• ६ वैशाख २०८१, बिहिबार

फिनल्याण्ड किन तटस्थता त्याग्दै छ ?

blog

युरोपको नर्डिक क्षेत्रमा अवस्थित देश फिनल्याण्ड यतिखेर नव–निर्वाचित राष्ट्रपतिको कार्यकाल आरम्भको प्रतीक्षामा छ । यही फागुन १८ गते (१ मार्च) का दिन राजधानी सहर हेलसिन्कीमा शपथग्रहण गरेसँगै ५५ वर्षीय अलेक्जान्डर स्टबको छ वर्षको कार्यकाल प्रारम्भ हुने छ । सन् २००० मा जारी भएको संविधानले नै राष्ट्रपतिको कार्यारम्भ गर्ने दिन र कार्यावधि तोकिदिएको छ । निर्वाचित भएमा स्टबले अर्को एक कार्यकाल त्यस पदमा रहन पाउने छन् ।

पहिलो चरणको मतदानमा नौ उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत पाउन नसकेको हुनाले ११ फेब्रुअरीका दिन मैदानमा बाँकी दुई उम्मेदवारमध्ये एक जनालाई चयन गर्न पुनः मतदान भयो, जसमा खसेको मतको ५१.६ प्रतिशत स्टबको पक्षमा गयो । करिब ५६ लाख जनसङ्ख्या भएको फिनल्याण्डमा झन्डै ४० लाख मतदाता छन् । 

दाहिनेको जित

प्रतिस्पर्धामा रहेका दुईमध्ये स्टब पूर्वप्रधानमन्त्री हुन् भने अर्का उम्मेदवार पेक्का हाभिस्टो पूर्वपरराष्ट्रमन्त्री । राजनीतिक मान्यताको आधारमा हेर्दा स्टब केन्द्रबाट दाहिने ढल्केको ‘नेसनल कोएलिसन पार्टी’ का र उनका प्रतिद्वन्द्वी हाभिस्टो देब्रेतिर उन्मुख ‘ग्रिन’ पार्टीका नेता हुन् । यसले वैचारिक अन्तर देखाउँछ तर त्यहाँ अतिवाद भने छैन । 

प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुने हुनाले यहाँका राष्ट्रपति अन्य कतिपय युरोपेली देशका राष्ट्राध्यक्षको दाँजोमा शक्तिशाली हुन्छन् । संविधानले उनलाई राष्ट्रिय सुरक्षा र परराष्ट्र नीति निर्धारणको मामिलामा मार्गदर्शन गर्ने अधिकार प्रदान गरेको छ । राष्ट्रप्रमुख सेनाको सर्वोच्च कमान्डर पनि हुने व्यवस्था छ । त्यसै गरी, उनले प्रत्यक्ष निर्वाचनबाटै चुनिएका प्रधानमन्त्रीसँग सामञ्जस्य राखेर काम गर्छन् । हाल बहाल रहेका राष्ट्रपति साउली निनिस्टो दुवै कार्यकालमा सजग र सक्रिय रहेकाले लोकप्रिय नेता मानिन्छन् । खास गरेर आजभन्दा दुई वर्षअघि (२४ फेब्रुअरी २०२२) रुसले युक्रेनमा आक्रमण गरेपछि सहसा थपिएको सुरक्षा जोखिमबाट आफ्नो देशलाई जोगाउन सरकारले प्रभावकारी सुरक्षा रणनीति अख्तियार गरेको छ । तदनुसार, रुससँगको १,३४० किलोमिटर लामो सिमानामा तार–बार लगाउनाको साथै रुसी नागरिकहरूको आवतजावतमा कडाइ गर्न थालिएको छ । 

यसै क्रममा, फिनल्याण्डको परराष्ट्रनीतिले कोल्टे फेर्न पुगेको छ । कुनै रुसी वा पश्चिमा सैनिक गठबन्धनमा नबस्ने र ‘तटस्थ’ रहने परम्परागत नीति त्यागेर यसले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता लिएको छ । युक्रेन उपरको रुसी हमलापश्चात् फिनल्याण्डलाई तटस्थ राख्नु उचित हुँदैन भनेर सरकारले सन् २०२३ अप्रिलमा देशलाई नेटोमा प्रवेश गराएको हो । भन्नु परोइन, यस कामलाई रुसले भने सहज रूपले लिएको छैन । फिनल्याण्ड चाहिँ युक्रेनमाथिको सैनिक कारबाही नरोकिएसम्म रुससँग सामान्य सम्बन्ध राख्न अनिच्छुक देखिन्छ । रुस पनि आफूसँग वैरभाव गर्ने छिमेकीसित सजग रहने नै भयो । तथापि मास्को के अपेक्षा गर्दै छ भने राष्ट्रपति स्टबले रुससितको सम्बन्धमा ‘सन्तुलित दृष्टिकोण’ राख्ने छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभको यस अपेक्षालाई हालैका दिनमा पश्चिमा सञ्चार माध्यमले उल्लेख गर्दै आएका छन् । निर्वाचनपछि एक प्रसङ्गमा स्टबले ‘रुससँग मिलेर शान्तिका लागि काम गर्ने’ आशय पनि प्रकट गरेको हुनाले क्रेमलिनका प्रवक्ता सकारात्मक भएका होलान् तर एकअर्काप्रतिको शङ्का हत्पति हट्ने देखिन्न ।

चतुर कूटनीतिज्ञ

नवनिर्वाचित राष्ट्रपति स्टबले नयाँ चुनौतीहरूको सामना गर्नुपर्ने स्थिति छ र यी हाँकहरू मूलतः राष्ट्रिय सुरक्षासित गाँसिएका छन् । तर बलियो राजनीतिक पृष्ठभूमि भएको हुँदा स्टब एक प्रभावकारी अभिभावक हुने फिन नागरिकहरूको अपेक्षा छ । विगतमा पार्टीको नेता, संसद्‍–सदस्य, युरोपेली संसद्को सदस्य, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसमेत भएर काम गरिसकेको हुनाले स्टबलाई परिपक्व र भरोसालायक राष्ट्राध्यक्ष हुने ठानिएको छ । स्टब अङ्ग्रेजी, फ्रान्सिसी, जर्मन, फिनिस र स्वेडिस गरी पाँच वटा भाषामा आत्मविश्वासका साथ दोहोरो वार्ता गर्न सक्ने कूटनीतिज्ञ मानिन्छन् । प्रेससँग नजिक रहने उनको बानीमा भने आगामी समयमा परिवर्तन आउन सक्छ । उनी अब संयमित र गम्भीर हुने प्रयत्न गर्लान् ।

परिवर्तित विश्व परिस्थितिमा फिनल्याण्डको स्वाधीनताको रक्षा गर्न राष्ट्रपतिले प्राथमिकताहरू तय गर्नुपर्ने छ । त्यसका लागि आवश्यक तयारी भइरहेको सङ्केत प्रेस विवरणहरूले दिएका छन् ।

सन् १९९५ मा अस्ट्रिया र स्विडेनसँगै युरोपेली सङ्घ (ईयु) को सदस्यता लिएको फिनल्याण्ड अहिले नेटोसँगको सम्बन्ध सुदृढ तुल्याउन तन्मयका साथ लागिपरेको छ । विगतमा तटस्थ राष्ट्रको चिनारी बनाउँदै आएको स्विडेनले पनि त्यो बाटो छोडी हालै आएर नेटोको सदस्यता लिएको छ । स्विडेन नेटोको ३२ औँ सदस्य हुँदै छ । दोस्रो विश्वयुद्धपछि पश्चिमा नेतृत्वले गठन गरेको नेटो अमेरिकामा डोनाल्ड ट्रम्पको प्रशासनकालमा केही कमजोर भएको थियो । कदाचित् ट्रम्प फेरि सत्तामा आए भने नेटोलाई नकारात्मक असर पर्न सक्ने चिन्ता आफ्नो ठाउँमा छँदै छ । परन्तु यो चिन्ता सम्पूर्ण युरोपको हो, फिनल्याण्डको मात्र होइन ।  

अलेक्जान्डर स्टब फिनल्याण्डको अन्तर्राष्ट्रिय परिवेशमा पनि रमाउने व्यक्तित्व हुन् । उनको भद्रताबारे धेरै मानिस जानकार छन् । आफ्नो देशको सामाजिक वातावरण खुकुलो भए तापनि स्टब नैतिक, चारित्रिक मान्यताहरू विपरीत हिँड्न अनिच्छुक देखिन्छन् । युरोन्युज टिभी अनुसार, यसपालिको चुनावमा स्टबका प्रतिद्वन्द्वी हाभिस्टोलाई कतिपय मतदाताले ‘समलिङ्गी सम्बन्ध रुचाउने पुरुष असल नेता हुन सक्दैन’ भनेर उनलाई मत नदिने सङ्केत चुनावअगावै गरेका थिए । राष्ट्रपति हुने तेस्रो पटकको प्रयास पनि विफल भएकोले उनी राजनीति नै छोड्ने मानसिकतामा पुगेको चर्चा पश्चिमी माध्यमहरूमा पाइन्छ । 

भद्रता एउटा पाटो हो तर यसको तात्पर्य स्टब साहसिक छैनन् भन्ने चाहिँ होइन । उनको आँट र चातुर्यबारे देशभित्र र देशबाहिर दुवैतर्फको कूटनीतिक वृत्त परिचित छ । रुस र पश्चिमी युरोपलाई एकआपसमा जुध्न नदिने फिनल्याण्डको भौगोलिक अवस्थितिको सन्दर्भमा स्टबको यो भनाइले गहन महìव राख्छ :– हामी सुरक्षा प्रदायक हौँ, उपभोक्ता होइनौँ ।’ (वी आर ए सेक्युरिटी प्रोभाइडर, नट् ए सेक्युरिटी कन्ज्युमर) । 

अनुकरणीय उदाहरण

सन् १९१७ मा स्विडेनबाट अलग भई स्थापित देश फिनल्याण्ड एकाएक आजको मजबुत अवस्थामा आइपुगेको होइन– मलेसियाबाट सन् १९६५ मा निर्माण भएको सिङ्गापुर जस्तै । सङ्घर्षका लामा चरणहरू पार गर्नु परेको थियो । सन् १९३९–४५ मा त्यस बखतको सोभियत सङ्घविरुद्ध ‘हिउँदे लडाइँ’ हुँदा फिनल्याण्डले ८७ हजार मानिस गुमाउनु परेको थियो जुन कुल जनसङ्ख्याको २.३ प्रतिशत हुन आउँथ्यो । साथै, सन् १९४८ अप्रिलमा सोभियत सङ्घसित असमान सन्धि गर्नु परेको थियो जसको तुलना सन् १९५० को नेपाल–भारत सन्धिसँग गर्न सकिन्छ । 

‘राष्ट्र भन्ने भावना निर्माण गरिन्छ, यो स्वतः जन्मिने होइन,’ ख्यातिप्राप्त फिन कूटनीतिज्ञ म्याक्स ज्याकोब्सनले सन् १९८७ मा प्रकाशित पुस्तकमा लेखेका छन् । यिनी सन् १९७१ मा संयुक्त राष्ट्रसङ्घको महासचिव पदका लागि नर्डिक देशहरूको तर्फबाट उम्मेदवार पनि भएका थिए तर सोभियत सङ्घले भिटो प्रयोग गरिदिनाले उनको प्रयास खेर गयो ।   

संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्य बराबरको क्षेत्रफल भएको फिनल्याण्ड जनसङ्ख्याको कोणबाट सानो देखिन्छ तर त्यसको सापोनापो फिन नागरिकहरूले पाइने असाधारण एकताभावको प्रदर्शनद्वारा गर्दै आएका छन् । यस कुराको पुष्टि हुने एउटा घटनाको उल्लेख ४२ औँ अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको संस्मरण (पुस्तक) मा भेटिन्छ । राष्ट्रपति हुनुभन्दा बिस वर्षभन्दा अघि बेलायतको अक्सफोर्डमा विद्यार्थी छँदाको प्रसङ्ग रहेछ । लेख्छन्– व्रिmसमसताका ४०–दिने बिदामा युरोप डुल्न निस्कँदाको कुरो हो । स्विडेनमा २/३ दिन बिताएपछि एकदिन बेलुकी हेलसिन्की जाने पानीजहाजमा चढेँ । एउटा कुनाको मेचमा बसेर कफी पिउँदै किताब पढेर बसेको थिएँ, त्यस्तैमा पेय पदार्थ बिक्री गर्ने ‘बार’ छेउ मदिराले मातेका दुई केटाहरू झगडा गर्न लागे । नजिकै एक केटी पनि देखिन्थिन् । झगडा चर्कियो र रगतपच्छे हुने गरी कुटाकुट भयो । जहाजका कर्मचारीहरू त्यहाँ आए तर तमासा हेरेर पो बस्छन् ! ‘यो त ठिक भएन’ भनेर म उठेर तिनको नजिक जाँदै थिएँ एक जना जहाज कर्मचारीले १० फिट वरै रोक्यो । अनि भन्यो, यिनलाई छुट्याउने पहल गर्‍यौ भने यी दुवै तिमीमाथि नै जाइलाग्ने छन्  र हामी पनि यिनैलाई साथ दिने छौँ ! आश्चर्य लाग्यो र सोधेँ किन र ? उसले मुस्कुराउँदै जवाफ दियो, हामी त फिन हौँ नि ।’ अर्थात् आपसमा त लडभिड गरौँला तर बाहिरी हस्तक्षेप सहन गर्दैनौँ । मिलेर प्रतिवाद गर्छौं; मिलेरै प्रतिकार पनि गर्छौं ।