• १३ साउन २०८१, आइतबार

दुधको भुक्तानी माग्दै विरोध प्रदर्शन

blog

दुध खन्याएर विरोध प्रदर्शन गर्दै किसान । तस्बिर– मीना कंडेल

मीना कंडेल

कावासोती, फागुन १७ गते । पूर्वी नवलपरासीका किसानले दुधको भुक्तानी नपाएको भन्दै सडकमा दुध खन्याएर विरोध प्रदर्शन गरेका छन् । किसानले ‘मिल्क होलिडे’ बन्द हुनुपर्ने र दुधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने माग गर्दै बिहीबार कावासोतीमा पूर्व–पश्चिम राजमार्ग दुई घण्टा अवरुद्ध गरी विरोध प्रदर्शन गरेका हुन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ नवलपुरका अध्यक्ष गोपाल श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्ना मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको र माग पुरा नभएपछि सडकमा दुध पोखेर चक्का जाम गरेको बताउनुभयो । 

जिल्लामा १५ हजार दुग्ध किसानको दैनिक ५० हजार लिटर दुध सङ्कलन हुने गरेको छ । जसमध्ये ६० प्रतिशत मात्र खपत भएको छ । ४० प्रतिशत किसानले पोख्नुपर्ने अवस्था आएको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ । 

किसानले विगत ६ महिनादेखि किसानले भुक्तानी नपाएको गुनासो गरेका छन् । दुग्ध सहकारी सङ्घका अनुसार किसानले १५ करोडभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको छ । किसानले आफ्नो मिहिनेतको भुक्तानी नपाएसम्म आन्दोलन जारी राख्ने कावासोती –१ का किसान हरि तिमिल्सेनाले बताउनुभयो ।

किसानले उत्पादन गरेको सम्पूर्ण दुध खरिद गर्ने व्यवस्था मिलाउन, दुधको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, भारतबाट दुध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दुधको खरिदमूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न किसानले माग गर्दैआएका छन् ।