रामकृष्ण बोहरा
बागलुङ, असोज २५ गते । मानवीय क्षेत्रमा सक्रिय चिकित्सक, स्वास्थ्यकर्मी, अनमी र सामाजिक अगुवाहरू सम्मानित भएका छन् । डा. तरुण पौडेल चिकित्सा कोषले ग्रामीण क्षेत्रमा बसेर उपचारमा संलग्नदेखि मानव अङ्ग प्रत्यारोपण गर्ने चिकित्सक सम्मलाई सम्मान गरेको हो ।
कोषको १३ औं वार्षिकोत्सव सम्पन्न गरिनुको साथै १० औं पुरस्कार सम्मान अर्पण र इन्द्रलक्ष्मी स्मृति पुरस्कार पनि समर्पण गरिएको हो । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले कोषको पुरस्कार तथा सम्मान वितरण गर्नुभयो ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रको संस्थापक भएर राज्यलाई नै योगदान गर्नुभएका डा. पुकारचन्द्र श्रेष्ठलाई उक्त अवसरमा सम्मानित गरियो । बागलुङ नगरपालिका वडा नं. ३ घर भई बेलायतमा अध्ययन गरी भक्तपुरस्थित शहिद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रको संस्थापक समेत रहनुभएका डा. श्रेष्ठलाई कोषले सम्मान गरेको हो । कोषका संरक्षक प्राडा. तरुण पौडेल र कोषका अध्यक्ष काजी रोशनले समेत उक्त सम्मान प्रदान गर्नुभएको हो ।
डा. श्रेष्ठले सन् २००१ देखि ६ सम्म बेलायतमा अध्ययन र अनुसन्धान गरेर फर्केपछि नेपाल सरकारले मानव अङ्ग प्रत्यारोपण थालेको थियो । उक्त केन्द्रमा अहिलेसम्म एक हजार ६ सयभन्दा बढी मानिसको अङ्ग प्रत्यारोपण भइसकेको छ ।
डा. श्रेष्ठले मानव अङ्गमध्ये कलेजो, मिर्गौला र फियोलगायतका अङ्ग प्रत्यारोपण गराएको बताउनुभयो । नेपालमा डायलायसिसमार्फत मिर्गौला पीडितको आयु बढाउने र त्यसै समयमा अङ्ग प्रत्यारोपण गरेर बचाउने काममा पनि उहाँले अगुवाई गर्नुभएको थियो । अहिले भने मिर्गौलाको उपचारको दायरा फराकिलो भएको छ ।
शिशु जन्मदा नरोएपछि ६ घण्टाभन्दा बढी समयसम्म कृतिम श्वास दिएर बचाउनुभएकी बैतडीकी अनमी शान्तिकुमारी पुजारालाई पनि कोषले सम्मान गरेको छ । जन्मेपछि नरोएका शिशुलाई लगातार ६ घण्टा कृतिम श्वास दिएर बचाएको घटना सार्वजनिक भएको थियो । रातको समय भएकोले हेलिकोप्टरबाट उद्दार गर्न नसकेपछि रातभर मुखैले श्वास दिएर उहाँले शिशु बचाएको बताउनुभयो ।
यस्तै, पोखरामा कार्यरत सिनियर अहेब जयप्रसाश कोइरी, बालबालिकाको हितमा क्रियाशिल बुटवलका अनुपमान सैजु र सर्वस्व दान गरेर अस्पतालमा बस्ने पोखरा लेखनाथका दम्पत्ति रेवतीरमण पौडेल र शान्ति पौडेललाई पनि कोषले सम्मान गरेको छ । सबैलाई १५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
२०७० सालदेखि कोषले ग्रामीण क्षेत्रमा बसेर योगदान गर्ने चिकित्सक, अहेब र अनमीलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ । कोषले ल्याब असिस्टेन्ट र अहेबको परीक्षामा उत्कृष्ट हुनुभएका धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानका मौषम थापा र सुरेश पौडेललाई पनि पाँच, पाँच हजार नगद पुरस्कारसहित सम्मान गरेको छ ।
धौलागिरि अस्पतालमा १६ वर्षसम्म प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट भइसक्नुभएका प्रा.डा. तरुण पौडेलले उक्त कोष स्थापना गर्नुभएको हो । कोषले स्वतन्त्र रूपमा क्रियाशिल र सेवामा लागेकाहरूको खोजी गरेर पुरस्कृत र सम्मानित गर्दै आएको कोषका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।