• ९ मंसिर २०८१, आइतबार

आदर्श सारथिको अवसान

blog

मुलुकले एक उदाहरणीय नारी योद्धा गुमाएको छ। हारमा नआत्तिन र जितमा नमात्तिन हौसला बढाउने महिला नेतृ मुलुकले सायदै मात्र पाउँछ। सधैँ देश र पार्टीको पक्षमा दृढ भएर उभिन प्रण गर्ने मात्र होइन, अरूलाई पनि पे्ररणा दिने माओवादी नेतृ सीता दाहालले हामीलाई सदाका लागि छाडेर जानुभयो। उहाँको पार्थिव शरीरले यो धर्ती छोडेपछि उहाँले दिएका योगदानको विभिन्न कोणबाट बहस र चर्चा–परिचर्चा भइरहेको छ। 

रामायणकालीन जानकीको नाम रहेको सीताको नाम, काम र विचारसँग झन्डै मेल खाने उहाँको भद्र, शान्त, शालीन, सरल र स्पष्ट स्वभावले पनि उहाँलाई यो उचाइमा पु¥याएको हो। शारीरिक अवस्थाले साथ नदिएपछि सीताले सन् २०२१ मा भारतमा, २०२० मा अमेरिकामा र जुन, २०१८ मा सिङ्गापुरमा उपचार गराउनुभएको थियो। लामो समयदेखि स्वदेशमै उपचार भइरहे पनि अन्ततः उहाँले मृत्युलाई जित्न सक्नुभएन। नेपाली नारीका ढुकढुकी सीताले सबैलाई रुवाएर सदाका लागि बिदा हुनुभयो। यसले नेपाली महिला आन्दोलन मात्र टुहुरो भएको छैन, सिङ्गो माओवादी सङ्गठनलाई ठुलो चोट पुगेको छ।

जनयुद्धको शङ्खघोष गरेसँगै एकाएक चर्चामा आउनुभएका उहाँका पति तीन पटकसम्म प्रधानमन्त्री हुनुभयो। सीताले उहाँलाई कहिल्यै पनि आफ्नो कारणले विवादमा ल्याउने काम गर्नुभएन। १० वर्षे जनयुद्धको दौरानमा पार्टीभित्र कमरेड ‘शिला’ र ‘ज्वाला’ को नामले पनि परिचित सीताले पार्टीभित्र र बाहिर सङ्कट पर्दा राजनीतिक र पारिवारिक रूपमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बेलाबेलामा सल्लाह दिएर ती समस्याको समाधान गर्नुहुन्थ्यो। नेकपा (माओवादी) बन्ने दिशामा होस् वा भूमिगत कालमा आइपर्ने वर्गसङ्घर्ष र लाइन सङ्घर्ष होस्, उहाँले सधैँ क्रान्तिकारी पक्षलाई साथ दिएर पार्टीलाई हरसम्भव एकताबद्ध गर्ने कोसिस गर्नुहुन्थ्यो। उहाँको प्रयत्नले थुप्रै महासङ्कट, महाप्रलय र महाविपत्तिको बेलामा क्रान्तिकारी जहाज जोगिएको थियो। 

सङ्घर्षका नेतृत्वकर्ताको जोड र कोणमा नमिलेका वैचारिक, दार्शनिक र सैद्धान्तिक अवधारणालाई उहाँ निपुणका साथ व्यावहारिक रूपमै समाधानमा सघाउन हरप्रकारले लाग्नुहुन्थ्यो। सशस्त्र सङ्घर्षको बेलामा आइपर्ने जस्तो सुकै सङ्कटलाई पनि एक अभिभावकको भूमिकामा रहेर उहाँले खोलाको दुई किनारालाई पनि सधैँ एकापसमा मिलाउने गर्नु हुन्थ्यो। पार्टीका शीर्षस्थ नेतृत्वमा हुने वैचारिक सङ्घर्षको बेला आ–आफ्ना वैचारिक मतभेद थाती राखेर प्रमुख रूपमा वर्गीय सङ्घर्षलाई ध्यान दिनुपर्ने तर्कका साथ उहाँले पार्टीलाई एकताबद्ध गर्नु हुन्थ्यो। 

महामन्त्री प्रचण्ड र पार्टीका अगुवा मोहन वैद्य ‘किरण’ बिचको असमझदारी, महामन्त्री प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबिचको नीति र नेतृत्वबिचको रस्साकस्सी वा महामन्त्री प्रचण्ड र सङ्गठन प्रमुख रामबहादुर थापाबिचको समन्वयको अभावमा हुने गरेका रोदन–क्रन्दनलाई कमरेड शिलाले सोही क्षमताको आधारमा सबैलाई एकत्रित गर्ने सेतुको भूमिका निर्वाह गर्नुहुन्थ्यो। जब ती एकताको त्यान्द्रो चुँड्छ, तब पनि उहाँले हरहमेसा प्रत्यत्न गरेर पुनः ती नेता र समूहलाई पार्टीमा पुनर्मिलन गराउनु हुन्थ्यो।

पार्टीबाट फुटेर गएपछि मोहन वैद्य ‘किरण’ को पार्टीमा समाहित भएका र पछि पुनः त्यहाँबाट पनि विद्रोह गरेर आएको बादल समूहलाई पुनः पार्टीमा भित्र्याउन सीताले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ। यस्तै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको एकता हुँदा उहाँ औधी खुसी हुनुभएको थियो। उहाँ सबै नेतालाई सन्तुलित र सुमधुर सम्बन्ध बनाउन अभिभावकीय भूमिकामा रहनुहुन्थ्यो। पार्टी सङ्कटमा पर्दा पति अध्यक्ष प्रचण्डलाई साथ दिने र जुनसुकै परिस्थितिको सामना गर्न सक्ने ऊर्जा भर्ने सीताको योगदानकै कारण निरन्तर श्रद्धाको केन्द्र बनिरहनुभयो। 

‘आमा’ को पनि उपनाम पाउनुभएकी उहाँको अभिभावकीय भूमिका सङ्कटका बेला प्रस्फुटित हुन्थ्यो। त्यसैले त आमा उपनाम जोडियो। समन्वयकर्ताको भूमिकामा उहाँले अपूरणीय र अनुकरणीय योगदान दिनुभएको छ। उहाँ विवाह भएदेखि मृत्युपर्यन्तसम्म प्रधानमन्त्री प्रचण्डको जीवनसङ्गिनी मात्र होइन उहाँको सारथि नै बन्नुभयो।

विसं २०५२ देखि नेकपा (माओवादी) ले सुरु गरेको जनयुद्धमा उहाँ पार्टीमै खटिनुभयो। प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक सरकारको नेतृत्व गर्दै गर्दा नेतृ सीता बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो तर यसअघिका दुई कार्यकालमा प्रधानमन्त्री प्रचण्डलाई उहाँले सफल बनाउन र पार्टीका नेताहरूलाई जनताका पक्षमा काम गर्न निरन्तर अभिप्रेरित गरिरहनुभयो। उहाँले सधैँ नेता तथा कार्यकर्तालाई क्षमता अनुसार स्थान र नियुक्ति दिन प्रधानमन्त्री प्रचण्डलाई सचेत गराइरहनुहुन्थ्यो। 

नेतृ दाहालको जीवनी भावी पुस्ताका लागि स्मरणीय र प्रेरणाको स्रोत हो। पार्टी सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, निःस्वार्थ एवं समर्पण नै उहाँका विशेषता थियो। जीवनभर प्रचण्डको सही सल्लाहकारको भूमिका निर्वाह गर्नुभयो। पढेलेखेको, सहरी परिवेशको टाठाबाठालाई मात्र जान्नेबुझ्नेका रूपमा लिनेहरूका लागि उहाँ एक असल सङ्गठक, कुशल नेतृ र आमा मात्रै होइन, जिम्मेवार पत्नी पनि हुनुभयो। पढेरभन्दा परेर पनि सङ्घर्षबाटै खारिएर आउन सकिन्छ भन्ने मान्यता पनि उहाँको कार्यकुशल क्षमताले स्पष्ट पार्छ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग पिएसपीपीडित सीता दुई वर्षदेखि अचेत हुनुहुन्थ्यो। केही वर्षअघि छोरी ज्ञानु दाहालको क्यान्सरबाट निधन भएपछि शोकाकुल हुनुभएकी सीता पछि एक्लो छोरा प्रकाश दाहाललाई पनि गुमाउनुपर्दा अचानक कमजोर बन्दै जानुभयो।  प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबारसम्म करिब दस हजारभन्दा बढी शुभचिन्तकले प्रधानमन्त्री पत्नी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन्। यस्तै सयौँ सङ्ख्यामा विभिन्न सङ्घसंस्थाले शोक पुस्तिकामा शोक वक्तव्य लेखेका छन्। सयौँले तस्बिरमा शोक वक्तव्य लेखेर सम्बद्ध पक्षलाई श्रद्धाञ्जली दिएका छन्।

उहाँको मृत्युसँगै जनताले एक असल अभिभावकका रूपमा ‘आमा’ गुमाएसरी अस्पताल, पार्टी कार्यालय र पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिएको अन्त्येष्टिमा जनउभार देखिएको थियो। देशभर देखिएका श्रद्धाञ्जली र समवेदनाका सामाजिक सञ्जाल, सञ्चारगृह मात्र होइन, बालुवाटारमा देखिएको जनलहरदेखि राजनीतिक, सामाजिक, नागरिक अगुवासँगै करिब २८ वटा विभिन्न देशका राजदूतले भावपूर्ण श्रद्धाञ्जली र आवासीय संस्थाका राजदूतहरूबाट व्यक्त विचारको मन्थन गर्न जरुरी छ।

संयुक्त राष्ट्रसङ्घ, सार्क, अमेरिका, बेलायत, साउदी अरेबिया, म्यानमार, जापान, दक्षिण कोरिया, पाकिस्तान, बङ्गलादेश, अस्ट्रेलिया, ब्राजिल, उत्तर कोरिया, इजिप्ट, इजरायली राजदूत, स्विट्जरल्यान्ड, मलेसिया, थाइल्यान्ड, जर्मनी, फिनल्यान्ड, श्रीलङ्का, रुसका प्रतिनिधिले प्रधानमन्त्री र उहाँको परिवारलाई भेटेर समवेदना प्रकट गर्नुहुँदै ‘राष्ट्रमाता’ का रूपमा सम्मान प्रकट गरेका छन्।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै शोक व्यक्त गर्नुभएको छ। “श्रीमती सीता दाहालको निधनका बारेमा थाहा पाउँदा अत्यन्तै दुःखित छु। हार्दिक समवेदना प्रकट गर्दछु र मृत आत्माले चिरशान्ति पाऊन् भनेर प्रार्थना गर्दछु। ओम शान्ति।” एक दिने औपचारिक भ्रमणमा आउनुभएका अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले गहिरो समवेदना सन्देशमा भन्नुभएको छ, “हामी श्रीमती दाहाल र महान् राष्ट्रका लागि उहाँको धेरै योगदानको याद गर्ने छौँ।”  चिनियाँ राजदूत चेन सोङले “नेपालको सामाजिक र आर्थिक विकासमा, चीन र नेपालबिचको मित्रतामा उहाँको योगदान सदैव स्मरणीय रहने छ” भन्दै दुःख व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा, विभिन्न पार्टीका नेता, कर्णाली प्रदेशका प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, उद्योगपति विनोद चौधरीले पनि समवेदना प्रकट गर्नुभएको छ। 

यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक आदर्श धर्मपत्नी, ममतामयी माता तथा पतिको राजनीतिक यात्राको सहयात्री सीता दाहालको योगदान सदासर्वदा स्मरणीय रहने विश्वास लिएको छु भनेर उल्लेख गर्नुभएको छ। त्यस्तै सुशील कोइराला मेमोरियल फाउन्डेसनले लेखेको शोक वक्तव्यमा “प्रचण्डको भूमिगत जीवन तथा सशस्त्र विद्रोहको सङ्गममा चार सन्तानको लालनपालन गर्न सक्ने आमाको भूमिकाको आत्मवृत्तान्त कस्तो थियो भन्ने कौतुहलता नेपाली नारीका लागि खोजको विषय बन्ने छ” उल्लेख छ।

उहाँ २०२८ सालदेखि कम्युनिस्ट आन्दोलनमा संलग्न हुनुभएको थियो। र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र र सामाजिक रूपान्तरणका लागि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। केन्द्रीय समितिका केन्द्रीय सल्लाहकार र प्रधानमन्त्रीकी पत्नीका रूपमा मात्र नभई सफल सहजकर्ता र मध्यस्थकर्ताका रूपमा उहाँले विभिन्न खाले उतार–चढावमा समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो।

गतिशील, अन्तर्मुखी र मिलनसार हृदय भएकी सीताले छोरा प्रकाशलाई प्रचण्डको वरिपरि रहन आग्रह गर्दै नेता, कार्यकर्ता र जनताबिचको बढ्दो दुरीलाई पुलका रूपमा काम गर्नुहुन्थ्यो। नेपाली समाज परिवर्तनका लागि उहाँको ठोस र व्यावहारिक सल्लाहका कारणले पनि प्रधानमन्त्री प्रचण्ड यो स्थानसम्म पुग्नुभएको हो। “केही नगरी मर्नुभन्दा न्यायपूर्ण समाजका लागि लडेर युद्धमा मर्नु राम्रो।” भोगविलास, ऐसआराम, वैभव ऐश्वर्यप्रतिभन्दा देश र जनताप्रति नै समर्पित रहँदै उहाँले जसरी आफूलाई आफ्नो जीवन सार्थक बनाउन प्रयत्न गर्नुभयो, सो सबैका लागि अनुकरणीय छ।

लेखक गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक हुनुहुन्छ।