• २५ असोज २०८२, शनिबार

बस र स्कुटर ठोक्किँदा एकको मृत्यु, एक घाइते

blog

अमरराज नहर्की

तनहुँ, असोज २५ गते । तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित पृथ्वीराजमार्गमा शनिबार दिउँसो बस र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्को एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरी चौकी डुम्रेका अनुसार आँबुखैरेनीबाट डुम्रेतर्फ आइरहेको ग. १ ख. ९७०८ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ग. २६ प. ९२८७ नम्बरको स्कुटर आज दिउँसो करिब १२ बजेर १० मिनेटको समयमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक गोरखा धार्चे गाउँपालिका–७ का २८ वर्षीय पुनराम गुरुङ गम्भीर घाइते हुनुभएको थियो । उहाँसहित सोही स्कुटरमा पछाडिको सिटमा रहेका ३२ वर्षीय मनोज गुरुङको पनि टाउकोमा चोट लागेर गम्भीर घाइते हुनुभएको छ। 

दुवै जनालाई प्रारम्भिक उपचारका लागि लक्ष्मी सिटी अस्पताल डुम्रे लगिएकोमा थप उपचारका लागि सिएमसी अस्पताल, भरतपुर चितवन रिफर गरिएको थियो । दिउँसो करिब १ बजेर ४८ मिनेटको समयमा पुनराम गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यसैबिच आँबुखैरेनी गाउँपालिका–३, खत्रीटोलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्को एक जना गम्भीर घाइते भएको छन् । सूचना अधिकारी विकका अनुसार गएराति करिब ११ः४५ बजे ग २६ प २२११ नम्बरको मोटरसाइकल खत्री टोलबाट पृथ्वीराजमार्गतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको घरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा रूपन्देहीको बुटवल खैरहनी घर भई हाल आँबुखैरेनी गाउँपालिका–२, बसपार्कमा बस्दैआएका २८ वर्षका विजय तामाङ गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उहाँलाई मिति २०८२ असोज २५ गते बिहान १२ः४४ बजे आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी विकले जानकारी दिनुभयो ।

त्यसैगरी, मोटरसाइकलमा सवार गोरखा सहिदलखन गाउँपालिका–९ घर भई हाल आँबुखैरेनी गाउँपालिका–३ बस्ने २२ वर्षीय बिप्लव गुरुङ बायाँ आँखामाथि र शरीरमा भित्रीचोट लागेर गम्भीर घाइते भएका छन् । उहाँलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ ।