‘चिनीले मानिसको मोटोपन बढाउने, मधुमेह गराउने र मुटुरोग लाग्ने भएकाले यसको प्रयोग कम गर्न विश्व स्वास्थ्य सङ्घले बोल्न आवश्यक छ’ भनेर केही जनस्वास्थ्यविद्ले सन् २००२ मा सुझाव दिएका थिए । त्यसपछि सङ्घले ‘हामीले खानाबाट प्रत्येक दिन प्राप्त गर्ने क्यालोरी (शक्ति) मध्ये १० प्रतिशतभन्दा बढी चिनीबाट लिनु हुँदैन’ भन्यो । अर्थात् हामीले लिने शक्तिको स्रोतमध्ये चिनी १० प्रतिशतभन्दा कम नै हुनु पर्छ र ९० प्रतिशत अन्य खानाको स्रोतबाट प्राप्त गर्नु पर्छ ।
यो कुरा प्रकाशमा आएपछि विशेष गरी अमेरिकाका चिनी उत्पादन गर्ने ठुला कम्पनीले ‘विश्व स्वास्थ्य सङ्घले जनतामा भ्रम फैलायो’ भनेर आक्रोश पोखे । उनीहरूले विश्व स्वास्थ्य सङ्घलाई दिने सहयोग कटौती गर्ने निर्णय पनि गरे । ती कम्पनीले अमेरिकाको सिनेटमा प्रभाव पारेर ‘चिनीले खराबी गर्ने कुरा प्रचार गरेमा विश्व स्वास्थ्य सङ्घलाई अमेरिकाबाट दिँदै आएको आर्थिक सहयोग रोकिदिने धम्की पनि दिन लगाए । चिनी उत्पादक कम्पनीहरूले भनेका थिए, ‘हामीले खानाबाट प्राप्त गर्ने दैनिक क्यालोरीमध्ये २५ प्रतिशतसम्म चिनीबाट प्राप्त गर्दा पनि हुन्छ ।’
जनस्वास्थ्यविद्ले यो कुरालाई अस्वीकार गरे र धेरै चिनीको उपभोगबाट जनस्वास्थ्यमा हुने हानिका बारेमा आमजनतालाई निरन्तर जागरुक गर्न प्रयत्न गरे । चिनीले मानिसको स्वास्थ्यमा कसरी खराबी गर्छ भन्ने विषयमा सन् १९७२ मा नै डा. जोन युड्किनले ‘विषालु सेतो चिनी’ नामक अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका थिए । उनको यो अनुसन्धान र अनुभवलाई अमेरिकाका चिनी र चिनीजन्य गुलियो पदार्थ उत्पादन गर्ने कम्पनीले हावामा उडाउने कार्य गरेका थिए । साथै अपवाह फैलाउने कार्य हो भनेर विरोध पनि जनाएका थिए । हाम्रो भान्सामा दिनहुँ प्रयोग हुने यस्तो सेतो चिनी एक प्रकारले मन्द विष नै हो ।
महँगो उपहार थियो चिनी
करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु भयो । बिस्तारै चीन, पश्चिम अफ्रिका, ब्राजिल हुँदै विश्वभर फैलियो । प्रारम्भमा चिनी उत्पादन गर्नु खर्चिलो हुने भएकाले धेरै महँगो पथ्र्यो र धनी मानिसले मात्र चिनी प्रयोग गर्न सक्थे । राजा महाराजालाई अन्य सुन र चाँदीका गहना जस्तै गरेर चिनीलाई उपहारस्वरूप दिइने चलन थियो । जब संसारका विभिन्न ठाउँमा चिनीको उत्पादन हुन थाल्यो, तब आममानिसले पनि यसको प्रयोग गर्न थाले ।
सन् १८८५ बाट चिनीको प्रयोग कोकाकोलामा सुरु भयो । त्यो बेला कोकलाई ‘ब्रेन टनिक’ अर्थात् मस्तिष्क तीक्ष्ण पार्ने वस्तु भनेर गलत प्रचार गरिएको थियो । चिनी बनाउने कम्पनीले ‘मानव शरीरमा चाहिने ऊर्जा ग्लुकोजले दिन्छ र चिनी खाएपछि शरीरमा ग्लुकोज पुग्छ । शरीरमा स्फूर्ति आउँछ । अर्थात् जति खायो उति राम्रो’ भनेर प्रचारप्रसार गरे । जिब्रोको स्वादका लागि सेवन गरेको चिनी कति हानिकारक छ भन्ने विषयमा मानिस अनभिज्ञ छन् । यसले क्षणिक उत्तेजना दिए पनि दीर्घकालीन रूपमा भने मानव स्वास्थ्यमा असर पु¥याउँछ ।
सन् १९२८ मा चिनी स्वस्थकर खाना भनेर विज्ञापन नै सुरु भयो । ‘गर्मीको समय सर्बतमा अनि जाडोमा पेयपदार्थमा चिनी हालेर खाँदा रोग–प्रतिरोधात्मक शक्ति बढ्छ’ भनेर भ्रामक प्रचार गरियो । यस्तो विज्ञापनबाट प्रेरित भएर अमेरिकामा चिनीको प्रयोग बढ्न थाल्यो । बिस्तारै त्यहाँ मोटोपन पनि बढ्न थाल्यो । चिनी कम्पनीहरूले अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीलाई पैसाले गोजी भरिदिई ‘चिनी स्वस्थकर छ’ भनेर अनुसन्धानको निचोड निकाल्न लगाए । धेरै प्रचारप्रसार गरे । जनस्वास्थ्य विज्ञहरूले चिनीको खराबीको बारेमा बोल्न थाले । जब २० औँ शताब्दीमा अमेरिकामा मधुमेह, फ्याटी लिभर, कब्जियत, अल्सर, ग्यास्ट्राइटिस र मोटोपन बढ्न थाल्यो र अस्पतालमा अनेक समस्या लिएर मानिस आउन थाले, तब मात्र जनस्वास्थ्य विज्ञले भनेको कुरामा विश्व समुदायले विश्वास गर्न थाले ।
कमजोर चेतना
कतिपय मानिस ‘सेतो चिनी’ राम्रो होइन तर ‘खैरो चिनी’ स्वस्थकर हो भन्ने ठान्छन् । यो कुरा बिल्कुलै सही होइन । प्रारम्भमा चिनीका बारेमा लेख्ने अनुसन्धानकर्ताले मुसामा चिनीको विभिन्न तरिकाले प्रयोग गरेर अध्ययन गरेका थिए । सो शोध अध्ययन अनुसार चिनी प्रयोग गरिएका मुसाहरूमा मुटुरोग, बिर्सने रोग र बाथको रोग बढेको पाइयो । चिनीले मानिसमा पनि विभिन्न किसिमका रोग उत्पन्न गर्ने कुरा अनुभव र अनुसन्धानले सिद्ध गरिसकेको छ ।
परम्परागत भोजन शैलीमा परिवर्तन भएकाले चिनीको उपभोग धेरै भएको पाइन्छ । हामी बिहान उठेदेखि बेलुकासम्म अनेक तरिकाले चिनी उपभोग गर्छौं । उदाहरणका लागि चिया, दुध, केक, कुल्फी, बिस्कुट, पाउरोटी आदिमा चिनी प्रशस्त प्रयोग भएको पाइन्छ ।
चाडबाड र देवीदेवताका प्रसादको रूपमा त झन् चिनीको मात्रा धेरै प्रयोग हुन्छ । केटाकेटीको बिहान र दिउँसोको खाजामा पनि धेरै चिनीको प्रयोग हुने भएकाले नेपाली केटाकेटीमा दाँतसम्बन्धी समस्या उच्च छ । उच्च रक्तचाप, मोटोपन, मधुमेह जस्ता समस्याको एउटा प्रमुख कारकका रूपमा चिनी रहेको प्रमाणित भएको धेरै भइसकेको छ तर पनि हामी यसतर्फ त्यति सचेत भइरहेका छैनौँ ।
चिनीको विरुद्ध
सन् २०१६ मा ज्ञारी ताउबेसले प्रकाशित गरेको अनुसन्धानात्मक पुस्तक ‘चिनीको विरुद्ध’ मा पनि चिनीले मानव स्वास्थ्यमा पार्ने प्रभावबारे विस्तृत रूपमा व्याख्या गरिएको छ । सन् २००९ मा सिकागो विश्वविद्यालयमा गरिएको एक अनुसन्धानको रिपोर्टलाई उद्धत गर्दै ज्ञारीले ‘चिनी प्रयोग बढी गर्नेहरूको मस्तिष्कका कोष चाँडै बुढो हुने र उनीहरूमा बिर्सिने समस्या (अल्जाइमर) सुरु हुन सक्ने उल्लेख गरेका छन् । उनले पुस्तकमा अमेरिकन जनता अति मोटो हुनुमा चिनीको प्रयोग बढी भएर हो भन्नेसमेत उल्लेख गरेका छन् । छैटौँ शताब्दीमा एक हिन्दु डाक्टर सुश्रुतले पनि ‘मधुमेह हुँदा गुलियो पिसाब हुन्छ र यो विशेष गरी मोटो मानिसमा हुन्छ’ भनेर लेखेका छन् ।
क्यालिफोर्निया विश्वविद्यालयका बालरोग विज्ञ बर्ट लुस्टिङले भन्छन्, ‘चिनी यस्तो विषाक्त र दूषित पदार्थ हो, जसले एउटा वंशबाट अर्को वंशमा समेत खराबी निम्त्याउँछ । मधुमेह भएकी आमाको शिशुलाई मधुमेह हुन सक्ने जोखिम उच्च हुन्छ । साथै मोटो मातापिताबाट जन्मेको बच्चामा पनि सानैदेखि मोटोपन हुने सम्भावना प्रबल रहन्छ ।’
मधुमेह र मोटोपनले अल्जाइमर पनि निम्त्याउँन सक्ने सम्भावना उच्च भएकाले अहिले यो रोगलाई तेस्रो प्रकारको मधुमेह पनि भनिन्छ । पहिले–पहिले पश्चिमी समाजमा चिनीलाई हानिकारक खाद्यपदार्थ भनेर विचार गरिँदैनथ्यो । त्यसैले चिनीजन्य पदार्थको उत्पादन र उपभोग पनि धेरै हुन्थ्यो । जसले गर्दा त्यहाँका मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन थाले । यसको कारणका सम्बन्धमा अनुसन्धान गर्दा क्यान्सर, हाड कमजोर हुने, जोर्नीका समस्या, मोटोपना, मुटुरोग, उच्च रक्तचाप, छालाका समस्या, चाँडै वयष्क र बुढ्यौली हुने, कमजोर हुने, शिथिलता र मानसिक थकावट जस्ता समस्यामा कुनै न कुनै रूपमा चिनीको सम्बन्ध भएको पाइयो । चिनीको नकारात्मक पक्षबारे प्रायः कुरा नहुने र परम्परागत रूपमा स्वीकार गरेर प्रयोग गरिँदै आएकाले मात्र चिनी सुरक्षित छ भन्ने धेरैलाई भ्रम छ ।
चिनी भएको वस्तु खाएपछि यसले दाँतको इनामेल गालेर दाँतमा प्वाल पार्छ । बच्चाको आहारा जस्तो– बोतलबन्द दुध तथा पेय पदार्थमा मिसाइएको गुलियो पदार्थले उनीहरूको कलिलो दाँतमा गम्भीर असर गरेको हुन्छ । बच्चाका अभिभावक यस्ता खानामा भएको चिनीले बच्चालाई नोक्सानी गर्छ भन्ने बारेमा अनभिज्ञ बनिदिन्छन् ।
सेतो चिनीमा कुनै पनि सूक्ष्म पोषक तत्व हुँदैन । चिनी बनाउन सल्फर डाइअक्साइड, फस्फोरिक एसिड, एक्टिभेटेड कार्बनको प्रयोग अत्यधिक मात्रामा गरिन्छ । यसरी उत्पादन गरिदाँ यसमा गुलियो तत्वबाहेक यसमा कुनै पनि स्वस्थकर वस्तु शेष रहन्न । चिनी खाँदा मानव मस्तिष्कमा सेराटोनिन नामक रसायन निस्कन्छ, जसले एकछिन् आनन्दको अनुभूति दिन्छ । क्षणिक ऊर्जाको उत्तेजना सवार हुन्छ तर केही छिनपछि त्यो अनुभूति एकाएक गायब हुन्छ अनि थकावट र शिथिलता उत्पन्न हुन थाल्छ ।
विश्व स्वास्थ्य सङ्घले सन् २०१४ मा ‘वयष्कलाई दैनिक पाँच चम्चाभन्दा बढी र बालबालिकालाई तीन चम्चाभन्दा बढी चिनी खान नदिनू भने पनि अहिले हाम्रो भोजनमा त्योभन्दा निकै बढी मात्रामा चिनी प्रयोग भएको पाइन्छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा मिठाई, गुँदपाक, पुस्टकारी, केक, आइसक्रिम, सेल, मालपुवा आदिमा पनि ठुलो मात्रामा चिनी मिसाइएको हुन्छ र त्यसलाई हामीले बेहिसाब र अन्धाधुन्द रूपमा प्रयोग गरिरहेका छौँ । एक लिटर हलुका पेयमा औसत १४ चम्चा चिनी राखिएको हुन्छ । यसबारेमा हामीले कहिल्यै विचार गरेका हुँदैनौँ ।
सस, बिस्कुट, चाउचाउ आदि गुलियो जस्तो नलाग्ने खानामा पनि चिनी मिसाइएको हुन्छ । त्यस्तै गरी बट्टाबन्द र प्याकेटबन्द गरेको मासु, सुप, स्वस्थकर नास्ता भनिएका बट्टाका बजारे भोजन (जस्तो– मुसेली, कर्नफ्लोर) मा पनि चिनी मिसिएको हुन्छ । प्रायः यो कुरा हामी वास्ता नै गर्दैनौँ, चिनी भएको थाहा नै नपाई हामी त्यसको उपभोग गरिरहेका हुन्छौँ । खाँदा त्यति गुलियो नलागे पनि यसमा भएको अत्यधिक चिनीले हाम्रो स्वास्थमा प्रतिकूल असर पारिरहेको हुन्छ ।