• २३ वैशाख २०८१, आइतबार

‘गर्भावस्थामा पनि थाइराइडको औषधी खान मिल्छ’

blog

काठमाडौं, माघ ७ गते । पछिल्लो समय थाइराइडका बिरामी बढ्दैगएका छन् । मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. मनीषा मिश्रले थाइराइडका बिरामी बढ्दै गए पनि गर्भावस्थामा पनि बिरामीले औषधी सेवन गर्न मिल्ने बताउनुभएको छ । 

उहाँका अनुसार नेपालमा यकिन तथ्याङ्क नभए पनि जनसङ्ख्याको १० देखि १५ प्रतिशतमा थाइराइडको समस्या भएको अनुमान गरिएको छ । डा. मिश्रका अनुसार थाइराइड महिलामा बढी देखिने गर्छ । डा. मिश्रका अनुसार थाइराइड घाँटीको छेउमा पुतलीको आकारको ग्रन्थि हो । यो ग्रन्थिले हार्मोन उत्पादन गरी टाउको देखि खुट्टासम्म पुर्‍याउने काम गर्छ । हार्मोन शरीरका अङ्गलाई राम्ररी चलाउन आवश्यक पर्छ । 

थाइराइड हार्मोन उत्पादनको हिसाबले हाइपो थाइराइडिज्म’ र हाइपर थाइराइडिज्म’ भनेर विभाजन गरिएको डा. मिश्र बताउनुहुन्छ । डा. मिश्रका अनुसार थाइराइड ग्रन्थिले शरीरको लागि कम हार्मोन उत्पादन गर्ने प्रक्रियालाई ‘हाइपो–थाइराइडिज्म’ भनिन्छ । थाइराइड ग्रन्थिले शरीरलाई चाहिनेभन्दा बढी हार्मोन उत्पादन गर्ने प्रक्रियालाई ‘हाइपर थाइराइडिज्म’ भनिने डा. मिश्रको भनाइ छ । 


दुवै प्रकारका थाइराइड महिलामा बढी देखिने गर्छ । हाइपो र हाइपर थाइराइडिज्म’ फरक-फरक लक्षण देखिने डा. मिश्र बताउनुहुन्छ । हाइपो थाइराइडिज्ममा थाक्ने, गल्ने, आलस्ययता हुने, हातगोडा सुनिने, कपाल झर्ने, छाला खस्रो हुने, मोटाउँदै जाने, महिनावारी गडबड हुने, बाझोपनको समस्या उत्पन्न हुने, कब्जियत हुनेजस्ता लक्षण देखिने गर्छ । 

हाइपर थाइराइडिज्ममा बिरामी दुब्लाउँदै जाने, पसिना बढी आउने, डायरिया हुने, महिनावारी गडबड हुने, हात काँप्ने, मुटुको धड्कन बढ्नेजस्ता लक्षण देखिने गर्छ । लक्षणका आधारमा थाइराइड भए नभएको पता लगाउन नसकिने डा. मिश्रले जानकारी दिनुभयो । थाइराइडका लक्षण अन्य रोगसँग मिल्दाजुल्दा हुने भएकाले रोग ढिला गरी पत्ता लाग्ने उहाँ बताउनुहुन्छ ।

रगतको जाँच गरेर हार्मोनको मात्र कति छ भनेर पत्ता लगाउन सकिने डा. मिश्र बताउनुहुन्छ । उहाँका अनुसार प्रतिरोधात्मक क्षमता कम भएर हो कि अन्य कारणले गर्दा हो भनेर पत्ता लगाउन एन्टिवडि टेस्ट गरेर हेर्नुपर्छ । 

वंशाणुगत, प्रतिरोधी क्षमतामा गडबड हुँदा, ग्रन्थिको शल्यक्रिया गरेकोमा, टाउको र घाँटीको क्यान्सर भई रेडियोथेरापी गरेकामा, मोटोपन बढी हुँदा, आयोडिन बढी भएका औषधीको सेवन गर्दा, थाइराइडसम्बन्धी समस्या देखिने सम्भावना बढी हुने डा. मिश्रको भनाइ छ । 

थाइराइडलाई हेलचेक्र्याइँ गरेमा टाउकोदेखि खुट्टासम्म समस्या निम्तिने डा. मिश्र बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “शारीरिक, मानसिक विकासमा असर गर्ने, मानसिक समस्या निम्त्याउने, उच्च रक्तचाप बढाउने, घटाउने, पल्स घटाउने बढाउनेजस्ता स्वास्थ्य समस्या निम्त्याउने गर्छ ।”  थाइराइडको उपचार गरिएन भने बाझोपन ल्याउन सक्ने उहाँ बताउनुहुन्छ । उपचारपछि समस्या समाधान हुने डा. मिश्र बताउनुहुन्छ ।

चिकित्सकको सल्लाहअनुसार औषधी नियमित खाएमा नियन्त्रण गर्न सकिन्छ । चिकित्सकका अनुसार यसको औषधी गर्भावस्थामा पनि खाना मिल्छ । थाइराइडका विषयमा केन्द्रित भई मधुमेह तथा थाइराइडरोग विशेषज्ञ डा. मनीषा मिश्रसँग गरिएको भिडियो संवाद :

भिडियो : मनोजरत्न शाही/केशव गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।