• २५ असोज २०८२, शनिबार

उपाधीका लागि एलजी एसोसिएसन र खस्यौली भिड्ने

blog

इमान सिं राना
रामपुर (पाल्पा), असोज २५ गते ।
जिल्लाको रामपुरमा जारी लालीगुराँस कप यू–१९ सेभेन ए साइड खुला राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा आयोजक एलजी एसोसिएसन र खस्यौली फुटबल क्लब भिड्ने भएको छ । शुक्रबार भएको सेमिफाइनल दुवै टिमले जित निकाल्न सफल भएको थियो ।

शनिबार हुने फाइनल खेलमा अन्तत एलजी एसोसिएसन रामपुर र खस्यौली फुटबल क्लब बुटवलले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा आयोजक एलजी एसोसिएसन वालिङ युनाइटेड एफसी, स्याङ्जालाई ३–० ले हराउँदै उपाधी नजिक पुगेको हो । पहिलो  हाफमा एक र दोस्रो हाफ दुई गोल गर्दै जित निकालेको थियो ।

दोस्रो सेमिफाइनलमा देवदह ब्वाइज, रूपन्देहीलाई टाइब्रेकरमा हराउँदै खस्यौलीले फाइलनको यात्रा तय गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा खस्यौली २–० ले जित निकाल्दै फाइनलमा पुगेको हो । फाइनल खेल शनिबार दिउँसो ३ बजे हुने एलजी एसोसिएसनका अध्यक्ष सुदन पोखरेलले बताउनुभयो ।

विजेता समूहले नगद दुई लाख रुपियाँ, उपविजेताले १ लाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छ भने सेमिफाइनल पुगेका टोली देवदह ब्वाइज र वालिङ युनाइटेडले २५/२५ हजार रुपियाँ प्राप्त गर्ने छ । मटेरी ठुलोटारमा गत असोज १८ देखि सुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका १८ समूहले सहभागिता जनाएका थियो ।