अमरराज नहर्की
तनहुँ, चैत २६ गते । नेपाली सेनाका भूतपूर्व सैनिक तथा तिनका आश्रित परिवारले स्वास्थ्य सेवालाई स्थानीय स्तरमै विस्तार गर्न माग गरेका छन् । तनहुँको खैरेनीटारमा आयोजित गण्डकी प्रदेशस्तरीय भूपू सैनिक सम्मेलनका क्रममा सहभागीले उमेर ढल्किँदै जाँदा अस्पताल धाउनुपर्ने बाध्यता मुख्य चुनौती बनेको गुनासो गरे ।
सम्मेलनमा सहभागी अवकाश प्राप्त सैनिक विक्रम पुलामीले जटिल उपचारका लागि काठमाडौँस्थित सैनिक अस्पताल नै पुग्नुपर्ने बाध्यता अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सामान्य शल्यक्रिया र जटिल उपचारका लागि पनि काठमाडौँ नै ताक्नुपर्छ । स्थानीय स्तरमा रहेका सैनिक फिल्ड अस्पतालहरूमा विशेषज्ञ चिकित्सक र शल्यक्रियाको सुविधा थपिए हामीलाई ठुलो राहत हुने थियो ।”
अर्की सहभागी लीलावती थापाले सैनिक कल्याणकारी कोषमार्फत प्राप्त हुने स्वास्थ्य सुविधा दुर्गमका गाउँसम्म पुर्याउनुपर्ने माग गर्नुभयो । उमेर र भौगोलिक विकटताका कारण धेरै पूर्वसैनिक सुविधायुक्त अस्पतालसम्म पुग्न नसकेको उनीहरूको भनाइ छ । सम्मेलनमा सहभागीहरूले नागरिक अस्पतालहरूसँगको समन्वयमा जिल्ला–जिल्लामै उपचारको व्यवस्था मिलाउन सेनाको नेतृत्वलाई आग्रह गरेका छन् । अपाङ्गता भएका पूर्वसैनिकले उपचारका लागि टाढा धाउनुपर्दा समस्या भएको गुनासो गरेका थिए ।
प्रधानसेनापति अशोकराज सिग्देलले सम्मेलनका क्रममा १० जिल्लाका भूतपूर्व सैनिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका पिरमर्का सुन्नुभएको थियो । सो अवसरमा उहाँले भूपू सैनिकका समस्या सम्बोधन गर्न र कल्याणकारी सुविधालाई अझ परिष्कृत एवं समयसापेक्ष बनाउन सेना प्रतिबद्ध रहेको बताउनुभयो । सम्मेलनमा ज्येष्ठ पूर्वसैनिक र वीर नारीलाई सम्मान समेत गरिएको थियो ।