• २५ असोज २०८२, शनिबार

तनहुँ प्रहरीले समात्यो २२८ कैदी, ९९ अझै फरार

blog

जिल्ला प्रहरी कार्यालय तनहुँ ।

अमरराज नहर्की

तनहुँ, असोज २५ गते । गत भदौ २४ गते साँझ जेनजी आन्दोलनका क्रममा तनहुँ जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीमध्ये हालसम्म २२८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ९९ जना अझै सम्पर्कविहीन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ३२७ जना फरारमध्ये नियन्त्रणमा आएका र स्वेच्छाले आत्मसमर्पण गरेको गरी २२८ जना पक्राउ परेका हुन् । कारागार प्रशासनले असोज २० गतेसम्म सम्पर्कमा आउन सूचना जारी गरेको थियो, तर म्याद सकिँदासम्म ९९ जना फरार छन् ।

जिल्ला कारागारका जेलर टेकप्रसाद भट्टराईका अनुसार तोकिएको समय सीमा नाघेकाहरू माथि अब कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ । कारागार ऐन, २०७९ अनुसार आत्मसमर्पण नगर्नेहरूमाथि थप कडा कारबाही गरिने उहाँले बताउनुभयो ।

फरार घटनापछि स्थानीय क्षेत्रमा असुरक्षा र त्रासको वातावरण सिर्जना भएको छ। चोरी, लुटपाट र हिंसात्मक घटनाको जोखिम बढेको भन्दै स्थानीयवासीले चासो व्यक्त गरेका छन् । कारागार प्रशासनले फरार कैदीहरूको खोजीमा सहयोग गर्न परिवार, नागरिक समाज, पत्रकार, व्यापारी र समुदायलाई अनुरोध गरेको छ । 

फरार कैदीबारे जानकारी भएमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय तनहुँ, सशस्त्र प्रहरी बल मनकामना गण नं २३ भानु, वा जिल्ला कारागार कार्यालयमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ ।