काठमाडौँ, माघ १८ गते । साठीको दशकतिर नेपाली चलचित्रमा पुरानो प्रविधिमा सेल्युलाइड क्यामरामार्फत नेगेटिभमा चलचित्र खिचिन्थे । त्यतिखेर चलचित्रको बजार सानो थियो । चलचित्र पनि कम निर्माण हुन्थे । समय परिवर्तनसँगै चलचित्रको बजार विस्तार भएको छ । पछिल्ला दिनमा डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार पनि विस्तार हुन थालेको छ । पहिले सेल्युलाइड प्रविधिमा चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्र मात्र प्रदर्शन गरिन्थ्यो । प्रिन्ट तयार गर्न निर्माताको खर्च हुने भएकाले एकसाथ नेपालभर प्रदर्शन सम्भव थिएन । अहिले प्रविधिले गर्दा त्यो अवस्थाको अन्त्य भएको छ । चलचित्रमा प्रविधिले राम्रो फड्को मारेको छ ।
चलचित्रमा प्रयोग हुने डिजिटल प्रविधिले चलचित्र उद्योग थप व्यावसायिक र व्यवस्थित भएको चलचित्रकर्मीको ठहर छ । चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार डिजिटल प्रविधिको प्रयोगले चलचित्रको सङ्ख्यासँगै गुणस्तर पनि बढेको छ ।
पहिला विदेशी चलचित्रसँग हामी छायाङ्कन प्रविधिका कारणले कमजोर देखिन्थ्यौँ तर अहिले त्यो अवस्था छैन । हामीसँग पनि उनीहरूले नै प्रयोग गर्ने प्राविधिक चिज छन् । डिजिटल प्रविधिमा आइसकेपछि चलचित्र छायाङ्कनमा देखिने सानातिना त्रुटि पनि तुरुन्तै देखिन्छ । अहिले आधा चलचित्र टेबलमा नै बन्छ । गिरीले भन्नुभयो, “डिजिटल प्रविधि हाम्रा लागि वरदान नै भएको छ ।”
पुरानो चलचित्र ‘कागबेनी र ‘सानो संसार’ निर्माण एवं प्रदर्शनसँगै नेपाली चलचित्रले डिजिटल यात्रामा प्रवेश गरेको थियो । त्यसपछि भने नयाँ प्रविधिप्रति अन्य निर्माताको पनि ध्यान खिचियो । डिजिटल प्रविधि चलचित्रले उद्योगलाई चलायमान बनाउने काम ग¥यो । प्रविधिले गर्दा चलचित्र क्षेत्रमा आकाश जमिनको फरक आएको निर्देशक दीपेन्द्र के खनालको अनुभव छ । डिजिटल प्रविधिको प्रयोगले चलचित्रको स्तर धेरै माथि उठेको उहाँको भनाइ छ । पहिला जस्तो रिटेक गर्नु पर्दैन । यसले समयको पनि बचत गरेको छ ।
चलचित्र निर्माणको सुरुवातदेखि डिजिटल यात्रा सुरु हुनुसम्मको अवधि निकै चुनौतीपूर्ण र कष्टकर थियो । चलचित्र खिच्नदेखि हललाई समेत डिजिटलाइज्ड गर्न ठुलो मेहनत गर्नुपथ्र्याे तर अहिले डिजिटल माध्यमले चलचित्र निर्माण गर्न पनि प्राविधिक रूपमा सजिलो बनायो । प्रविधिका कारणले चलचित्रको सङ्ख्या पनि बढ्यो ।
कलाकार सरोज खनाल भन्नुहुन्छ, “पहिला चलचित्रमा अभिनय गर्दा १६ एमएममा चलचित्र बन्थे । त्यो समय ल्याब थिएन । कस्तो चलचित्र बन्दै छ भन्ने क्यामरामेनलाई बाहेक कसैलाई थाहा हुँदैनथ्यो । एउटा डिब्बामा चलचित्र बोकेर धुलाउन भारतको मुम्बई पठाउने चलन थियो । धोएर ल्याएपछि तत्कालीन चलचित्र विकास संस्थानको पर्दामा धमिलो दृश्य हेर्दै लिप्सिङ गर्नु पथ्र्याे । डबिङको समयमा पनि निकै गाह्रो हुन्थ्यो । रिटेक गर्ने अवसर खासै प्राप्त हुन्थेन ।’’
अहिले चलचित्र निर्माण (पोस्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । चलचित्र प्रदर्शनमा एचडी हुँदै फोरकेसम्मको प्रविधि, ध्वनिमा आधुनिक प्रविधि र रङ संयोजन जस्ता गतिविधिले नेपाली चलचित्रलाई विदेशी स्तरका चलचित्र बराबर बनाएको छ । डिजिटल प्रविधिसँगै एकसाथ देशभरका हलमा चलचित्र प्रदर्शन हुन थालेपछि निर्माता तथा निर्देशकमा उत्साह पनि थपिएको छ ।