• ११ कात्तिक २०८२, मङ्गलबार

लेक लागेर कर्मचारीको मृत्यु

blog

जिल्ला प्रहरी कार्यालय मुस्ताङ ।

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), कात्तिक ११ गते ।
मुस्ताङमा घुम्न गएका एक नेपाली तिर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । दसैँतिहारको बिदामा विद्यालयको शैक्षिक भ्रमणको क्रममा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने बेलामा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटी बस्ने ४५ वर्षीय माधव तिमिल्सिनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो ।

भैसेपाटीस्थित निर्मल सेकेन्डरी स्कुलमा कार्यालय सहयोगीको रुपमा कार्यरत तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएपछि प्रदेश अस्पताल जोमसोममा लगिएको थियो ।

प्रनाउ लामाले भन्नुभयो, ‘‘मृतकका आफन्त आउँदै हुनुहुन्छ, भोली पोष्टमार्टम गरी जिम्मा लगाउँछौँ ।’’ विद्यालयका प्रशासक डेबिड सुब्बाका अनुसार होटलमा अचानक बेहोस भएपछि बोल्न नसक्ने अवस्थामा अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले दिउँसो करिब १ बजे मृत घोषित गरेका थिए । मुस्ताङमा गएको असोज महिनामा लेक लागेर दुई नेपालीको ज्यान गएको छ ।

चालु आर्थिक बर्ष २०८२/०८३ मा मुस्ताङमा साउन महिनामा १४ जना, भदौमा ४३ जना र असोज महिनामा ७८ जना लेक लागेर बिरामी भएको थिए भने कात्तिक महिनामा समेत अत्याधिक पर्यटक भित्रिएको मुस्ताङमा समान्य औषधी सेवनका लागि अस्पतालमा गएको बाहेक एक जना बिरामीलाई तत्काल हवाइ मार्गबाट पोखरा पठाइएको थियो । ज्येष्ठ नागरिक, दीर्घरोगी तथा सिजनल रोगबाट ग्रसित भएको अवस्थामा प्रतिकुल हावापानीमा यात्रा गर्दा पर्यटकलाई लेक लाग्ने गरेको छ ।

लेक लागेका पर्यटकलाई टाउको हल्का दुख्नु, थकाइ र रिङ्टा लाग्नु पहिलो लक्षण हुन् भने हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरु खानुपर्ने र शरीरमा असहज महुसस भए तत्कालै आफुँ भएको भन्दा तल्लो क्षेत्रमा फर्किएर स्वास्थ्य संस्थामा जानुपर्ने स्वास्थ्यकर्मीको भनाई छ । समयमै लेक लागेकाहरूले सतर्क भएर यसबाट बच्ने उपाय र उपचार गरेमा निको हुन्छ । पर्यटकले हेल्चेक्राई गरी लेक लागेको क्षेत्रमै बसेमा वा माथि उचाइमा जाने प्रयास गरेमा मस्तिष्क वा फोक्सो सुन्निने खतरा हुन्छ । गतवर्ष लेक लागेर १३ पर्यटकको मृत्यु भएकोमा तल्लो मुस्ताङमा थिए भने चार वर्षको अवधिमा हालसम्म ४७ जना पर्यटकलले लेक लागेर ज्यान गुमाएका छन् ।