दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ २८ गते । काठमाडौंमा भएको ‘जेन–जी’ आन्दोलनमा सहभागी हुँदा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका वीरगञ्जका युवाको शनिबार वीरगञ्जमा आफ्नै धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
काठमाडौंमा भएको ‘जेन–जी’ आन्दोलनमा सहभागी हुँदा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका वीरगञ्ज महानगर पालिका वडा नम्बर १२ मुर्लीका २२ वर्षीय असहाब आलमको शनिबार मुस्लिम धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।
मुस्लिम धार्मिक परम्पराअनुसार मुर्ली पोखरी नजिकको कब्रिस्तानमा गरिएको दाहसंस्कारमा स्थानीयवासी, मुस्लिम र हिन्दू समुदायका नागरिक तथा युवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पूर्व वडाध्यक्ष तुफान अन्सारीका अनुसार मंगलबार काठमाडौँमा भएको ‘जेन–जी’ आन्दोलनमा पेट र छातीमा गोली लागेर घाइते भएका आलमको महाराजगञ्जस्थित शिक्षण अस्पताल मृत्यु भएको थियो भने परिवारका सदस्यले खोजबिन गर्दै जाँदा शव पहिचान गरी शुक्रबार साँझ मात्र वीरगञ्ज ल्याइएको थियो ।
मंगलबार बिहान १० बजेपछि घरपरिवारबाट सम्पर्कविहीन बनेका आलमको खोजी गर्दै जाँदा काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शव फेला परेको थियो ।
वीरगञ्जको ग्लोबल बिजनेस कलेजबाट १२ कक्षा पास गरेर काठमाडौंमा उच्च शिक्षासँगै पार्टटाइम काम गरेर परिवारलाई सहयोग गरिरहेका आलमको मृत्युले घरमा अपुरणीय क्षति भएको छ । आलमको दुई महिना अघि मात्र बिहे भएको उहाँका परिवारजनले जानकारी दिएका छन् ।