• २७ वैशाख २०८२, शनिबार

महिला टी–२० विश्वकप छनोट : बहराइनमाथि नेपालको सहज जित

blog

नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, वैशाख २७ गते । नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा बहराइनमाथि सहज जित निकालेको छ । थाइल्यान्डको ट्रेडथाइ क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले बहराइनलाई नौ विकेटले हरायो । 

जितसँगै समूह ‘सी’ मा दुई खेलबाट तीन अङ्क बनाएको नेपाल तालिकाको शीर्ष स्थानमा छ । नेपाल र हङकङबिचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

जितका लागि बहराइनले दिएको ४२ रनको लक्ष्य पछ्याएको नेपाल ४.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो । वर्षाको कारण टसमा ढिला भएकोले खेल पाँच ओभरमा झारिएको थियो । 

नेपालका लागि कविता कुँवरले सर्वाधिक १८ रन बनाउनुभयो । यस्तै सम्झान खड्काले अविजित १३ र कप्तान इन्दु बर्माले अविजित सात रन बनाउनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित पाँच ओभरमा एक विकेटको क्षतिमा ४१ रन बनाएको थियो ।

बहराइनका लागि दीपिका रसंगिकाले अविजित ३४ र थरङ गजनायकेले तीन रन बनाउनुभयो । बलिङमा नेपालकी पूजा महतोले एक विकेट लिनुभयो । नेपालले तेस्रो खेल मङ्गलबार हङकङसँग खेल्ने छ ।