शिवशङ्कर मिश्रा
बारा, असोज २५ गते । बाराको सिम्रौनगढ नगरपालिका–६ मा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन्। स्थानीय इशरा पोखरीको डिलबाट घर लिपपोत गर्न माटो खन्नेक्रममा शनिबार बिहान करिब ८ः५० बजे माटोको ढिस्को खसेको र पुरिएर ८ जना स्थानीय घाइते हुँदा उद्धारका क्रममा दुई जनाको ज्यान गएको हो।
घटना भएको जानकारीसँगै इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक पवन पछाईको कमान्डमा गएको टोली र सशस्त्र प्रहरी टोलीले उद्धार कार्य अघि बढाइ घाइतेहरूलाई नजिकको अस्पतालमा उपचारका लागि पठाएको छ।
मृतकहरूमा सिम्रौनगढ–६, सानो इटवाल बस्ने दशरथ महतोकी ७० वर्षे शारदादेवी महतो रहनुभएको छ । उहाँलाई उपचारका लागि कलैया लैजाँदै गर्दा बाटोमै मृत्युको हो । यसैगरी सोही ठाउँ वडा नम्बर ५ बस्ने राजेश्वर महतोका १५ वर्षे छोरा निरहुवा भनिने सुनिल महतो रहनुभएको छ । उहाँलाई कलैया मेट्रो अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।
सो घटनामा घाइते भएको सोही ठाउँ वडा नम्बर–६ का विश्वनाथ महतोका १४ वर्षे छोरा साजन महतो, राजकिशोर महतोका १५ वर्षे छोरा नितेश महतो, सन्तोष मुखियाका १८ वर्षे छोरा गौतम मुखिया, बृजकिशोर महतोकी १४ वर्षे छोरी रानीकुमारी महतो, लक्ष्मी महतोकी १४ वर्षे छोरी सुशिलाकुमारी महतो, प्रभु शर्माका १५ वर्षे छोरा राजाबाबु शर्मा रहेको उहाँले जानकारी दिनुभयो ।
घाइतेहरूको अवस्था सामान्य रहेकोे तथा अलग–अलग अस्पतालमा उहाँहरूको उपचार भई रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।