• १२ साउन २०८१, शनिबार

पुरस्कार लिनै सङ्कोच

blog

काठमाडौँ, माघ २४ गते । आफ्नो जमानामा निरन्तर पुरस्कारको सूचीमा पर्नुहुने सङ्गीतकार शम्भुजित बाँस्कोटा अहिले दिइने पुरस्कार लिन सोधखोज गर्नुहुन्छ । संस्थाको उद्देश्य, आफूलाई पुरस्कार दिनुपर्ने औचित्यलगायतका कुरामा जानकारी लिएर मात्र पुरस्कार थाप्न जाने गरेको बताउनुहुन्छ । 

पछिल्लो दिनमा नयाँ नयाँ संस्था  खोल्ने अनि समाजका विभिन्न व्यक्तिलाई पुरस्कारका लागि मात्र बोलाउने होडबाजी चलेपछि उहाँले जुनसुकै संस्थाले पुरस्कार थाप्न बोलाउँदा नजाने गरेको बताउनुभयो । उहाँले गोरखापत्रसँग भन्नुभयो, “यस्तो प्रवृत्ति देखिएपछि मैले अवार्ड नलिने घोषणा नै गरिदिएको छु ।”

उहाँले भन्नुभयो, “अवार्ड दिनु पर्छ, लिनु पर्छ तर त्यसको गरिमा के हो र त्यो कस्तो अवार्ड हो भन्ने हामीले थाहा पाउनु पर्छ । यहाँ अवार्डको नाममा अवार्ड नै भइरहेकाले मैले पुरस्कार थाप्ने कुरामा अलि विचार गर्न थालेको छु ।” दैनिकजसो पुरस्कार वितरण सभा, समारोह हुने प्रवृत्ति देख्दा पुरस्कार पाउनेको पनि महत्व खस्किन थालेको बताउनुभयो । उहाँ थप्नुहुन्छ, “अहिले अवार्ड लिन जाँदा पनि लाज लाग्छ । अब अवार्ड लिनेलाई पनि लाज लाग्न थाल्नुपर्ने हो ।” 

उहाँको अनुभव फरक खालको पनि छ । अवार्डको नाममा व्यापार भइरहेको कुरा सहजै स्वीकार्दै उहाँ भन्नुहुन्छ, “अवार्डमा व्यापार भइरहेको छ कि भन्ने भान हुन थालेको छ ।”  

नेपाली चलचित्रको विकास र प्रोत्साहनका लागि भन्दै वार्षिक रूपमा दर्जनभन्दा बढी अवार्ड आयोजना हुँदै आएका छन् तर कतिपय अवार्ड पाउँदाभन्दा नपाउँदा नै खुसी हुनुपर्ने अवस्था आएको कलाकारहरू बताउनुहुन्छ । नायिका केकी अधिकारीले भन्नुभयो, “अवार्डका नाममा यहाँ अवार्डको खेती पनि हुन थालेको छ । जसले गर्दा पुराना कलाकारलाई निकै निरुत्साहित बनाएको छ । फेरि सबैले अवार्ड पाउनकै लागि भनेर काम गर्ने पनि त होइन ।” निर्देशक केपी पाठकको अनुभव पनि उस्तै छ । उहाँले भन्नुभयो, “नेपाली चलचित्रको बजार सानो छ तर यहाँ अवार्ड दिने र लिने काम छ्याप्छ्याप्ती भइरहेका छन् । यहाँ यति धेरै पुरस्कार वितरण भइसकेका छन् कि अहिले पुरस्कार नपाउने बिरलै भेटिन्छन् ।” 

पाठक भन्नुहुन्छ, “पुरस्कार दिने र लिने कुरा अब कसैको सम्मानको विषय रहेन र यसले त्यति महìव राखेको पनि देखिँदैन । यहाँ कुनै न कुनै पुरस्कार नपाउने सर्जक कमै बाँकी होलान् ।” पुरस्कार लिने दिने कुरामा रकम लेनदेन हुन्छ भन्ने पनि सुनिन्छ भन्ने जिज्ञासामा पाठक भन्नुहुन्छ, “यो प्रतिष्ठाका लागि पनि हुन सक्छ र विदेश यात्राका लागि पनि हुन सक्छ । यहाँ जस्तो हल्ला पनि चल्छ । फेरि यस्ता कुराले हाम्रो कला जगत्को गरिमामा आँच पु¥याउँछ ।”  उहाँका अनुसार पहिले पहिले वितरण गरिने पुरस्कार सभा समारोहमा वरिष्ठ कलाकार, सर्जकको बाक्लो उपस्थिति हुने गथ्र्याे तर अहिले त पुरस्कार लिने र दिनेसहित सीमित मानिसको मात्रै उपस्थिति हुने गरेको छ । यसले के कुराको सङ्केत गरेको होला ? आफैँ अनुमान गर्न सकिन्छ । 

अहिले अवार्डका संस्थापक–आयोजक र निर्णयकर्ताको मिलेमतोमा आफूले चाहेको र आफ्नो स्वार्थका आधारमा कसैलाई पनि सम्मानित गर्ने चलन ह्वातै बढेको छ । अवार्ड कार्यक्रम किन र केका लागि गरिन्छ भन्ने कुरा कति आयोजक र निर्णायक मण्डललाई नै थाहा दिइँदैन । कतिपय स्थानमा त नसुनिएको विधामा पुरस्कार दिइएको सुनिने गरेको छ ।