• १२ साउन २०८१, शनिबार

विदेशी चलचित्रका लागि पनि नेपाल आकर्षक गन्तव्य

blog

काठमाडौँ, फागुन २ गते । पछिल्लो समय प्राकृतिक सुन्दरता भएका स्थानमा चलचित्र र म्युजिक भिडियोको छायाङ्कन गर्ने क्रम बढेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका सांस्कृतिक सम्पदा क्षेत्र वरिपरि छायाङ्कन गर्ने प्रवृत्तिलाई छाडेर चलचित्र निर्माता मुस्ताङलगायतका सगरमाथा, चितवन, बागलुङ, पोखरा, लुक्ला, नाम्चे, जोमसोम, नगरकोट र हिमाली उपत्यकाका स्थललाई चलचित्र छायाङ्कनको गन्तव्य छान्न थालेका छन् । 

नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’ (२०२१) को छायाङ्कन चोभारमा भएको थियो । त्यतिबेला चोभार, नुवाकोटको ककनी, त्रिशूलीलगायतका स्थानमा छायाङ्कन स्थलका रूपमा चिनिन्थे तर अहिले यातायातको पहुँच र प्रविधिले फड्को मारेसँगै चलचित्रको छायाङ्कन गर्ने स्थल उपत्यकाबाहिरका प्राकृतिक सुन्दरता भएका स्थान पर्न थालेका छन् । नेपाली चलचित्र निर्माणमा नयाँ प्रविधिको प्रयोगसँगै सामान्य स्थानलाई पनि उत्कृष्ट देखाउने क्रम बढ्दो छ । त्यसमाथि सुन्दर र रमणीय स्थानले त यसै पनि दर्शकको मन छुन्छ । प्राकृतिक सौन्दर्य, अग्ला हिमाल, ऐतिहासिक सम्पदा र सुन्दर हिमशृङ्खला जस्ता कुरा चलचित्र छायाङ्कनका लागि उपयुक्त स्थान बन्न थालेका छन् । 

निर्देशक नवल नेपालका भनाइमा पहिले पहिले निर्माता निर्देशक छायाङ्कन स्थल खोज्दै हिँड्ने गर्थे तर अहिले त्यो अवस्थाको अन्त्य भएको छ । उहाँ भन्नुहुन्छ, “अहिले राम्रा राम्रा सुटिङ स्टुडियो बनेका छन् त्यसैले पनि चलचित्र छायाङ्कन स्थल खोजेर हिँड्नुपर्ने अवस्था छैन । पहिला नेपाली चलचित्रका लागि चोभार सुटिङ हब थियो तर अहिले चोभार जस्ता धेरै ठाउँ बनेका छन्, जहाँ हामीले सजिलै चलचित्रको छायाङ्कन गर्न सक्छौँ ।” 

काठमाडौँ उपत्यकामा अत्याधुनिक सुविधासम्पन्न चलचित्र स्टुडियो निर्माण हुनाले पनि अहिले छायाङ्कनमा पहिले जस्तो लगानी धेरै गर्नु नपर्ने अवस्था रहेको उहाँको अनुभव छ । चलचित्र सुटिङ स्टुडियोमा बेडरुमदेखि लिएर लिभिङ रुम, डाइनिङ हल, जेल, हस्पिटल, अफिस, रेस्टुराँ, बार, क्रोमा सेटसहितका सबै सुविधा उपलब्ध हुने गरेका छन् । 

अहिले चलचित्रको छायाङ्कन स्थल काठमाडौँमा सीमित रहेन । दुरदराजतिर पनि चलचित्रको छायाङ्कन हुन थालेका छन् । निर्देशक दयाराम दाहाल भन्नुहुन्छ, “पहिले बजेट पनि सीमित हुन्थ्यो र धेरै ठाउँमा छायाङ्कन गर्न जान पनि गाह्रो थियो । त्यतिबेला प्राविधिक कुरा लिएर जान पनि त्यति सम्भव हुँदैन्थ्यो तर अहिले डिजिटलमा धेरै कुरा सजिला भएका छन् । लाइटदेखि लिएर इन्डोर सुटिङमा सानो एउटा गाउँको घरभित्र पनि सुटिङ गर्न सकिन्छ ।” 

अहिले प्रविधिको सुविधाका कारणले सानो ठाउँमा पनि धेरै सुटिङ गर्न सकिने दाहाल बताउनुहुन्छ । चलचित्र सुटिङ भनेको पनि त्यसको कथाको हिसाबले नै हुने हो । त्यसैले इन्डोर र आउटडोर सुटिङमा खासै फरक छैन, उहाँले थप्नुभयो, “सबै लाइट र सेटिङले तय गर्ने कुरा हो ।” 

विदेशीका लागि पनि नेपाल  

अहिले नेपाली भूमि विदेशी चलचित्रका लागि पनि छायाङ्कनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । विदेशी चलचित्रमा नेपालका प्राकृतिक सौन्दर्य भएका स्थल कैद हुन थालेका छन् । भारत, बेलायत, अमेरिका, आइल्यान्ड, फ्रान्स, पोल्यान्ड, जर्मनी, जापान, नेदरल्यान्ड, डेनमार्क, स्विडेन, साउथ अफ्रिकालगायत देशबाट चलचित्र छायाङ्कन गर्न नेपाल आउने गरेका छन् । 

बलिउड चलचित्र ‘द सेमलेस’, ‘फिफ’ नामक वेभ सिरिजको ठमेल, पनौती, त्रिभुवन विमानस्थल, पोखरालगायतका क्षेत्रमा छायाङ्कन गरिएको थियो । त्यस्तै चलचित्र ‘उचाइ’ को काठमाडौँका स्वयम्भू, विमानस्थल, हायात होटेलसहित मनाङ, लुक्ला, नाम्चेलगायतका स्थानमा छायाङ्कन गरिएको थियो । हरे राम हरे कृष्ण, महान्, खुदा गवाह, युद्ध, घरवाली बहारवाली, एक हसिना एक दिवाना, बेबी, सोल्ड, हाइवे टु धम्पुस, लर्ड बुद्ध, अ नाइट ट्रेन टु काठमाडौँ, द गोल्डेन चाइल्ड, बराक, सेभेन एअर्स इन तिब्बत, द फल, वियोन्ड दी एजलगायतका चलचित्रको छायाङ्कन पनि नेपालमै भएको छ ।