• १६ वैशाख २०८१, आइतबार

१४ लाख घरपालुवा बंगुर स्वाइन फिभरको उच्च जोखिममा

blog

काठमाडौं, फागुन १७ गते । पछिल्लो समय देशका विभिन्न भागमा अफ्रिकन स्वाइन फिभर तीव्र गतिमा फैलिरहेको छ । यो वर्ष गण्डकी र बागमती प्रदेशका केही जिल्लाहरूमा यो रोग पुष्टि भइसकेको छ । हालसम्म देशका २८ जिल्लाका बङ्गुर, सुँगुर, बँदेलमा यो रोगको सङ्क्रमण फैलिसकेको छ ।

यो रोग नेपालमा पहिलो पटक २०७९ मा देखा परेको थियो । पशु चिकित्सा परिषद्का रजिष्ट्रार डा. मनोजकुमार शाहीले करिब १४ लाख घरपालुवा बङ्गुर मात्र नभई जङ्गली बँदेल समेत उच्च जोखिममा रहेको अनुमान गर्नुभयो ।

त्यस्तै, करिब चार लाख किसान परिवारले गर्दैआएको बंगुरपालन पेसा अहिले  सङ्कटग्रस्त अवस्थामा पुगेको परिषद्को ठहर छ । परिषद्का डा. शाहीका अनुसार यो रोगका कारण गत वर्षदेखि नेपालबाट बङ्गुर तथा बङ्गुरको मासु निर्यात समेत बन्द भइरहेको छ भने नेपालमा वार्षिक उत्पादन हुँदै आएको करिब ३६ हजार मेट्रिकटन बराबरको बङ्गुरको मासु उत्पादनमा ह्रास आई आगामी वर्षहरूमा आयात गर्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ । 

गण्डकी प्रदेशका चार जिल्लामा उक्त रोग फैलिई १६ हजार पाँचसय ५४ बङ्गुरहरू मरेको र त्यसका कारण करिब ५० करोड बराबरको आर्थिक नोक्सानी भएको परिषद्को भनाइ छ । समयमै रोग नियन्त्रण गरिएन भने यो रोगबाट ४० प्रतिशत बङ्गुर थप सङ्क्रमित हुने र सङ्क्रमितमध्ये ६६ प्रतिशत भन्दा बढी मर्ने अनुमान परिषद्ले गरेको छ । 

पशुसेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार गण्डकी प्रदेशमा मात्रै यो आर्थिक वर्षमा हालसम्म एकसय आठ पशु सङ्क्रमित भएका छन् भने १७९ पशु मरिसकेका छन् । हालसम्म महामारी फैलिएका जिल्लामा ७४४ पशु जोखिममा रहेको उहाँको भनाइ छ ।  

डा. ढकालका अनुसार अफ्रिकन स्वाइन फिभर बङ्गुर, सुँगुर, बँदेलमा भाइरसबाट लाग्ने सङ्क्रामक रोग हो । यो रोगको सङ्क्रमणले सतप्रतिसतसम्म पशुको मृत्यु हुने डा. ढकालको भनाइ छ । डा. ढकालका अनुसार यो रोग सङ्क्रामक भए पनि पशुबाट मानिसमा भने सर्दैन ।  

पशुमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, नाकबाट फिँज निकाल्ने, झोक्राउने, दानापानी खाना छोड्ने, सास फेर्न गाह्रो हुने, दिसामा रगत देखिनेजस्ता लक्षण देखिने डा. ढकालको भनाइ छ । 

सङ्क्रमित बङ्गुर, सुँगुर र बँदेलबिच प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्ने गर्छ । उहाँ भन्नहुन्छ, “रोगी पशुको र्‍याल, रगत, मलमूत्र, मासु वा यिनीहरूको लसपसमा आएका दानापानीलगायतका सामग्री मार्फत, रोगी बङ्गुर, सुँगुर र बँदेलको ओसारपसार किनबेचमार्फत, सङ्क्रमित खोरमा गएको मानिसहरूको कपडा जुत्ता, चप्पल आदि मार्फत यो रोग सर्छ ।” 

विश्व पशु स्वास्थ्य सङ्गठनले हालसम्म कुनै पनि खोपको सिफारिस नगरेकोले हालसम्म रोगको प्रभावकारी उपचार छैन । त्यसैले रोगको मृत्युदर उच्च रहेकोले रोग नियन्त्रण गर्न चुनौती रहेको डा. ढकाल बताउनुहुन्छ । यो रोगबाट बच्ने एक मात्र उपाय भनेको रोग लाग्नै नदिनु हो । यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसारमा रोक लगाएको डा. ढकालले बताउनुभयो ।

बङ्गुर, सुँगुर र बँदेल खोरमा मानिसहरूको अनावश्यक आवतजावत नगर्ने, होटल, रेष्टुरेन्टबाट फालिएका खानेकुरा बङ्गुर, सुँगुर र बँदेललाई राम्रोसँग पकाएर मात्र खुवाउन डा. ढकालको सुझाव छ ।

  

बङ्गुर, सुँगुर, बँदेलको मासु, सुकुटी तथा वातावरणमा भाइरस लामो समयसम्म बाच्ने भएकोले मरेका बङ्गुर र बँदेललाई गहिरो खाडल खनी गाड्न डा. ढकालले आग्रह गर्नुभयो । बथानबाट ल्याइएका बङ्गुर, सुँगुर र बँदेललाई २१ दिनपछि मात्र बथानमा मिसाउन उहाँले सुझाव दिनुभयो ।

अफ्रिकन स्वाइन फिभर नियन्त्रणमा सरकारको तयारीको विषयमा केन्द्रित भई पशुसेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालसँग गोरखापत्र अनलाइनका लागि तयार पारिएको भिडियो संवाद:

भिडियो : मनोजरत्न शाही र केशव गुरुङ


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।