• ९ मंसिर २०८१, आइतबार

सामाजिक परिवर्तनको जग

blog

नेपाल नयाँ युगमा प्रवेश गरेको छ । सैद्धान्तिक रूपमा सङ्घीय नेपाल निर्माण भएदेखि व्यावहारिक रूपमा सोही अनुसार लैजान सङ्घीय, प्रादेशिक र स्थानीय तहबाट दिनानुदिन काम भइरहेको छ । विसं २०४६ को जनआन्दोलनबाट निर्माण भएको संविधानले पनि अपरिवर्तनीय भनेको २४० वर्षको राजतन्त्र ‘जनयुद्ध’ को जग र माओवादी शक्तिसहितको सात दलीय मोर्चाद्वारा आह्वान गरिएको जनआन्दोलनले ढालेको थियो । जसको प्रतिफल मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित धर्मनिरपेक्षता, समानुपातिक र समावेशी शासन व्यवस्था सुरु भयो । त्यसैले पनि जनयुद्ध र नेतृत्वकर्ताको भूमिकालाई सम्मान गर्नु पर्छ । 

कवि भूपि शेरचनले भने अनुसार ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ।’ हो, सहिदको रगतले लेखिएका स्वर्ण अक्षरले नै नेपाल आधुनिक युगमा प्रवेश गरेको छ । मुलुकलाई यो लयमा ल्याउन नेपाल आमाका १७ हजारभन्दा बढी सपुतले ज्यानको बलिदान दिएका छन् । यो परिवर्तन ल्याउन ती महान् सहिदको बलिदानी र नेपाली राजनीतिको ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्ने नेतृत्वका कारणले सम्भव भएको हो । ‘इतिहास जनताले बनाउँछन् र त्यसको नेतृत्व नेताले गर्दछन्’ भन्ने भावनालाई एक इन्च पनि तलमाथि नगर्ने हो भने जमेको राजनीतिक निकासका लागि उथलपुथल, क्रमभङ्ग, महान् विपत्ति र महान् छलाङ्गमय गतिमा सोही अनुसार हुन्छ । 

क्रान्ति वा परिवर्तन भोजभतेर गरेर आउँदैन । सचेतपूर्वक राजनीतिक गतिविधिलाई निष्कर्षमा पु¥याउन अहोरात्र खटिरहन आवश्यक छ । यथास्थितिमा रहेका उपरिसंरचनादेखि दैनिक जीवनसम्म आमूल परिवर्तन ल्याउन सकिन्छ । नेपालको पछिल्लो परिवर्तन पनि जनयुद्धकै जगमा आएको हो । नयाँ जनवादका लागि लडिएको हिंसात्मक राजनीति पूर्णतः सफल नभए पनि संरचनागत अवधारणामा रहेका अङ्गहरूमा व्यापक हेरफेर गर्न सफल भएको छ । अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीलगायतका राजनीतिक उपलब्धि सोही आन्दोलनको देन हो । द्वन्द्वात्मक भौतिकवादमा आधारित माक्र्सवादको चुरो कुरा ‘राजनीतिक मुद्दा र नेतृत्व समयसापेक्ष हुनुपर्छ ।’ नीति र नेतृत्वको तादात्म्यले मात्र नेतृत्वले नीतिगत अवधारणा स्थापित गर्न सक्छ । ‘रोम जलिरहँदा राजा निरो बाँसुरी बजाइरहेको छ’ भने जस्तै सुखसयलमा मात्र रम्ने राजनीतिज्ञ वा राष्ट्रप्रमुखले देश र जनताको हितमा कुनै काम गर्न सक्दैनन् । 

जनयुद्धको नेतृत्व गर्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा खरो रूपमा जुटिरहनुभएको छ । ‘एक रातमा रोम बनेको होइन’ भने जस्तै नेपाल बनाउने इच्छाशक्ति लिएर नै उहाँ करिब दैनिक १८ घण्टाभन्दा बढी खटिरहनुभएको छ । यो सबै देश र जनताको हितकै लागि हो । प्रचण्ड नेतृत्वमा पुग्न र सधैँ नेता हुन बारम्बार राजनीतिक तराजुमा जोखिनु पर्छ भन्ने सिद्धान्तको पक्षपोषण गर्नुहुन्छ । 

जनयुद्धकै दौरानमा माक्र्सवादको नेपाली चरित्रको विश्लेषणसहित संश्लेषित ‘प्रचण्डपथ’ उहाँले प्रतिपादन गर्नुभए पनि अहिले समग्र राजनीतिका लागि थाती राख्नुभएको छ । उहाँले सोही अनुसार आफ्नो राजनीतिक गतिविधिलाई नबढाए पनि सारमा निरन्तर अगाडि बढाइरहनुभएको छ । हिंसात्मक राजनीतिक गतिविधि गरेर छोटो समयमा शासनको बागडोर सम्हाल्ने उहाँ मात्र एक सफल नेतृत्व हुनुहुन्छ । राजनीति र कूटनीति अभिभाज्य हुनु पर्छ र राजनीतिक दाउपेचबाट मात्रै कूटनीतिलाई पनि तार्किक निष्कर्षमा पु¥याउन सकिन्छ भन्ने मान्यता उहाँको छ । 

राजनेता वा विश्वनेता बन्न लामो समय लाग्न सक्छ । यसरी स्थापित हुने नेताको नीति, नीतिको महìव, नीतिको औचित्य, नीतिको तादात्म्य र नीतिको व्यावहारीकरण हुनु अति आवश्यक छ । नेताको पहिचान, नेताको अस्तित्व, नेताको महिमा र नेताको गौरवपूर्ण इतिहास स्मरणयोग्य हुनु आवश्यक छ । जनता, समाज, देश र विश्वको मार्गदर्शन गर्न सक्ने व्यक्तित्व मात्रै असली राजनेता हुन्छ । वर्गीय सङ्घर्षमा २१ आँै शताब्दीमा जन्मिएको पहिचानको आन्दोलनलाई सही बाटोमा लैजान सकेकै कारण प्रचण्डको यो स्थान बनेको हो । 

नेपालमा पहिचानको आन्दोलन नयाँ सामाजिक आन्दोलनका रूपमा स्थापित गर्दै जातीय, क्षेत्रीय, लिङ्गीय, भाषिक र धार्मिक रूपले नयाँ कोणबाट प्रचण्डले सुरुवात गर्नुभयो । यसलाई राजनीतिक रूपमा गोलबन्द गर्दै माक्र्सवादी वर्गीय चेतनाको लैस दिएर दीर्घकालीन जनयुद्ध र सहरी सशस्त्र विद्रोहको सूत्रपात गर्दै शान्तिपूर्ण रूपमा क्रान्तिलाई मूलप्रवाहमा लगेर टुङ्ग्याउन सफल हुनुभयो । पार्टीमा महामन्त्री प्रचण्ड हुँदै प्रधानमन्त्रीसम्म पुग्दा उहाँ सामाजिक र राजनीतिक आन्दोलनका नेतृत्वकर्ता हुनुभयो । प्रचण्ड अहिले गणतन्त्र, सुदृढ लोकतन्त्र, सामूहिक शासन पद्धति भएको सङ्घीयतालाई व्यावहारिक रूपमा पनि लागु गर्ने नेतृत्वकर्ता बन्नुभएको छ । बाह्रबुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको मुख्य हस्ताक्षरकर्ताका रूपमा समकालीन नेपाली राजनीतिमा उहाँको योगदान अतुलनीय छ । 

शान्तिको अनुयायी गौतम बुद्धको देश नेपाललाई वास्तवमै शान्तिको देश बनाउन उहाँले धेरै भूमिका निर्वाह गर्नुभयो । बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश नेपाललाई धर्मनिरपेक्ष मुलुकका रूपमा स्थापित गराउनुभयो । चार जात ३६ वर्णको साझा फूलबारीको नेपाललाई राजनीतिक रूपमा समानुपातिक र समावेशी पहिचान दिलाउने काम प्रचण्ड नेतृत्वको जनयुद्धबाट भयो । समाजवादी राज्यव्यवस्था निर्माण गर्ने दिशामा उहाँको तेस्रो प्रधानमन्त्री कार्यकालको एक वर्षमा केही आधारभूत कामको थालनी भएको छ ।

नेपालको राजकीय सत्ताको बागडोर सम्हालिरहँदा उहाँले प्रतिपादन गर्नुभएको ‘प्रचण्डपथ’ लाई कुनै पनि हदमा बेवास्ता गर्न मिल्दैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदै तेस्रो पटक प्रधानमन्त्री बन्दा करिब शतप्रतिशत उहाँले विश्वासको मत प्राप्त गर्नुभयो । उता अन्तर्राष्ट्रिय भाइचारासँगको सामीप्यताले पनि उहाँ दृढसङ्कल्पसहित अग्रगमनको दिशामा हुनुहुन्छ भन्ने देखिन्छ । उहाँले प्रतिपादन गर्नुभएको विचार स्थापित भइरहेकाले पनि नेपाललाई युगसुहाउँदो विकासको मोडेललाई सफलतापूर्वक अगाडि बढाइरहनुभएको छ ।

विसं २०५२ साल फागुन १ गते जनयुद्धको शङ्खघोष गर्नुभएका प्रचण्ड बहुआयामिक नेतृत्वका रूपमा विराजमान हुनुहुन्छ । अन्तर्राष्ट्रिय सर्वहारा वर्गको समकालीन विश्वमा नयाँ विचार शृङ्खलासहित व्यावहारिक रूपमा जनयुद्धको सही प्रयोग उहाँले गर्नुभयो । ‘लडाकुको देश’ को उपनाम पाएको नेपाल र भाडाका सेना जन्माउने देश नेपाल विश्वमा क्रान्ति गर्न सक्ने देश हो भनेर पनि यस अवधिमा प्रमाणित भएको छ । भूपरिवेष्टित देश नेपाल अहिले भूराजनीतिक जडित देशका रूपमा स्थापित गराउने भूमिकाको केन्द्रमा प्रचण्ड नै हुनुहुन्छ । दुई ठुला छिमेकी देशसँग समदुरीको सिद्धान्तमा रहेको नेपाललाई पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिलाई नेपालसुहाउँदो बनाउनु पर्छ भन्ने मान्यताको पक्षपाती हुनुहुन्छ प्रचण्ड । 

विकासोन्मुख देशमा औद्योगिक देशले उत्सर्जन गर्ने कार्बनका कारण र त्यसबाट भएको मौसम परिवर्तनको असरबाट नेपाल पनि अछुतो छैन । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घमै गएर क्षतिपूर्तिको मागसमेत गर्नुभयो । यस्तै राष्ट्रसङ्घका महासचिवलाई नेपाल आउन निमन्त्रणा दिएर विश्वमा युद्ध भइरहेका देशलाई पनि गौतम बुद्ध जन्मेको लुम्बिनीबाट शान्तिको सन्देश दिलाउन सफल हुनुभयो । यसरी समयसापेक्ष कहिले क्रान्तिको सन्देश र कहिले शान्तिको सन्देश दिन सफल नेतृत्वका रूपमा मात्र होइन, विकासशील राष्ट्रको नेताका रूपमा पनि प्रचण्डले आफ्नो भूमिकालाई फराकिलो पार्दै लैजानुभएको छ । 

‘ठोस वस्तुको ठोस विश्लेषण’ भन्ने द्वन्द्ववादी माक्र्सवादलाई हृदयङ्गम गरी रणनीतिक उद्देश्य पूर्तिका लागि कार्यनीतिक र व्यावहारिक अभ्यास गर्नु पर्छ भन्ने मान्यतालाई उहाँले अङ्गीकार गर्नुभएको छ । विद्रोहमै रहँदा पनि संसदीय पार्टीलाई आफ्नो प्रभावमा पार्न सफल भएका कारण प्रचण्डले करिब डेढ दशकदेखि संसद्वादको प्रयोग गर्दै आफूलाई कुशल पाइलटका रूपमा प्रमाणित गर्नुभएको छ । यही अवधिमा २९ औँ जनुयद्व दिवसको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको माओवादी पार्टीले विधान सम्मेलन गरेर नयाँ शिराबाट युगसुहाउँदो पार्टी निर्माणको उद्घोष गरेको छ । नयाँ पार्टी निर्माणसँगै सङ्गठन, पार्टीको नाम, कार्यनीति कस्तो आउने हो, सोही अनुसार आउँदा दिनमा जनयुद्धले दिशानिर्देश गरेको रणनीतिसम्म पुग्न कसरी उहाँले आफ्नो भूमिका निर्वाह गर्नुहुन्छ, सोही अनुसार पार्टीको भविष्य निर्धारण हुने छ ।