टोकियो, असोज २५ गते । जापानको सबैभन्दा ठुलो विपक्षी दलले प्रधानमन्त्रीका रूपमा साने ताकाइचीको उदय रोक्नका लागि अन्य दलसँग मिलेर साझा उम्मेद्वारको समर्थन गर्ने तयारी गरेको छ ।
यो कदम सत्तारूढ गठबन्धन विघटन भएपछि आएको हो, जसले देशलाई नयाँ राजनीतिक अनिश्चिततामा धकेलेको छ । जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने लक्ष्यसहित अगाडि बढेकी कन्जर्भेटिभ नेत्री ताकाइचीका लागि चुनौतीपूर्ण स्थिति सिर्जना भएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) सँग २६ वर्ष लामो सहकार्यपछि यसको सह–गठबन्धन साझेदार कोमेइटोले शुक्रबार सम्बन्ध विच्छेद गरेको छ ।
एक हप्ताअघि नयाँ एलडिपी अध्यक्षमा निर्वाचित भएकी ताकाइचीलाई प्रधानमन्त्री बन्न संसद्को स्वीकृति आवश्यक छ । तर, कोमेइटोको अलगावपछि उक्त समर्थन सुनिश्चित गर्न कठिन देखिएको छ । मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी (सिडिपी) का प्रमुख योशिहिको नोडाले भन्नुभयो, “यो सरकार परिवर्तनका लागि दशकमा एक पटक आउने अवसर हो ।” उहाँले विपक्षी दललाई एउटै उम्मेद्वारको पक्षमा एकजुट हुन आग्रह गर्नुभयो ।
अझै सार्वजनिक नभएको निक्केई पोडकास्टको रेकर्डिङमा बोल्दै नोडाले सम्भावित साझा उम्मेद्वारका रूपमा डेमोक्रेटिक पार्टी फर द पिपुल (डिपिपी) का प्रमुख युइचिरो तमाकीलाई अघि सार्न सकिने सङ्केत गर्नुभयो । तमाकीले पनि शुक्रबार आफू उम्मेदवारी दिन इच्छुक रहेको बताउनुभएको थियो । यद्यपि सिडिपी र डिपिपीबिच नीति सम्बन्धी उल्लेखनीय मतभेद छन्, जसले सहकार्यमा अवरोध पुर्याउन सक्ने विश्लेषकले बताएका छन् ।
एलडिपी हाल आप्रवासन विरोधी स्यानसेइटो लगायतका साना दलका समर्थनमा कमी हुँदै गएको छ । कोमेइटोले पनि दूरी बनाएपछि एलडिपी दुवै सदनमा अल्पमतमा पुगेको छ । हाल तल्लो सदनमा एलडिपीका १९६, सिडिपीका १४८, डिपिपीका २७ र कोमेइटोका २४ सिट छन् ।
प्रधानमन्त्री नियुक्त हुन ताकाइचीको पक्षमा संसदमा २३३ सिटको बहुमत आवश्यक पर्छ । यो सङ्ख्यालाई ध्यानमा राख्दा उहाँको लागि बहुमत हाँसिल गर्न कठिन देखिएको छ । तर, केही विज्ञले विपक्षीहरू साझा उम्मेद्वारमा सहमत नहुँदा ताकाइचीले पद सुरक्षित गर्न सफल हुन सक्ने सम्भावना पनि बताएका छन् ।
कोमेइटोका प्रमुख तेत्सुओ साइतोले आफ्नो दलले ताकाइचीको सट्टा अन्य उम्मेद्वारलाई समर्थन गर्ने बताउनुभयो । उहाँका अनुसार एलडिपीले राजनीतिक दलहरूको कोषसम्बन्धी नियमहरू कडा बनाउन असफल भएकाले गठबन्धन तोड्नुपरेको हो । यो निर्णय गत वर्षको एलडिपीभित्रको चन्दा घोटालासँग पनि जोडिएको छ, जसमा कोष सङ्कलन कार्यक्रमका टिकट बिक्रीबाट लाखौँ डलर अवैध रूपमा भुक्तानी गरिएको आरोप लागेको थियो । ताकाइचीले सो घोटालामा संलग्न कोइची हाग्युडालाई पार्टीका वरिष्ठ पदमा नियुक्त गरेपछि कोमेइटोले असन्तुष्टि जनाएको बताइएको छ ।
“सार्वजनिक अखण्डतामा विश्वास गर्ने कोमेइटोका लागि यस्तो निर्णयलाई आफ्ना समर्थक वा कार्यकर्तालाई व्याख्या गर्नु गाह्रो थियो”, जापानको सुकुबा विश्वविद्यालयका राजनीति तथा समाजशास्त्रका प्राध्यापक हिदेहिरो यामामोटोले भन्नुभयो ।
कोमेइटो सानो भए पनि सोका गक्काई नामक बौद्ध सङ्गठनको समर्थनमा रहेको प्रभावशाली पार्टी हो । यसले विगतका चुनावमा एलडिपीलाई ठूलो सहयोग पुर्याएको थियो । दैनिक योमियुरी सिम्बुनका अनुसार कोमेइटोको सहयोगबिना एलडिपीका करिब २० प्रतिशत सांसदले आगामी चुनावमा सिट गुमाउने सम्भावना रहेको अनुमान गरिएको छ । रासस/एएफपी