• १ वैशाख २०८१, शनिबार

रातो मत्स्येन्द्रनाथलाई पाटनमा ल्याइने

blog

ललितपुर, माघ १७ गते । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथ बुधबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर विराजमान गराइने भएको छ । करुणामय मत्स्येन्द्रनाथलाई छ महिना पाटनमा र छ महिना बुङ्मती राखिने चलन अनुसार शुभ साइत हेरेर  पाटनको तःबहाल ल्याउन लागिएको हो । मत्स्येन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीका अनुसार बुधबार बिहानको शुभ साइत अनुसार साङ्केतिक रूपमा भगवान्लाई हल्लाएर दिउँसो खटमा बोकेर ल्याइने भएको छ । 

दिउँसो गुठी संस्थानका कर्मचारी बुङ्मती आएर पूजापाठ गर्ने र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पुजारी अर्थात् पानेजुले रातो मत्स्येन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित काठमाडौँ उपत्यकाका बासिन्दाको  सहभागितामा बाजागाजासहित खटमा बोकेर पाटन ल्याइने जोशीले जानकारी दिनुभयो । हरेक वर्ष पाटनबाट सुरु हुने मत्स्येन्द्रनाथको जात्रा बुङ्मती पुगेर सकिन्छ । त्यसपछि फेरि बुङ्मतीबाट पाटन ल्याउने चलन रहेको छ । बुङ्मतीको मुख्य बाटोबाट नै देवतालाई खटमा बोकेर पाटन ल्याइन्छ । हरेक बाह्र वर्षमा हुने जात्रामा भने पुरानो बाटो (जुन बाटो अहिले चलनचल्तीमा छैन) बाटै ल्याउने गरिएको छ । पानेजु सङ्घको नियम अनुसार नै पानेजुहरूले मन्दिरमा पालो बस्ने, देवता बोक्नेलगायतका काम पालो गर्छन् । 

करुणामय मत्स्येन्द्रनाथलाई पाटन ल्याउनका लागि विभिन्न खालको तयारी गरिन्छ । जोशीका अनुसार देवताको आवरण फेर्ने, शृङ्गार गर्नेलगायतका काम गरिन्छ । सोही दिन बिहान कर्ता, जजमान, पानेजु मिलेर करुणामयको विधिपूर्वक पूजा गर्ने गरिन्छ ।  रातो मत्स्येन्द्रनाथको जात्राका लागि दुई पटक साइत हेरिन्छ । पहिलो पटक बुङ्मतीमा रहेका देवता पाटनमा ल्याउनका लागि र दोस्रो पटक रातो थट्टिटोलमा रहेका देवतालाई जावलाखेल लैजान साइत हेरिन्छ । 

बर्सेनि आउने जात्राले पाटनवासीमा हर्ष मात्रै ल्याउँदैन एकताको भावनासमेत ल्याउने गरेको छ । जात्राका अवधिमा विभिन्न जातले गर्ने फरक फरक काम तोकिएको छ । एउटा जातको सहयोग नभई जात्राको तयारी पूरा नहुने भएकाले पनि रातो मत्स्येन्द्रनाथको जात्रा सिङ्गो पाटनवासीलाई जोड्ने जात्रासमेत बन्दै गएको छ । 

करिब १६ सय वर्षअघि सुरु भएको मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ । नेवारी परम्परा अनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुवात गराएको पौराणिक कथन छ । हिन्दु धर्मावलम्बी मत्स्येन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयका रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन् ।