• २२ असोज २०८२, बुधबार

अपराधको कथा ‘इन्स्पेक्टर जेन्डे’

blog

काठमाडौँ, असोज १ गते । चलचित्र ‘इन्स्पेक्टर जेन्डे’ कार्ल भोजराज (जिम सर्भ) ले गर्ने अपराध र उनले मानिसलाई आफूमाथि सजिलै कसरी विश्वास गराउन सक्छन् भन्ने पृष्ठभूमिबाट सुरु हुन्छ । 

चलचित्रमा भोजराजलाई यति चलाख देखाइएको छ कि मानिसहरू उसको कुराबाट सजिलै प्रभावित हुन्छन् । अर्का चलाख व्यक्ति प्रहरी अधिकारी मधुकर जेन्डे (मनोज वाजपेयी) को प्रवेश भएपछि चलचित्रमा धेरै रोचक मोड आउँछ । मधुकर र भोजराजबिच लुक्ने र भाग्ने खेलले चलचित्र रोमाञ्चक बनेको छ । चलचित्रले अपराधको कथा मात्र देखाउँदैन, यसले समाज, न्याय प्रणाली र मान्छेको मानसिकतामाथि गहिरो प्रश्न पनि उठाउँछ । १९८० को दशकको पृष्ठभूमिमा सेट गरिएको चलचित्रको कथाले त्यो युगको वास्तविकतालाई उजागर गर्छ । सो समय प्रहरीसँग सीमित स्रोतसाधन हुन्थ्यो र अपराधीलाई पक्राउ गर्न दिमाग, धैर्य र अनुभवमा मात्र भर पर्नु पथ्र्याे । 

चलचित्रको कथा प्रहरी अधिकारी जेन्डेको वरिपरि घुम्छ, जो अपराधको जटिल संसारमा लगातार लागिरहन्छन् र अपराधीलाई समात्ने चुनौती मात्र लिँदैनन्, त्यहाँको प्रणालीका कमजोरीको पनि सामना गर्छन् । 

चलचित्रका प्रमुख कलाकार वाजपेयीको अभिनय सरल तर गहिरो छ । उहाँको मौनता, आँखाबाट व्यक्त गर्ने अभिव्यक्ति र आन्तरिक द्वन्द्वले पात्रलाई वास्तविक र प्रभावकारी बनाउने काम गरेको छ । खलनायक भूमिकामा जिम सर्भ जम्नु भएको छ । चलचित्र अवधिभर उहाँको अभिनय ‘सस्पेन्स’ र तनावमा नै बित्छ । हरेक दृश्यमा उहाँको उपस्थिति डरलाग्दो र रोचक देखिन्छ । सहायक कलाकारमा गिरिजा ओक र सचिन खेडेकरको आफ्नो गम्भीर अभिनयले चलचित्रलाई अझ बलियो बनाउँछ । अझ भालचन्द्र कदमले हल्का हास्यका साथ कथामा सन्तुलन राख्ने काम गर्नुभएको छ ।

चलचित्रले ८० को दशकको युगलाई उत्कृष्ट रूपमा चित्रण गरेको छ । जुन समय अपराध र प्रहरीको शैली पूर्ण रूपले फरक थियो । चलचित्रले वास्तविक घटनासँग सम्बन्धित केही तथ्य पनि देखाउँछ जसले चलचित्रको कथालाई अझ रोचक बनाउने काम गरेको छ । चलचित्रमा निर्देशक चिभन्मय डी. मडलेकरले त्यो समयको युगको वास्तविकतालाई विस्तृत रूपमा चित्रण गर्न खोज्नुभएको छ जहाँ आधुनिक प्रविधिको अभाव हुँदाहुँदै पनि प्रहरी अपराधका रहस्यमय घटनालाई समाधान गर्न सफल हुन्छन् । 

निर्देशक मडलेकरले चलचित्र १९८० को दशकको वातावरणलाई पनि एकदमै यथार्थपरक तरिकाले प्रस्तुत गर्नुभएको छ । त्यो बेलाको सडक, प्रहरी चौकी र समाजलाई सही रूपमा चित्रण गर्नुभएको छ । चलचित्रको सबैभन्दा राम्रो पक्ष भनेको पात्रको अभिनय नै हो । चलचित्रको कथाले दर्शकलाई साढे दुई घण्टा चलचित्रमा पूरै व्यस्त बनाउँछ । चलचित्र ‘इन्स्पेक्टर जेन्डे’ ले दर्शकलाई आदर्शको बाटोतिर नै डोहो¥याउने काम गर्छ ।