यालयमा दलित पुरुष प्रधानाध्यापक रहेका छन् । शिक्षाका क्षेत्रमा जिल्लाको पुर्चौडी नगरपालिका–७ का दिनेश नागरी नगरपालिकाको शिक्षा शाखा प्रमुख हुँदै अहिले स्थानीय गलिनाथ माविको प्रधानाध्यापकको नेतृत्व गरिरहनुभएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार बैतडीको कुल जनसङ्ख्या दुई लाख ४२ हजार १५७ रहेको छ । योमध्ये दलितको जनसङ्ख्या ५३ हजार २७४ रहेको छ ।