लक्ष्मी चौधरी
जनकपुरधाम, भदौ २८ गते । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले शनिबार मुख्यमन्त्रीसहित सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाएको छ ।
संसदीय दलका नेता महेशप्रसाद यादवले जारी गर्नुभएको विज्ञप्तिमा मुख्यमन्त्री र मन्त्री फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको उल्लेख छ । विज्ञप्तिमा जनमतले मधेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको स्पष्ट गरिएको छ ।
गत सोमबार संघीय राजधानी काठमाडौंमा भएको जेनजी प्रदर्शनपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गर्नुभएको थियो । तर, उहाँले फेसबुकमार्फत राजीनामा दिएको चार दिनु हुँदा पनि प्रदेश प्रमुखको कार्यालयमा भने लिखित राजीनामा पेश पेश गर्नुभएको थिएन ।
शनिबार गोरखापत्र दैनिकमा मुख्यमन्त्रीको राजीनामा शीर्षकको प्रकाशित समाचारपछि मुख्यमन्त्री सिंहको आलोचना चारैतिर भएपछि सो विज्ञप्ति जारी भएको थियो ।
जनमत पार्टीबाट मधेश सरकारमा मुख्यमन्त्री सिंहसहित सहभागी सञ्जय यादवले वन तथा वातावरण मन्त्रालय र बसन्त कुशवाहाले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए ।