• २५ असोज २०८२, शनिबार

पूर्व शर्तविपरित मेला सञ्चालन भएपछि प्रशासनद्वारा बन्द

blog

मेलाको रात्रिकालिन मनोरन्जनात्मक कार्यक्रममा दर्शकको भीड । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, असोज २५ गते  ।
सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित दुर्गा मन्दिर परिसरमा सञ्चालन भइरहेको दुर्गा पूजा मेला महोत्सवमा अस्थिरता र अश्लिल कार्यक्रम सञ्चालन भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय, सप्तरीले बन्द गराएको छ । सो मेलामा रातिको समयमा गीत, सङ्गीत, नृत्यसहित मनोरन्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएका थिए । ती सम्पूर्ण कार्यक्रमहरू शुक्रबार रातिदेखि बन्द गराएको हो ।

जिल्ला प्रशासन कार्यालयले उक्त मेलामा सुरुवाती अनुमति दिँदा तोकिएका शर्तहरू उल्लङ्घन गरी असलिल गीत–सङ्गीत, टिकट बिक्रीमार्फत ठगी र मेलाभित्र सुरक्षामा खलल पुर्‍याउने गतिविधिहरू भइरहेको गुनासो जेनजी, नगरपालिकाबाट आएको भन्दै शुक्रबार एक पत्र लेखेर आयोजक समितिलाई मेला बन्द गर्न भनेका थिए । पत्रमा भनिएको छ, “बोदेबर्साइन–५ स्थित दुर्गा मन्दिर समितिद्वारा आयोजित महोत्सव तोकिएको शर्त विपरीत सञ्चालन भएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएको र पूजा बिसर्जन भइसकेको हुनाले शान्ति सुरक्षामा खलल पुग्ने सम्भावना रहेकोले आजैदेखि कार्यक्रम बन्द गरिदिन अनुरोध छ ।”

यसअघि, जेनजी सप्तरीलगायत स्थानीयवासीहरूले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको ज्ञापनपत्रमा मेलामा असलिलता, भीड व्यवस्थापनमा कमजोरी, टिकटमार्फत ठगी, र स्वयंसेवकहरूले भक्तजन, दर्शकमाथि कुटपिट गरेको आरोप लगाउँदै तत्काल मेला बन्द गराउन माग गरेका थिए । ज्ञापनपत्रमा उल्लेख छ, “माँ जगदम्बा भवानीको प्रतिमा बिसर्जन भइसकेको हुँदा मेलाको नाममा विकृति फैलाउने कार्य रोक्न जरुरी छ ।”

जिल्ला प्रशासन कार्यालयले बोदेबर्साइन नगरपालिकाको सिफारिसमा असोज १२ देखि असोज २७ सम्मका लागि मेलाको सुरक्षामा समन्वयन गरिदिन जिल्ला प्रहरी कार्यालयको नाममा पत्राचार गरिएको थियो, जसलाई मेला आयोजनाका लागि अनुमति भनिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशाकीय अधिकृत युगेशकुमार यादवको हस्ताक्षरित उक्त पत्रमा १० बुँदे शर्त तोकेको थियो, जसमा मेला बेलुकी १० बजेसम्म मात्र सञ्चालन गर्ने, जुवाजन्य खेल, मादक पदार्थ, अश्लिल कार्यक्रम निषेध गर्ने, स्वयंसेवक परिचालन गरी सुरक्षाको व्यवस्था मिलाउने र कार्यक्रमको लेखा–जोखा सात दिनभित्र बुझाउने उल्लेख थियो ।

तर ती शर्तहरूको उल्लङ्घन भएको प्रमाणसहित गुनासो आएपछि प्रशासन, प्रहरी र स्थानीय तहबिचको समन्वयमा मेला स्थगित गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले यस विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरी, सशस्त्र प्रहरी बल नं. ६ गण हेडक्वाटर सप्तरी, र बोदेबर्साइन नगरपालिकालाई समेत जानकारी गराएको छ ।